धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर ४ नाम्जाङका बासिन्दा हिजोआज गाउँघरमा हुने हरेक शुभकार्यमा नौमती बाजा बजाउँछन् । यहाँ पुरुष मात्रै होइन महिला पनि पुरुषको साथमा नौमती बाजा बजाउन पछि पर्दैनन् । यो बाजा बजाउने मानिसको अभावका कारण पछिल्लो समय गाउँघरबाट बाजा नै लोप हँुदै गएको छ ।

तर, नाम्जाङका स्थानीय भने यसैको संरक्षणमा लागि परेका छन् । नाम्जाङका पुरुष र महिला विभिन्न उत्सव, मेला, पर्व, विवाह, व्रतबन्ध लगायतका विशेष कार्यमा नौमती बाजा बजाउने गर्छन् ।

नौमती बाजा संरक्षण समिति नै गठन गरेर उनीहरू काम गरिरहेका छन् । नौमती बाजा संरक्षणको लागि गाउँका ३ वटा समूह जुटेका छन् । ती ३ क्लबमा आबद्ध सदस्यले नौमती बाजा बजाउने १५ दिने तालिम समेत लिएका छन् । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने तथा नौमती बाजा संरक्षण गर्ने उद्देश्य अनुरूप अभियान थालिएको समितिका अध्यक्ष दीपक गुरुङ बताउँछन् । 

खास एक जातिले मात्र नौमती बाजा बजाउनुपर्छ भन्ने मान्यताले पछिल्लो सयम यो बाजा हराउँदै गएको पाइन्छ ।  यस्तै सोच राख्दा बाजा लोप हुने देखेर संरक्षणमा लागेको गुरुङ बताउँछन् ।  तिहारको बेला देउसीभैलो खेलेर १ लाख ४५ हजार रुपैयाँ सङ्कलन गरेर नौमती बाजा खरिद गरेको उनले बताए ।नेपाली कला संस्कृतिको जगेर्नासहित नौमती बाजा संरक्षण गर्ने उद्देश्यले यो अभियान थालिएको हो । नौमती बाजाका ट्याम्को बागदल, समया, झ्याम्टा लगायतका हलुका बाजा महिलाले नै बजाउने गरेका छन् । त्यस्तै नर्सिङ्गा जस्ता बाजा भने पुरुषले बजाउने गरेका छन् ।  

naumati baja dhankuta  (2)

महिलाले समेत बाजा बजाउन थालेपछि स्थानीय उत्साहित छन् । पुरुष बराबर महिलाले पनि बाजा बजाउन थालेको नेत्रकुमारी काफ्ले बताउँछिन् ।

अझ रमाइलो पक्ष त बाजा राम्रोसँग बजाउने भनी परिचित दमाइ जातिको यो गाउँमै बसोबास छैन । उनीहरूको अनुपस्थितिमा अन्य समुदायका मानिसले यो बाजा बजाउने गरेका छन् । यस्तो बाजा बजाउन दलित समुदायकै मात्र आवश्यकता पर्छ भन्ने मान्यतालाई तोड्दै बाजाको संरक्षणतर्फ लागेको स्थानीय अम्बर घिमिरे बताउँछन् ।