इटहरीः  अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो ।


बाढी, पहिरो लगायतका विपद्‍मा परी ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार २ सय ८४ जनाको उद्दार गरिएको छ ।


यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।


नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१२ चन्द्रसिंह चोक बस्ने २७ वर्षीय अर्जुन सुनारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र भोमिन ८५ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका(१२ हर्कपुर बस्ने २८ वर्षीय संजय क्षेत्रीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।


यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका(७ गैरी बस्ने ३३ वर्षीया पार्वती घर्तीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३५ ट्याब्लेट, ऐनारागन २ सय ३७ ट्याब्लेट र नगद ५ हजार ७ सय ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले पार्वतीको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।


कैलाली, धनगढी उपमहानगरपालिका–१९ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ जे गाउँ बस्ने २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवार रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।