इटहरीः सुनसरी प्रहरीले इनरुवा बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। प्रहरीले इनरुवा नगरपालिका ३ सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा ट्रकसहित बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज १८ गते राति करिब ११ः५० बजे सखुवागाछी चोकस्थित अस्थायी प्रहरी पोष्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंकास्पद अवस्थामा रोकेर चेकजाँच गरेको थियो।

police 1

चेकजाँचका क्रममा ट्रकभित्र बन्द अवस्थामा रहेका ८३ वटा बोरामा गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बोराहरू खोलेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेपछि प्रहरीले ट्रकसहित उक्त पदार्थ तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल गर्दा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको पुष्टि भएको छ। प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आशंकामा ट्रकका चालक र सहचालकलाई समेत पक्राउ गरेको छ।

WhatsApp Image 2026-10-05 at 09.35.40

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–२ बस्ने ३३ वर्षीय राजु राई (चालक) र १८ वर्षीय सन्दीप राई (सहचालक) रहेका छन्।

प्रहरीले बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवामा ल्याएको जनाएको छ।

police 3

जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध गाँजा तथा अन्य लागूऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

बरामद सामग्री:

गाँजा : २,५६६ किलो ५६० ग्राम

प्याकिङ : ८३ बोरा

सवारी साधन : ना.७ ख १८२५ नम्बरको ट्रक

पक्राउ : २ जना

चालक : ३३ वर्षीय राजु राई

सहचालक : १८ वर्षीय सन्दीप राई

WhatsApp Image 2026-10-05 at 09.35.39