बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।
प्रहरीका अनुसार २०८३ असोज १२ गते राति करिब १०ः३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया एक महिलाको कोठामा राय प्रवेश गरेका थिए।
मादक पदार्थ सेवन गरेको अवस्थामा पेट्रोलसमेत लिएर कोठामा पुगेका रायले तन्ना च्याती ती महिलालाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्किएको तथा आगो लगाउन खोजेको प्रहरीको भनाइ छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले रायलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ।
घटनामा घाइते ती महिलालाईलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रायविरुद्ध घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।




















