इनरुवाः सुनसरी प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको करिब एक हजार किलो तयारी कुखुराको मासु बरामद गरेको छ। नेपाली ब्रान्डको लेबल प्रयोग गरी भारतबाट नेपाल ल्याइएको हुन सक्ने आशंकामा प्रहरीले तयारी मासु नियन्त्रणमा लिएर यसको स्रोत, कारोबारी र गन्तव्यबारे अनुसन्धान अघि बढाएको हो।
कोशी गाउँपालिका–५ कुम्याहीस्थित जाकिर हुसेनको घर अगाडिको सडकमा अन्यत्र लैजानका लागि ठूलो परिमाणमा तयारी मासु जम्मा गरेर राखिएको अवस्थामा प्रहरीले शुक्रबार राति बरामद गरेको जनाएको छ।
विशेष सूचनाका आधारमा निगरानीमा खटिएको प्रहरी टोलीले बोरा तथा प्याकेटमा राखिएको तयारी मासु फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार बरामद मासु ४ सय र ५ सय ग्राम तौलका प्याकेटमा प्याक गरिएको थियो।
प्याकेटमा ‘गुर्मेट भियना’ उल्लेख गरिएको ‘चिकेन फिङ्गर’ नामको तयारी मासु रहेको प्रहरीले जनाएको छ। प्याकेटको खोलमा ‘गोरमेट भिएन्ना मिट एण्ड मोर प्रोडक्ट कम्पनी प्रालि, मण्डिखाटार, बूढानीलकण्ठ–९, काठमाडौं, नेपाल’ उल्लेख गरिएको पाइएको प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक मल्लका अनुसार ठूलो परिमाणमा तयारी मासु बरामद भए पनि घटनास्थलबाट कुनै कारोबारी वा व्यापारी पक्राउ परेका छैनन्। सीमावर्ती क्षेत्रको स्थानीय बजारमा तत्काल खपत हुनेभन्दा निकै ठूलो परिमाणमा मासु फेला परेकाले यसको स्रोत र गन्तव्यबारे अनुसन्धान भइरहेको उनले बताए।
भारतमा उत्पादन गरी नेपाली ब्रान्डको प्याकेजिङ प्रयोग गरेको आशंका
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त मासु भारतमा उत्पादन गरी नेपालमा दर्ता भएको ब्रान्डको प्याकेजिङ प्रयोग गरेर नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, मासुको वास्तविक स्रोत, नेपाल भित्र्याउने माध्यम, कारोबारी तथा यसको बजारसम्मको सञ्जालबारे अनुसन्धान पूरा भएपछि मात्रै वास्तविकता यकिन हुने प्रहरीले जनाएको छ।
एसपी मल्लका अनुसार बरामद मासुको प्याकेटमा मूल्य उल्लेख गरिएको छैन। साथै, घटनास्थलमा त्यसको खरिद–बिक्रीसँग सम्बन्धित बिल वा बिजकसमेत फेला नपरेको प्रहरीको भनाइ छ।
‘यति ठूलो परिमाणको तयारी मासु यहाँ तत्काल खपत हुने अवस्था देखिँदैन। मूल्य उल्लेख गरिएको छैन, कुनै बिल–बिजक पनि छैन,’ एसपी मल्लले भने, ‘नेपालबाट भारततर्फ तस्करी भएर जाने सम्भावना पनि देखिँदैन। त्यसैले भारतको कुन ठाउँमा मासु भण्डारण गरेर नेपाल ल्याइएको हो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छौँ।’
उनका अनुसार तयारी मासुको ठूलो कारोबार हुन लागेको पूर्वसूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको र त्यस क्रममा मासु बरामद भएको हो।
कारोबारीको खोजीमा प्रहरी
प्रहरीले घटनास्थलबाट तत्काल कारोबारी फेला पार्न नसके पनि तयारी मासुको कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूबारे केही सूचना प्राप्त भएको जनाएको छ। सोही सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको एसपी मल्लले बताए।
‘प्रहरीलाई तयारी मासुको ठूलो कारोबार हुँदैछ भन्ने पूर्वसूचना थियो। सोहीअनुसार सुनसरी प्रहरीले निगरानी बढाएको थियो,’ उनले भने, ‘निगरानीका क्रममा ठूलो परिमाणमा मासु फेला परेको हो।’
