इटहरीः चाडपर्व नजिकिएसँगै इटहरी क्षेत्रमा तास तथा जुवाका खाल सञ्चालन हुने क्रम बढेको पाइएको छ। प्रहरीले जुवातास नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र बनाइरहेका बेला इटहरी–१७ बाट २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन्।
स्थानीयबाट प्राप्त सूचनाका आधारमा प्रहरीले इटहरी–१७ स्थित एक घरमा छापा मारेर तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, रामधुनी–५ का ४७ वर्षीय गौरीशंकर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब १ः१५ बजे इटहरी–१७ निवासी शेलिस शेर्पाको घरमा जुवातास भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट एक बुक ताससहित नगद रकम बरामद गरेको जनाएको छ। बरामद रकममध्ये नारायण श्रेष्ठको साथबाट १ लाख ४८ हजार ८ सय रुपैयाँ, महेशलाल धामीको साथबाट ७८ हजार ५ सय रुपैयाँ, लोकबन्धु कार्कीको साथबाट ३ हजार ५ सय रुपैयाँ र गौरीशंकर लुइँटेलको साथबाट ३ सय ७० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रेम विकको साथबाट भने नगद फेला नपरेको प्रहरीको भनाइ छ।

बरामद रकम र ताससहित पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ। घटनाबारे इन्स्पेक्टर सञ्जीव ओली नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
चाडपर्वमा जुवाको खाल सञ्चालन हुने गरेको गुनासो
इटहरी क्षेत्रमा चाडपर्वको समयमा तास तथा जुवा खेलाउने गतिविधि बढ्ने गरेको स्थानीयको गुनासो छ। विशेषगरी तिहार, दसैँलगायतका ठूला चाडपर्वलाई लक्षित गर्दै विभिन्न स्थानमा गोप्य रूपमा जुवाका खाल सञ्चालन हुने गरेको बताइन्छ।
स्थानीयका अनुसार केही खाल घर तथा होटलका कोठामा सञ्चालन हुने गरेका छन्। कतिपय स्थानमा लामो समयसम्म कोठा भाडामा लिएर व्यावसायिक रूपमा जुवा सञ्चालन गर्ने गरिएको समेत गुनासो आउने गरेको छ।

इटहरीमा प्रतिष्ठित व्यक्तिहरू, उद्योगी–व्यवसायी तथा राजनीतिक र सुरक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको घरमा समेत जुवाका खाल सञ्चालन हुने गरेको आरोप स्थानीयस्तरमा लाग्दै आएको छ। यद्यपि, यस्ता आरोपबारे सम्बन्धित व्यक्तिहरू वा प्रहरी प्रशासनबाट आधिकारिक पुष्टि भएको छैन।
प्रहरीको निगरानी बढ्यो
चाडपर्वको समयमा हुने जुवातास, अवैध गतिविधि तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले मातहतका कार्यालयलाई निगरानी र कारबाही बढाउन निर्देशन दिएको जनाएको छ।
निर्देशनपछि सादा पोशाकका प्रहरी परिचालन गरी सम्भावित जुवाका खालबारे सूचना संकलन र निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ। स्थानीयबाट प्राप्त सूचनाका आधारमा विराटनगर, धनकुटा, इटहरी र धरानलगायतका क्षेत्रमा समेत जुवातास खेल्ने तथा खेलाउने समूहविरुद्ध कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।
स्थानीयस्तरमा भने जुवातास नियन्त्रणका लागि प्रहरीले पक्राउ गर्ने मात्र नभई लामो समयदेखि जुवा सञ्चालन गराउने समूहको पहिचान गरी मुख्य सञ्चालकसम्म पुग्नुपर्ने माग उठ्दै आएको छ।
यसैबीच इटहरी–१७ को पछिल्लो घटनामा पक्राउ परेका पाँच जनामाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनामा थप व्यक्तिको संलग्नता भए/नभएको तथा जुवा सञ्चालनको प्रकृतिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।
चाडपर्वको समयमा ठूलो रकमको जुवा खेल्ने तथा खेलाउने गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी थप कडा बनाएको जनाएको छ।




















