काठमाडौँः  एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् । 


भेटमा भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको थियो । 


मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराए । यसैगरी अबको करिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टिम बनाइएको जानकारी गराए । मन्त्रालयले अध्ययनपश्चात एकीकृत अवधारणा पत्र बनाउन लागेको मन्त्री श्रेष्ठले बताए । 


b2 1

एडिबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टिमसँग सहकार्य गर्न तयार रहेको बताए । 


ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडिबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्यांकन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए। 


भेटमा दुधकोशीको जलविद्युत आयोजनाको शिरमा हिमतालहरु रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडिबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराएका थिए  । मन्त्री श्रेष्ठले यस्ता अध्ययनहरु अन्य बेसिनहरुमा पनि गर्नुपर्नेमा जोड दिए । यसमा एडिबी सहयोग महत्त्वपूर्ण हुने बताए ।