इटहरीः प्रधानमन्त्री बालेन्द्र शाहले मंसिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री बनेको आठ महिनापछि उनको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो । प्रधानमन्त्री शाहले १३ चैतमा शपथग्रहण गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।


उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण ७ र ८ मंसिरमा हुने गरी कूटनीतिक तहमा तयारी सुरु भएको छ । ‘अहिले यो मितिका बारेमा छलफल भइरहेको छ । मिति एक–दुई दिन तलमाथि भए पनि नोभेम्बर तेस्रो साता (मंसिर पहिलो साता) प्रधानमन्त्रीको भारत भ्रमण तय भएको छ,’ उच्च कूटनीतिक स्रोतले  भन्यो ।


अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको गत साता भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणबारे विदेशमन्त्री डा.एस जयशंकरसँग छलफल भएको थियो । अर्थमन्त्री वाग्लेले भारतीय सञ्चारमाध्यमसँग दिल्लीमा कुराकानीका क्रममा प्रधानमन्त्रीको भारत भ्रमण निकट भविष्यमै हुने बताएका थिए ।


‘लामो अन्योल चिर्न हामी सफल भएका छौँ । प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्धले थप गति लिने विश्वास छ । भारत भ्रमणमा केही रणनीतिक महत्त्वका परियोजनामा सहमति गर्ने गरी तयारी भएको छ । आगामी दुई महिनामा दुवै देशका विभिन्न संयन्त्रले यसमा यथेष्ट गृहकार्य गर्नेछन्,’ जानकार कूटनीतिक स्रोतले भनेको छ ।


प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय सहयोगमा निर्मित नेपाल प्रहरी एकेडेमी तथा भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) र दार्चुलास्थित महाकालीमा पुल उद्घाटन गर्ने तयारी छ । सुदूरपश्चिमको दोधारा–चाँदनीमा आईसीपीको दुवै प्रधानमन्त्रीले शिलान्यास गर्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।