इटहरीः वैदेशिक रोजगारीमा जाने युवकलाई विनाकारण आधा घण्टासम्म रोकेर घुसको लेनदेन गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत चेतबहादुर सेजुवाल छानबिनमा तानिएका छन् । विदेशमा रहेका साथीमार्फत डिल गरेर घुस असुलेका उनलाई अध्यागमन विभागले प्रारम्भिक छानबिन गरी जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
प्रारम्भिक छानबिनमा उनले जापानमा रहेका आफ्ना साथी दीपक मल्लको बैंक खातामा २३ हजार रुपैयाँ घुस लिएको खुलेको छ । अधिकृत सेजुवालले आफैँ ती युवकलाई मोबाइलमा क्युआर कोड उपलब्ध गराएका थिए । प्रारम्भिक छानबिनमा घुस लेनदेनको अवस्था देखिएपछि उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाइएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।
वैदेशिक रोजगारीमा ओमानमा रहँदै आएका एक युवक बिदामा नेपाल आएका थिए । उनको श्रम स्वीकृतिको नवीकरण प्रक्रियामा थियो । उनी सोमबार बिहान कुवेत फर्कंदै थिए । प्रस्थान कक्षस्थित अध्यागमनको १८ नम्बर डेस्कमा पुगे । अध्यागमन अधिकृत सेजुवालले श्रम स्वीकृति नवीकरण नभएको भन्दै उनलाई रोके । ती युवक जसरी पनि कुवेत जान चाहन्छन् । त्यसपछि अधिकृत सेजुवालले नै विदेशमा रहेका आफ्नो साथी मल्लसँग कुरा गर्न लगाएर आर्थिक लेनेदनको वातावरण बनाउँछन् । २८ हजार रुपैयाँमा सहमति हुन्छ । २३ हजार रुपैयाँ उनले तत्कालै मल्लको बैंक खातामा जम्मा गर्दछन् । पाँच हजार पछि दिने सहमति हुन्छ । त्यसपछि अधिकृत सेजुवालले उनलाई प्रस्थान अनुमति दिन्छन् । उनले श्रम स्वीकृती लिएकै भनेर अधिकृत सेजुवालले प्रस्थान अनुमति दिन्छन् जबकी त्यो दिन दिउँसो मात्र उनको श्रम स्वीकृती नवीकरण भएको थियो।
ती युवकले आफूमाथि भएको अन्यायबारे परिवारसँग गुनासो गर्दछन् र अध्यागमन विभागसम्म सूचना पुग्दछ । विभागले सिसिक्यामेराको फुटेज अध्ययन गर्दा शंकास्पद गतिविधि देखेपछि उनको मोबाइल जफत गर्छ । तर, घुस लेनेदेनसम्बन्धी प्रमाण भेटिन्छ । मोबाइलसमेत विभागले अख्तियारमा बुझाएको छ । छानबिनमा तानिएपछि अधिकृत सेजुवालले घुस फिर्ता गरेको स्रोत बताउँछ ।
गत वर्षदेखि कागजपत्र पुगेका कुनै पनि यात्रुलाई शंकाको भरमा विदेश जान नरोक्ने निर्णय भएको थियो । तैपनि कतिपय अध्यागमन अधिकृतले यात्रुलाई अनावश्यक दुःख दिने गरेका छन् । विभागले गत साता मात्र विमानस्थलमा कार्यरत त्यस्ता पाँच कर्मचारीलाई जिम्मेवारीबाट हटाएका थिए ।
भिजिट भिसामा विगतमा दिनमै एक करोडसम्म घुस लेनदेन हुने गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहितका अधिकारीमाथि मुद्दा चलाएपछि यससम्बन्धी पुरानो कार्यविधि खारेज गरेर शंकाको भरमा कसैलाई नरोक्ने निर्णय भएको थियो । त्यसयता भिजिट भिसाको सेटिङ भत्किएको छ । तर, पछिल्लो समय यससम्बन्धी गिरोह अहिलेको व्यवस्था संशोधन गराउन सक्रिय भएको छ । त्यसमा अध्यागमन कार्यालयका केही कर्मचारीसमेत मिलेको आशंकाका छानबिन भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । नयाँ पत्रिका डटकमबाट




















