निर्वाचन भइरहेका बेला प्रक्रिया रोकेर आफूनिकटलाई प्रतिनिधि बनाएको असन्तुष्ट पक्षको दाबी, नामावली खारेजीको माग गर्दै काठमाडौं पुग्यो समूह
इटहरीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ को अधिवेशन विवादमा तानिएको छ। शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला आधाभन्दा बढी मतदाताले मतदान गरिसकेपछि निर्वाचन प्रक्रिया रोकिएको र त्यसपछि ‘सहमति’का नाममा आफूनिकट व्यक्तिहरूलाई महाधिवेशन प्रतिनिधि चयन गरिएको असन्तुष्ट पक्षले आरोप लगाएको छ।
निर्वाचन प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि चयन हुने अवस्था बनेका बेला मतदान स्थगित गरेर पुनः निर्वाचनको माग गरिएको र अन्ततः पुनः निर्वाचनसमेत नगराई विभिन्न क्लस्टरमा सहमतिको नाममा प्रतिनिधि चयन गरिएको उनीहरूको दाबी छ।

यसरी सुनसरी–२ बाट केन्द्रमा पठाइएको महाधिवेशन प्रतिनिधिको नामावली तत्काल खारेज गरी विधिसम्मत ढंगले पुनः निर्वाचन गराउनुपर्ने मागसहित असन्तुष्ट युवा नेता तथा कार्यकर्ताहरू काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
उनीहरूले १५औँ महाधिवेशन सुरु हुनुअघि नै विवादित नामावली सच्याउन केन्द्रसँग माग गरेका छन्।
मतदानबाट जितेका प्रतिनिधि हटाइए : सुवेदी
सुनसरी क्षेत्र नम्बर २ बाट श्रमिक कोटाबाट उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका बाबुराम सुवेदीले निर्वाचन जित्ने माहोल बनिसकेको अवस्थामा पनि प्रतिनिधिको सूचीबाट हटाइएको आरोप लगाएका छन्।
सुवेदीका अनुसार निर्वाचनमा आफूले मतदाताबाट समर्थन पाएर विजयी भए पनि पछि आफ्नो नाम हटाएर फरक कोटा पेशागतबाट ल्याएर इन्जिनियर भविन महाराजी खड्कालाई महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरिएको हो।
उनले कांग्रेसभित्र यस प्रकारको राजनीतिक खेल हुन्छ भन्ने आफूले कल्पनासमेत नगरेको बताए।

‘पुनः निर्वाचन गरौँ’ भन्ने माग भइरहेका बेला आफूअनुकूल प्रतिनिधि चयन गरेर अन्याय गरिएको उनको भनाइ छ।
सुवेदीले सुनसरी–२ को उक्त निर्णयप्रति नेपाली कांग्रेस इटहरी उपमहानगर समितिका सभापति विकास केसीले समेत आपत्ति जनाएको दाबी गरेका छन्।
‘सहमति’को नाममा आफूखुसी नाम राखिएको आरोप
इटहरीका युवा नेता सिजन गुरुङले पनि सहमतिको नाममा आफूखुसी महाधिवेशन प्रतिनिधिको सूचीमा आफ्नो नाम समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत आफूले उक्त निर्णय स्वीकार नगर्ने धारणा सार्वजनिक गरेका छन्।
उनका अनुसार निर्वाचनबाट प्रतिनिधि चयन गर्ने प्रक्रिया चलिरहेका बेला त्यसलाई टुंगोमा नपुर्याई सहमतिको नाममा सूची तयार गर्नु लोकतान्त्रिक प्रक्रिया र कांग्रेसको विधान तथा अभ्यासविपरीत भएको हो।
पुनः निर्वाचनको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापन
सुनसरी–२ बाट क्षेत्रीय सभापति पदका उम्मेदवार रहेका सुदीप अधिकारीसहितका नेताहरूले शनिबार निर्वाचन अधिकृतसमक्ष पुनः निर्वाचनको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए।
युवा नेता सुरज राई ‘सूर्य’ले पनि मतदान प्रक्रिया र त्यसपछि गरिएको प्रतिनिधि छनोटप्रति असहमति जनाएका छन्।

