इटहरी: प्रथम जगद्गुरु पीठ, प्राचीन हरिद्वार चतराधामको पहलमा बाढी–पहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा ८ लाख २१ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
प्रथम जगद्गुरु पीठ, प्राचीन हरिद्वार चतराधामको पहलमा विभिन्न पीठ, मठ, आश्रम, गुरुकुल तथा भक्त–भागवज्जनबाट श्रद्धापूर्वक संकलन गरिएको उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
संकलित रु. ८,२१,५०० रकम परमपूज्य जगद्गुरु महाराजको पावन करकमलबाट कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
चतराधामले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु धार्मिक तथा सामाजिक दायित्वसमेत भएको भन्दै विभिन्न पीठ, मठ, आश्रम, गुरुकुल तथा भक्त–भागवज्जनको सहयोगबाट राहत रकम संकलन गरिएको जनाएको छ।
चतराधामको पहलमा संकलित सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण भएपछि विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















