इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–५, तुलसा टोलस्थित देवी मार्ग नजिकबाट प्रहरीले सात पुरिया लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी–१७ का बसन्त खत्री रहेका छन्। लामो समयदेखि ब्राउन सुगरको कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खत्रीलाई पक्राउ गर्न इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यको समेत सक्रिय भूमिका रहेको बताइएको छ। इटहरी–१७ का केही लागुऔषध प्रयोगकर्ता युवाहरूले आफूहरू सुधारिन चाहेको भन्दै ब्राउन सुगर कारोबारमा संलग्न व्यक्तिबारे गोप्य रूपमा सूचना उपलब्ध गराएपछि इलाका प्रहरी कार्यालय इटहरीको सहयोगमा खत्रीलाई पक्राउ गरिएको हो।

पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




















