गण्डकीः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गत आर्थिक वर्ष २०८२र८३ मा पर्यटक प्रवेश शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार ९८६ रुपैयाँ आम्दानी गरेको छ। गत आवमा अन्नपूर्ण क्षेत्रमा हालसम्मकै धेरै विदेशी पर्यटक भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि उल्लेख्य रूपमा बढेको हो।


आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत आवमा दक्षिण एसियाली मुलुकबाट तीन लाख ८४ हजार १४५ र अन्य मुलुकबाट एक लाख २४ हजार ३३१ गरी कुल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए।


तीमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै तीन लाख ७५ हजार ७९७ रहेको थियो। एक्यापले दक्षिण एसियाली मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकबाट तीन हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।


डा। कडरियाका अनुसार भारतीय पर्यटकको आगमनमा भएको वृद्धिका कारण प्रवेश शुल्कबाट प्राप्त आम्दानी पनि बढेको हो। उनका अनुसार पर्यटक संख्या र शुल्कबाट प्राप्त आम्दानी दुवै हिसाबले गत आव अहिलेसम्मकै उच्च हो।



आव २०८१र८२ मा पर्यटक प्रवेश शुल्कबाट ४६ करोड ४८ लाख ८१ हजार ४८४ रुपैयाँ संकलन भएको थियो। त्यस्तै, आव २०८०र८१ मा ३८ करोड ९४ लाख ६१ हजार ४८३ रुपैयाँ शुल्क संकलन भएको थियो।


गत आवमा भारतसहित १६९ देशका पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए। आव २०८१र८२ मा दुई लाख ७८ हजार ११३ पर्यटक आएकोमा गत आवमा उक्त संख्या बढेर पाँच लाख आठ हजार ४७६ पुगेको हो।


आयोजना प्रमुख कडरियाका अनुसार पर्यटक शुल्कबाट प्राप्त आम्दानीको ठूलो हिस्सा संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनमा खर्च हुने गरेको छ। सरकारले एक्यापका लागि छुट्टै बजेट उपलब्ध नगराउने भएकाले कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन तथा वार्षिक कार्यक्रमसमेत यही आम्दानीबाट सञ्चालन हुँदै आएको उनले बताए।


स्थानीयस्तरमा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत बजेट तथा कार्यक्रम कार्यान्वयन गरिँदै आएको छ। एक्यापले पदमार्ग निर्माण तथा मर्मत, फोहर व्यवस्थापन, सिँचाइ, खानेपानी, आयआर्जन तथा संरक्षण शिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।


पर्यटक प्रवेश शुल्कबाट प्राप्त रकम एक्यापमै रहने भए पनि जडीबुटी संकलनलगायत प्राकृतिक स्रोतको उपयोगबापत प्राप्त हुने रकम भने नेपाल सरकारको राजस्वमा जम्मा हुने गरेको आयोजना कार्यालयले जनाएको छ।


यसैगरी एक्यापभित्र सञ्चालित जलविद्युत् आयोजनाको शुल्क, पर्वतारोहण शुल्क तथा निषेधित क्षेत्र प्रवेश शुल्कबाट पनि राजस्व संकलन हुँदै आएको छ। विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार–फू क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट गत आवमा २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ प्रवेश शुल्क संकलन भएको थियो। उक्त शुल्क अध्यागमन कार्यालयमार्फत संकलन हुँदै आएको छ।


पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा मुख्यतः असोज–कात्तिक र चैत–वैशाखमा पर्यटकको चाप बढी हुने गरेको छ। वर्षायाम र जाडोमा पदयात्रीको संख्या घटे पनि अन्य समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ।


करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।


मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग रोज्ने गरेका छन् भने अन्य मुलुकका पर्यटक पदयात्रामा बढी आकर्षित हुने गरेका छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी र पुनहिललगायत गन्तव्यमा हरेक वर्ष ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।