सुनसरी । सुनसरीका विभिन्न नाकामध्ये लौकही र हरिपुरबाट भारततर्फ गाँजा व्यापक तस्करी भइरहेको छ ।  पछिल्लो केही दिनयता यी दुई नाका तथा सहायक बाटोबाट १५ सय केजीभन्दा बढी गाँजा तस्करी भएको स्रोतको दाबी छ। स्थानीय स्रोतका अनुसार सदानन्द यादव र सन्तोष यादव नाम गरेका गाँजा तस्करहरूले सेटिङमार्फत यी नाका प्रयोग गरेर गाँजा भारततर्फ पुर्‍याउने गरेका छन्। दुवै यादव तस्करीको मामिलामा नामुद खेलाडी मानिन्छन्। उनीहरूले भारतीय नम्बर प्लेटका पिकअप र स्कारपियो गाडी प्रयोग गर्ने गरेको बताइएको छ। दुवै यादवले सीमा नाकामा खटिने सशस्त्र प्रहरी र जनपद प्रहरीसँग सेटिङमार्फत काम गरिरहेको बताइएको छ।


यसरी हुन्छ तस्करी

केही दिनअघि सदानन्द यादवले चतरा–प्रकाशपुर हुँदै ल्याएको करिब ८ सय केजी गाँजा हरिपुर नाकाबाट कटाउने तयारीमा थिए। उनले उक्त नाका आसपास रेकी गर्न युवाहरूलाई समेत परिचालन गरेका थिए। भारततर्फ एसएसबीसँगको सेटिङ र समयसमेत फिक्स गरेका यादवले अन्तिम समयमा बिहान करिब १ बजे गाँजा लोड भएको गाडी कटाउने योजना रोकिदिए। यादवको समूहले अन्तिम समयमा गाँजा रोक्नुको कारण प्रहरीको फोन भएको स्रोतको दाबी छ। सेटिङमा रहेका कुनै प्रहरीले फोन गरेर ‘आज काम रोक्नु’ भनेर सूचना यादवलाई दिएको बताइएको छ।

त्यस दिन प्रदेश पोर्टलको टिमले गाँजा तस्करीको सूचना पाएर फिल्डमै थियो। त्यही दिन जिल्ला प्रहरी कार्यालयको घुमुवा टोली कटान आएर कोशी ब्यारेजतर्फ लागेको थियो। कोशी ब्यारेजको एक होटलमा घुमुवा टोली र भण्टाबारीका सई सुरेश यादव मदिरा सेवन गरेर बसेको बताइएको छ। संयोग वा सेटिङ जिल्लाको घुमुवा टोली त्यही समयमा कटान क्षेत्रमा पुग्नु, ब्यारेज पुगेर मदिरा सेवन गर्न थाल्नु र त्यहाँको बिल गाँजा तस्करी गर्ने यादवले तिर्नु शंकास्पद मानिएको छ।

त्यस्तै, कटानको रिफ्रेसमेन्ट सेन्टरमा रहेको अस्थायी प्रहरी चौकी हरिपुरका असई ब्रिकम थापा मगरको समेत भूमिका शंकास्पद देखिएको थियो।  हरिपुर र लौकही नाका गाँजा कटाउन तस्करहरूले सबैभन्दा सहज नाका मान्ने गरेको बताइएको छ। लौकही र हरिपुरबाट करिब १५ मिनेटमै गाँजा लोड भएको सवारीसाधन सहजै भारततर्फ पुग्ने पक्की बाटो रहेको छ।

हाल हरिपुर नाकामा प्रहरीले कडाइ गर्न थालेको छ। यही मौकाको फाइदा उठाउँदै सन्तोष यादवको समूहले लौकही नाकाबाट दुईवटा स्कारपियोमा गाँजा मंगलबार बिहान भारततर्फ कटाएको स्रोतको दाबी छ।


917b9d23-8ade-423f-85a2-7ebcacc26285अनुसन्धान गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जनशक्ति अभावका बीच गाँजा तस्करी नियन्त्रण गर्न केही असहज भएको बताए। ‘सुनसरीमा धेरै नाकाहरू छन्। हाम्रो युनिटले रातदिन काम गरिरहेको छ,’ खड्काले भने, ‘भेटेसम्म र सूचना आएसम्म हामीले नियन्त्रणमा लिएका छौँ।’ हाल गाँजा तस्करी गर्नेहरूको प्रोफाइलिङसमेत बनाउने काम भइरहेको उनले बताए। तस्करीको सवालमा प्रहरीको शंकास्पद गतिविधि वा कुनै संलग्नता देखिए आवश्यक अनुसन्धान गर्ने समेत डीएसपी खड्काले प्रदेश पोर्टलसँग बताए।


सशस्त्र प्रहरीसमेत सेटिङमा

लौकहीमा प्रहरी निरीक्षक र हरिपुरमा डीएसपीको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) रहेको छ। बीओपीकै नाकाबाट गाँजा कुनै अवरोधबिना सहजै भारततर्फ कट्नु झनै शंकाको विषयका रूपमा हेरिएको छ। यसमा गाँजा तस्करीसँग सशस्त्र प्रहरीको सेटिङबिना गाँजा भारततर्फ नकट्ने स्थानीयको आरोप छ। सशस्त्र प्रहरी बल नम्बर–४ गण मुख्यालय, सुनसरीका एसपी लव सापकोटाका अनुसार गाँजा तस्करी नियन्त्रणमा आफूहरू सबैभन्दा निर्मम भएर लागेको बताउँछन्। ‘हामीले तस्करीसँग मिलेमतो गर्ने र शंका लागेका कर्मचारीलाई धमाधम कारबाही गरिरहेका छौँ,’ उनले भने, ‘गाँजाको प्रसंगमा सशस्त्र प्रहरीको कतै पनि मिलेमतो छैन। पुष्टि भए युनिटका सबैलाई परिवर्तन गरी कारबाही गर्छौँ।’ हरिपुर र लौकहीबाट गाँजा तस्करी भएको विषयमा आवश्यक अनुसन्धान गर्ने समेत एसपी सापकोटाले प्रतिबद्धता जनाए।