इनरुवाः  सुनसरी–मोरङको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा चोरी–तस्करी बढ्दै गएको गुनासोबीच भन्सारबाट संकलन हुने राजस्वमा आएको कमीले गुनासोलाई पुष्टि गरेको छ ।


भारतबाट भन्सार छली गरेर विभिन्न प्रकारका मालसामान खुला रूपमा नेपाल भित्रिने क्रम बढेपछि वैध रूपमा आयात गर्ने व्यवसायी प्रभावित हुनुका साथै राज्यको राजस्वमा समेत असर परेको सुनसरी भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।


सुनसरीको सेतुबन्धस्थित सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा अघिल्ला वर्षको तुलनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । 


भन्सार कार्यालयका अनुसार भदौमा निर्धारित लक्ष्यको ५८ दशमलव ०९ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । अर्थात् लक्ष्यभन्दा ४१ दशमलव ९१ प्रतिशत कम राजस्व उठेको हो ।


गत आर्थिक वर्षको भदौमा लक्ष्यको ८२ दशमलव ०३ प्रतिशत राजस्व संकलन भएको थियो । यसैगरी चालु आर्थिक वर्षको साउनमा निर्धारित लक्ष्यको ५० दशमलव ८९ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा ७२ दशमलव ४८ प्रतिशत राजस्व संकलन भएको थियो ।


सुनसरी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरासियाका अनुसार सेतुबन्ध नाकाबाट ठूलो परिमाणमा निकासी–पैठारी नहुने भएकाले राजस्व संकलनमा कमी आएको हो। 


उनका अनुसार यस नाकाबाट मुख्य रूपमा सिजनअनुसार आलु र प्याज आयात हुने गरेको छ भने औद्योगिक सामानको आयात तथा निकासी न्यून छ ।


भन्सार कार्यालयले साउनमा ४१ करोड ३७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यको ५० दशमलव ८९ प्रतिशत मात्र असुली भएको जनाएको छ ।


सीमावर्ती क्षेत्रमा सर्वसाधारणले दैनिक उपभोगका सामान्य सामान ल्याउँदा सुरक्षाकर्मीले कडाइ गर्ने गरे पनि संगठित रूपमा चोरी–तस्करी गर्ने समूहले ठूलो परिमाणमा सामान भित्र्याउँदा प्रभावकारी नियन्त्रण हुन नसकेको स्थानीयको गुनासो छ । 


उनीहरूले सीमामा खटिएका सुरक्षाकर्मीको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । स्थानीयका अनुसार पछिल्लो समय नेपाल प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिने तर त्यसपछि सशस्त्र प्रहरीको ‘सेटिङमा त्यस्ता सामान छाडिने गरेको आरोप सुनिन थालेको छ । स्थानीयले सीमा सुरक्षामा जिम्मेवार निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।


सुनसरीको भाण्टाबारी, हरिपुर, श्रीपुरजब्दी, लौकही, भोक्राहा नरसिंह, बसन्तपुर–घुस्की, भुटाहा, कप्तानगञ्ज–देवानगञ्ज र साहेबगञ्जलगायतका सीमावर्ती क्षेत्रबाट भारतबाट सामान भित्र्याउने गतिविधि हुने गरेको कोशीको सिमावर्ती क्षेत्रका हरेराम मुखिया बताउँछन् । 


यस्ता सामान सुनसरीका बजार हुँदै मोरङ, झापा, उदयपुर र धनकुटासम्म पुग्ने गरेको उनको दाबी छ ।


सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध तथा अन्य अवैध कारोबारमा संलग्न समूहले भारतबाट विभिन्न मालसामान नेपाल भित्र्याउने कामसमेत गर्न थालेको स्थानीयको भनाइ छ । 


भारतबाट सामान ल्याउने र नेपालबाट विभिन्न अवैध वस्तु भारततर्फ पठाउने समूहबीचको सञ्जाल विस्तार हुँदै जाँदा सीमा क्षेत्रमा तस्करी नियन्त्रण थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ ।


स्थानीयस्तरमा भने सीमा क्षेत्रमा ठूलो परिमाणमा भन्सार छलीका सामान आउने गरेको दाबी छ । एउटै क्षेत्रमा सर्वसाधारणका लागि कडाइ र संगठित तस्करीमा संलग्न समूहप्रति उदार व्यवहार भएकाले राजस्व असुली कमजोर भएको बताइन्छ ।


भन्सार विभागले पनि सीमाबाट हुने वैध व्यापारलाई व्यवस्थित गर्न तथा भन्सार छली नियन्त्रण गर्न विभिन्न प्रणाली र निगरानीका उपाय अघि बढाउँदै आएको छ । 


सुनसरी भन्सार कार्यालयको आधिकारिक विवरणअनुसार कार्यालय सेतुबन्ध, कोशी गाउँपालिका–८ मा रहेको छ र कार्यालय प्रमुखका रूपमा रामराजप्रसाद चौरासिया कार्यरत छन् ।


नेपाल प्रहरीले सुनसरीमा खुला सीमाका कारण हुने भन्सार छली तथा चोरी–तस्करी नियन्त्रणमा सीमा नाकामा सक्रियता बढाउन निर्देशन दिइसकेको जनाएको छ । 


कोशी प्रदेश प्रहरी प्रमुखको सुनसरी निरीक्षणका क्रममा पनि खुला सीमाबाट हुने भन्सार छली र चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन ।


स्थानीयले सशस्त्र प्रहरीका सीमा चौकी तथा नेपाल प्रहरीका सम्बन्धित इकाइको कामकारबाहीमाथि स्वतन्त्र निगरानी, नियमित संयुक्त अनुगमन र बरामद सामानको सार्वजनिक अभिलेख राख्नुपर्ने माग गरेका छन् । 


विशेषगरी एउटै नाकाबाट पटक–पटक तस्करीका सामान भेटिएमा त्यहाँ कार्यरत सुरक्षाकर्मीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।


भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रमा संयुक्त अनुगमन बढाउनुपर्ने देखिन्छ ।