काठमाडौँः  चाडपर्व नजिकिएसँगै बजारमा म्याद गुज्रिएका अखाद्यवस्तु बिक्रीमा बिगबिगी बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नाघेका खाद्यवस्तुको बिक्री बढेको पाइएको हो । 


विभागले पछिल्लो एक हप्ताको बिचमा अनुगमन गरेकोमा उपत्यकाका दुध डेरी, खाद्य उद्योग, मिठाई, पुस्टकारी, गुदपाक, मिठाई, बिस्कुट, चियापत्ती उद्योगको अनुगमनमा म्याद नाघेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको छ । व्यापारीले पैसा कमाउने होडमा किरा परेका, म्याद सकिएका, कुहिएका वस्तु प्रयोग गर्दै खुलेआम बेचिरहेको पाइएको छ । 


विभागले गएको शुक्रबार मात्रै काठमाडौँको कागेश्वरीमा रहेको बिबी खाद्य उद्योगको अनुगमनमा उद्योग अनुमतिपत्र नवीकरण नै नगरी म्याद सकिएका दालमोठ, पस्ता, कुहिएका आलु प्रयोग गरेर चिप्स बनाएको पाइएको जनाएको पास्ता ३० पाकेट प्याकेजिङ र चिप्स बनाउने उद्देश्यले कुहिएको मिसिएको दुई बोरा आलु प्रयोग गरेको पाइएको जनाएको छ । 


यस्तै अनुगमनमा काठमाडौँको चन्द्रागिरिमा रहेको सिद्धिविनायक खाद्य स्टोरले म्याद नाघेका ठुलो परिणामको हरियो केराउ र कालो भटमास भेटिएपछि नष्ट गरेको जनाएको छ । अन्य भण्डारण कक्षमा रहेका हरियो केराउ र भटमासको नमुना सङ्कलन गरेर यसको रिपोर्ट नआउँदासम्म बिक्री गर्न निर्देशन दिएको विभागले जनाएको छ । 


काठमाडौँको मुख्य नाका चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गेअड्डामा सञ्चालित श्री कृष्ण पुस्टकारी तथा गुदपाक भण्डारमा खाद्य विभागले चन्द्रागिरि नगरपालिका, प्रहरी प्रभाग नैकाप र काठमाडौँ महानगरपालिकासँगको समन्वयमा गरेको अनुगमनमा खाद्यवस्तुका नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको र ठगेको भेटियो । 


बाहिरबाट हेर्दा यो एउटा सामान्य र चलेको मिठाई उद्योग जस्तो लागे पनि त्यसका उत्पादनका लेबलमा भने ‘खुवा, चिनी, दुध, नरिवल, छोगडा, काजु, बदाम, तरबुजलगायतको मिश्रण’ भनेर लेखिएको तर विभागको टोलीले अनुगमन गर्दा चिनीबाहेक कुनै पनि पौष्टिक तत्व भेटिएको छैन । 


बरु अनुगमनका क्रममा उक्त उद्योगले म्याद नाघेको चिउरा, म्याद नाघेका चकलेट, खुला टुक्रा बिस्कुट, किरा परेको भुटेको चना र चनाको पिठो, स्किम मिल्क पाउडर, चामलको पिठो, किरा परेको बदाम, ओट्सलगायत अखाद्यवस्तु प्रयोग गरेर मिठाई बनाइरहेको फेला परेको थियो । 


म्याद नाघेर खान अयोग्य भइसकेका चकलेट तथा अन्य खाद्यवस्तुलाई पुनः अर्को लेबल राखेर रिप्याकेजिङ गर्दै बजारमा पठाउने तयारी भइरहेको थियो । 


खाद्य वैज्ञानिकहरू अखाद्यवस्तु खाँदा तत्कालै फुड पोइजनिङ (बान्ता र पखाला) हुनेदेखि दीर्घ रोगसम्मको जोखिम हुने बताउँछन् । खाद्य वैज्ञानिक जीवनप्रभा लामाले म्याद सकिएका र कुहिएका खानेकुराले तत्काल सामान्य समस्या देखिए पनि दीर्घकालमा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने बताए । 


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उपभोक्ताको जिउज्यानलाई जोखिम पार्ने गरी तयारी गरिएको अखाद्यवस्तु बिक्री गर्नेलाई कडा कानुनी दायरामा ल्याउने तयारी गरेको जानकारी दिए । उनका अनुसार म्याद सकिएका चकलेट, खुला बिस्कुट र किरा लागेका सामग्री सङ्कलन गरेर, धुलो बनाएर गुदपाक र पुष्टकारी बनाउँदै गरेको ठुलो मात्रामा भेटियो । अहिले उक्त उद्योग सिलबन्दी गरेर उत्पादनमा रोक लगाइएको छ र फोहोर सामग्री नष्ट गर्न नगरपालिकालाई जिम्मा दिइएको छ ।


प्रयोगशालामा परीक्षणका लागि पठाइएको नमुनाको रिपोर्ट आएपछि बयान लिएर सिधै जिल्ला अदालतमा मुद्दा दायर गर्ने र जानी जानी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कानुन अनुसार कारबाही हुने महानिर्देशक कर्णले स्पष्ट पारे ।


उपभोक्ताको ज्यानमाथि खेलबाड गर्नेलाई नयाँ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ मा कडा कारबाहीको व्यवस्था गरेको छ । ऐनमा अखाद्यवस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई एक वर्षसम्मको जेल सजाय, चार लाख रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानुनी प्रावधान छ । समग्रमा यस ऐनले कसुरको गम्भीरता हेरी ५० हजार जरिबानादेखि अधिकतम तीन वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिबाना तिराउन सक्ने अधिकार दिएको छ । यो खबर आज प्रकाशित गोरखापत्र दैनिकबाट लिइएको हो ।