इनरुवाः  मासु र गाँजाको तस्करीको जालो तोड्न सक्रिय इलाका प्रहरी कार्यालय लौकहीका वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) प्रविण भट्टराईलाई एकाएक जिल्ला प्रहरी कार्यालय सुनसरीमा तानिएको छ। 


कोशी गाउँपालिका क्षेत्र हेर्ने लौकही प्रहरीका इन्चार्ज भट्टराईलाई बिहीबार दिउँसो भारतबाट अवैध रूपमा भित्र्याइएको माछा नष्ट गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयमा तानिएको हो। उनको स्थानमा तत्कालै अर्का वरिष्ठ प्रहरी नायब निरीक्षक रुद्र खड्कालाई जिम्मेवारीसहित पठाइएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्तासमेत रहेका डीएसपी चन्द्रबहादुर खड्काले वरिष्ठ सई भट्टराईलाई जिल्ला प्रहरी कार्यालयमा काम गर्ने गरी आन्तरिक सरुवा गरिएको बताए।


सई भट्टराईले कोशी गाउँपालिका क्षेत्रमा हुने तस्करीविरुद्ध लगातार कारबाही गर्दै तस्करीका सामान नियन्त्रणमा लिन थालेपछि तस्कर समूहकै दबाबका कारण केन्द्रीय तहबाटै उनलाई सरुवा गर्न निर्देशन आएको प्रहरी स्रोतले जनाएको छ। 


भट्टराईले कोशी गाउँपालिका क्षेत्रबाट ठुलो परिणाममा गाजाँ नियन्त्रण गरिरहेका थिए । 


पछिल्लो समय नेपाली लेबल लगाएर भारतबाट तस्करी गरी ल्याइएको करिब एक हजार किलो तयारी मासु भट्टराईको नेतृत्वमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएपछि आत्तिएका तस्कर समूहले गृह प्रशासनको केन्द्र तहमा दबाब दिएर अनुसन्धान प्रक्रियाबाट भट्टराईलाई हटाउन लगाएको स्रोतको दाबी छ।


माथिल्लो निकायबाटै भट्टराईको सरुवा गर्न दबाब दिइएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० पुष्पराज मल्ल र कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षकसमेत असन्तुष्ट रहेको प्रहरी स्रोतले जनाएको छ।


वरिष्ठ सई भट्टराई सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा पर्ने नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध राजस्व छली, चोरी–तस्करी, गाँजाको ओसारपसार, खाद्यान्न, कुखुराजन्य पदार्थ, लत्ताकपडा, लागुऔषधलगायत विभिन्न वस्तुको तस्करी नियन्त्रण गर्न सक्रिय रूपमा कार्यरत थिए।


यसैबीच, एक साताअघि भारतबाट अवैध रूपमा ल्याइएको आशंका गरिएको करिब एक हजार किलो तयारी कुखुराको मासु बरामद भएको घटनामा स्थानीयहरूले दिलिप, दुर्गा र मुसाका छोरा संलग्न रहेको दाबी गरेका छन्। मासु बरामद भएको स्थानका घरधनीहरूले उनीहरू स्थानीय नै भएको दाबी गरेका हुन्।


कोशी गाउँपालिका–५ कुम्याहीस्थित जाकिर हुसेनको घरअगाडिको सडकमा राखेर अन्यत्र लैजानका लागि ठूलो परिमाणमा तयारी मासु जम्मा गरिएको अवस्थामा प्रहरीले शुक्रबार राति बरामद गरेको थियो।


जाकिरकी श्रीमती जरिना खातुनले दिलिप, दुर्गा र मुसाका छोरा आएर ‘जाकिरको घर यही हो रु’ भनेर सोधेको र आफूहरूले हो भनेपछि उनीहरूले भारतको बिहारस्थित बनेलीपट्टीतर्फबाट सिटीमा लोड गरेर ल्याएको सामान केही बेर त्यहीँ राखिदिन र तुरुन्तै आफ्नो गाडी आएर लैजाने भन्दै राख्न लगाएको बताइन्।


तर उनीहरू नआउँदै प्रहरी आएर सामान बरामद गरी लगेको खातुनले बताइन्। उनले भनिन्, ‘मेरो श्रीमानको नाम लिएपछि चिनेको होला भनेर सामान राख्न दिएँ। तर अहिले हामीलाई पो फसाउन यस्तो गरेको हो कि जस्तो लाग्न थालेको छ।’


जाकिरका छोरा इर्साद मन्सुरीले पनि तीनै जनाको नाम लिँदै उनीहरूले नै सामान ल्याएर राखेको बताए। उनले तीमध्ये दुई जनाले टेलिफोनमार्फत आफूहरूलाई बारम्बार सम्पर्क गरेको जानकारी दिए।


अर्का स्थानीय कलिम मन्सुरीले जाकिर आफ्नो भाइलाई वैदेशिक रोजगारीमा पठाउन काठमाडौं गएको बेला उनकै नाम लिएर बाहिरी बाटो र आँगनको बीचमा सामान राखिएको बताए। के सामान राखिएको हो भन्ने विषयमा आफूहरूले पनि प्रहरी आएपछि मात्रै थाहा पाएको उनको भनाइ छ।


उनले पनि तीनै जनाको नाम लिँदै उनीहरूले नै ‘एकछिन सामान राखिदेऊ, लगिहाल्छौँ’ भनेर सामान राखेको बताए।

प्रहरीका अनुसार बरामद मासु चार सय ग्रामका नेपाली कम्पनीका प्याकेटमा प्याक गरिएको अवस्थामा करिब एक हजार किलो रहेको थियो। उक्त मासु शनिबार नै नष्ट गरिएको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्पराज मल्लले नेपाली कम्पनीको नाममा प्याक गरिएको भए पनि मासु भारतबाटै तस्करी भएर आएको आधारमा प्रहरीले केही व्यक्तिलाई आशंकामा राखेर अनुसन्धान निगरानी गरिरहेको बताए। उनले अनुसन्धानबाट छिट्टै संलग्न व्यक्तिहरूको पहिचान हुने विश्वास व्यक्त गरे।


बरामद मासुको प्याकेटको खोलमा ‘गोरमेट भिएन्ना मिट एण्ड मोर प्रोडक्ट कम्पनी प्रालि, मण्डिखाटार, बूढानीलकण्ठ–९, काठमाडौं, नेपाल’ उल्लेख गरिएको छ।