मोरङः मोरङको केराबारी गाउँपालिका–५ मा ग्यास लिक भएर भएको आगलागीबाट सात परिवार प्रभावित भएका छन्। आगलागीमा घर, गोठ तथा खोर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडा तथा पशुपक्षीसमेत जलेर नष्ट भएको बताइएको छ।
केराबारी गाउँपालिका–५ निवासी श्याम कुँवरसहित सात परिवार बसोबास गर्दै आएको घरमा खाना पकाउने क्रममा कामाख्या ग्यास लिक भएर अचानक आगलागी भएको हो।
आगलागी नियन्त्रण गर्ने क्रममा २६ वर्षीया मनिषा कुँवर र २४ वर्षीय गंगाबहादुर कुँवर घाइते भएका छन्। आगलागीबाट टिनको छाना भएको घर, गोठ तथा खोर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सात परिवारको आश्रय र दैनिक जीविकोपार्जनको आधारसमेत गम्भीर रूपमा प्रभावित भएको जनाइएको छ।
घटनाप्रति दुःख व्यक्त गर्दै मोरङ क्षेत्र नम्बर १ का सांसद यज्ञमणि न्यौपानेले पीडित परिवारको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न पहल थालेका छन्।
सांसद न्यौपानेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घटनाबारे जानकारी दिँदै राहत, उद्धार र पुनर्स्थापनाका लागि सम्बन्धित क्षेत्रमा उपस्थित भएर आवश्यक काम अघि बढाउन सचिवालयका कर्मचारीलाई निर्देशन तथा अनुरोध गरिसकेको बताएका छन्।
उनले आगलागीबाट प्रभावित परिवार अहिले अत्यन्त कठिन र पीडादायी अवस्थामा पुगेको उल्लेख गर्दै घटनाको आवश्यक छानबिन तथा क्षतिको यथार्थ मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन्।
सांसद न्यौपानेले ग्यास कम्पनीबाट लागू हुने बीमा सुविधा तथा क्षतिपूर्ति पीडित परिवारलाई यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
उनले पीडित परिवारलाई विपद्को यस घडीमा कानुनी तथा मानवीय दायित्वअनुसार आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको जीवन पुनः सामान्य अवस्थामा फर्काउन तत्काल पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
आगलागीका कारण घरबार तथा दैनिक जीवनयापनका सामग्री गुमाएका सात परिवारका लागि तत्काल अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनसँगै क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ।
घटनामा घाइते भएका मनिषा कुँवर र गंगाबहादुर कुँवरको उपचार तथा आगलागीबाट भएको सम्पूर्ण क्षतिको विवरण संकलन गरी पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने सांसद न्यौपानेले बताएका छन्।




