प्रहरीले बरामद मासु कसको हो र कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धान जारी रहेकाले सम्भावित कारोबारी तथा उनीहरूको संलग्नताबारे प्रहरीले तत्काल औपचारिक विवरण सार्वजनिक गरेको छैन।
तस्करीको सञ्जालबारे अनुसन्धान
प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा लामो समयदेखि विभिन्न प्रकारका अवैध कारोबार हुने गरेको र बरामद तयारी मासुको कारोबारसँग जोडिएका व्यक्तिहरूको खोजी भइरहेको छ।
स्रोतका अनुसार भारतबाट नेपालमा विभिन्न वस्तु अवैध रूपमा भित्र्याउने तथा नेपालबाट भारततर्फ लागुऔषधलगायतका वस्तु तस्करी गर्ने समूहसँग सम्बन्धित व्यक्तिहरूबारे समेत प्रहरीले सूचना संकलन गरिरहेको छ।
प्रहरी स्रोतले भारतमा उत्पादन भएका पशु तथा कुखुराजन्य मासुलाई नेपालमा दर्ता भएको ब्रान्डको प्याकेजिङ प्रयोग गरेर नेपाल भित्र्याउने गरिएको दाबी गरेको छ। यस्तो मासु नेपालका विभिन्न बजार हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशसम्म पठाउने गरिएको हुन सक्ने स्रोतको दाबी छ। यद्यपि, यससम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
सीमावर्ती क्षेत्रमा केही राजनीतिक दलका स्थानीय प्रभावशाली व्यक्ति तथा कार्यकर्ताको समेत तस्करीजन्य कारोबारमा संलग्नता रहेको स्थानीयस्तरमा दाबी हुँदै आए पनि बरामद मासुको घटनामा त्यस्तो राजनीतिक संलग्नता पुष्टि हुने कुनै आधिकारिक प्रमाण प्रहरीले सार्वजनिक गरेको छैन।
दुर्गन्ध फैलिन थालेपछि मासु नष्ट
प्रहरीका अनुसार बरामद गरिएको तयारी मासुलाई लामो समयसम्म चिस्यान कायम हुने रेफ्रिजरेटरमा राख्नुपर्ने हुन्छ। तर, ठूलो परिमाणमा बोरा तथा प्याकेटमा खुला अवस्थामा राखिएको मासु लामो समय बाहिर रहेकाले दुर्गन्ध फैलिन थालेको थियो।
स्वास्थ्य तथा खाद्य सुरक्षा मापदण्डअनुसार प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको मासु शनिबार क्वारेन्टिन कार्यालयको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद मासुको विवरण, उत्पादन तथा भण्डारणस्थल, नेपाल भित्र्याउने माध्यम, कारोबारी र बजारसम्म पुर्याउने सञ्जालबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू पहिचान भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।
सीमावर्ती क्षेत्रमा तस्करी चुनौती
नेपाल–भारत खुला सीमाका कारण सुनसरीका सीमावर्ती क्षेत्रमा राजस्व छली, चोरी–तस्करी तथा अवैध ओसारपसार चुनौतीका रूपमा रहँदै आएको छ। खाद्यान्न, कुखुराजन्य पदार्थ, लत्ताकपडा, लागुऔषधलगायत विभिन्न वस्तुको अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाउँदै आएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध सामान तथा लागुऔषध नियन्त्रणका लागि निगरानी र सूचना संकलनलाई तीव्र पारिएको छ।
एक हजार किलोको हाराहारीमा तयारी कुखुराको मासु बरामद हुनु र त्यसमा नेपाली ब्रान्डको प्याकेजिङ प्रयोग भएको भेटिनुले यसको स्रोत र आपूर्ति सञ्जालबारे थप अनुसन्धान आवश्यक देखिएको प्रहरीको भनाइ छ। प्रहरीले अनुसन्धानबाट वास्तविक स्रोत, कारोबारी र मासु पुर्याउने गन्तव्य खुल्ने जनाएको छ।




















