इटहरीः भोजपुरस्थित विद्यालयको भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन सेवाग्राहीसँग घुस मागेको आरोपमा सघन शहरी तथा भवन निर्माण योजना शाखा, धनकुटाका तत्कालीन इन्जिनियरसहित तीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार मुद्दा दायर हुनेमा तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठ रहेका छन्।

आयोगमा परेको सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा उनीहरूले भोजपुरस्थित विद्यालयको नयाँ भवन निर्माणको अन्तिम बिल भुक्तानीमा विभिन्न प्राविधिक समस्या देखाउँदै प्रक्रिया अघि नबढाई सेवाग्राहीलाई दुःख–हैरानी दिएको खुलेको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा तीनै जनाले सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस/रिसवत मागेको र पूर्वयोजनाअनुसार उक्त रकम आपसमा बाँडी लिने सहमति गरेको पाइएको अख्तियारको दाबी छ।

माग गरिएको रकममध्ये ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंक खाताको क्यूआरमार्फत जम्मा गर्न लगाइएको र बाँकी ८५ हजार रुपैयाँ सुमन राईले नगद बुझेको अख्तियारले जनाएको छ। घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले राईलाई ललितपुरबाट तथा कार्की र श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा तीनै जनाको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरेको छ।

आयोगले उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना सजायको मागदाबी गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपपत्र २०८३ असोज ५ गते विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो।