काठमाडौँः  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आइतबारदेखि सुरु हुँदै छ । दिउँसो २.०० बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । 


शनिबार खुलामञ्चमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय प्रवक्ता देवराज चालिसेले महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। उनले देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुन उत्साहका साथ काठमाडौँ आउने क्रम जारी रहेको बताए । उनले पार्टी केन्द्रीय  कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता भइरहेको जानकारी दिए । प्रवक्ता चालिसेका अनुसार उद्घाटन सत्रपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुने छ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेस गर्ने कार्यक्रम राखिएको छ ।  प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाइ तीन फरक हलमा छलफल गर्ने तयारी छ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत भएका प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिने प्रवक्ता चालिसेले जानकारी दिए।  


महाधिवेशन अन्तर्गत निर्वाचन समितिले असोज १९ गते अपराह्न २.०० देखि साँझ ६.०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिने प्रवक्ता चालिसेले जानकारी दिए। निर्वाचनका कार्यक्रम आवश्यकता अनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । प्रवक्ता चालिसेले महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपियाँ बुझाउनुपर्ने छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एकरएक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।