काठमाडौं पुगेका राईले उम्मेदवार तथा मतदाताले आपत्ति जनाइरहेको अवस्थामा सहमतिको नाममा आफूखुसी पठाइएको नामावली आफूहरूलाई मान्य नहुने बताए।
उनले केन्द्रले सुनसरी–२ बाट पठाइएको विवादित सूची स्वीकार गरे त्यसविरुद्ध थप कदम चालिने चेतावनीसमेत दिएका छन्।
‘सुधारिएको कांग्रेस’ले विधि र पद्धति नै बिर्सियो : दाहाल
इटहरीका युवा नेता टंक दाहाल ‘भ्रमण’ले कांग्रेसले आफूलाई ‘सुधारिएको कांग्रेस’ भनिरहँदा व्यवहारमा भने लोकतान्त्रिक चरित्र र संस्थागत विधि मिच्ने काम भइरहेको आरोप लगाए।
उनले निर्वाचन प्रक्रियालाई बीचमै रोकेर सहमतिको नाममा प्रतिनिधि चयन गर्नु कांग्रेसको लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न उठाउने विषय भएको बताए।
उनका अनुसार पार्टीभित्र विधि र पद्धति स्थापित गर्नुपर्ने समयमा व्यक्तिगत तथा गुटगत स्वार्थ हाबी हुनु दुर्भाग्यपूर्ण हो।
‘ठूला नेताले हार्ने भएपछि निर्वाचन भाँडियो’
युवा नेता बिसुधन राईले सुनसरी–२ को निर्वाचन विवादमा कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव ढुंगाना, राजीव कोइराला तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्।
राईले ती नेताहरूले निर्वाचनमा हार्ने अवस्था देखिएपछि योजना बनाएर निर्वाचन प्रक्रिया नै भाँडेको आरोप लगाए।
उनले निर्वाचन रोकिएपछि अन्ततः सहमतिको नाममा आफूअनुकूल व्यक्तिहरूलाई समेटेर प्रतिनिधिको सूची तयार पारिएको दाबी गरे।

यद्यपि, सम्बन्धित नेताहरूको यस आरोपबारेको धारणा भने सार्वजनिक रूपमा समावेश हुन बाँकी छ।
राईले यस्तो गतिविधिले पार्टीमा लामो समयदेखि इमानदारीपूर्वक काम गरिरहेका युवा तथा कार्यकर्ताको मनोबल कमजोर बनाउने बताए।
उनले इटहरी उपमहानगरको पदाधिकारी चयनदेखि नै पार्टीभित्र ‘गुण्डागर्दी’ हाबी भएको आरोप लगाउँदै सुनसरी–२ बाट केन्द्रमा पठाइएको नामावली खारेज गरी पुनः विधिसम्मत प्रक्रिया अघि बढाउन माग गरे।
दलित कोटामा पनि ‘हाम्रा मान्छे’ रोजिएको गुनासो
कांग्रेसमा लामो समयदेखि सक्रिय दलित महिला नेतृ सीता भुषालले पनि प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
उनका अनुसार पार्टीमा लामो समयदेखि योगदान दिँदै आएका कार्यकर्ताभन्दा व्यक्तिगत निकटता र गुटगत सम्बन्धका आधारमा प्रतिनिधि छनोट गर्ने प्रवृत्ति बढेको छ।
भुषालले ‘राम्रा’भन्दा ‘हाम्रा’लाई प्राथमिकता दिने प्रवृत्तिका कारण कांग्रेसमा निरन्तर योगदान दिएका कार्यकर्ताहरू अन्यायमा परेको बताइन्।
दलित कोटाबाट समेत आफूजस्ता लामो समयदेखि पार्टीमा सक्रिय रहेका धेरै कार्यकर्तालाई समेट्न नसकिएको उनको गुनासो छ।

केन्द्रले के गर्ला ?
सुनसरी–२ को विवाद अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष पुगेको छ। एकातर्फ निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन भइसकेको दाबी गर्ने समूह छ भने अर्कोतर्फ निर्वाचन प्रक्रिया अपूर्ण रहेको भन्दै पुनः निर्वाचनको माग गर्ने पक्ष छ।
असन्तुष्ट पक्षले मतदानबाट निर्वाचित प्रतिनिधिलाई हटाएर सहमतिको नाममा नयाँ सूची बनाइएको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरिरहेको छ।
अब कांग्रेस केन्द्रीय नेतृत्वले सुनसरी–२ बाट पठाइएको प्रतिनिधिको नामावलीलाई मान्यता दिन्छ वा विवाद समाधानका लागि पुनः निर्वाचनको बाटो रोज्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा क्षेत्रीय अधिवेशनकै प्रक्रियामाथि उठेको यो विवादले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र, निर्वाचन प्रणाली र गुटगत प्रभावबारे समेत गम्भीर प्रश्न उठाएको छ।
असन्तुष्ट पक्षले भने आफूहरूको माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रम अघि बढाउने संकेत गरेको छ।




















