काठमाडौंः  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई संरक्षणदेखि पुनर्स्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ।


विपद् प्रभावित नागरिकलाई तत्काल राहत र सहायतामा मात्र सीमित नराखी उनीहरूको संरक्षण, जीविकोपार्जन पुनर्स्थापना, सीप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन तथा बजारसँग आबद्धतामार्फत आर्थिक रूपमा पुनः उभ्याउनु कार्यक्रमको मूल उद्देश्य हो।


कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिनेछ। प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा उपयुक्त संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम अगाडि बढाइनेछन्।


आठ प्रमुख स्तम्भमा ‘समुन्नति’


विपद् प्रभावित लक्षित समुदायलाई तत्काल आवश्यकताबाट आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म पुर्‍याउन ‘समुन्नति कार्यक्रम’लाई आठ प्रमुख स्तम्भमा अघि बढाइनेछ।


१. जीविकोपार्जनका लागि नगद, बीउपूँजी तथा व्यवसाय पुनर्स्थापना सहायता

विपद्ले प्रभावित आयआर्जन तथा व्यवसाय पुनः सञ्चालन गर्न आवश्यक नगद, बीउपूँजी तथा पुनर्स्थापना सहायता उपलब्ध गराइनेछ।


२ेृ औजार, उपकरण, मेसिन तथा उत्पादन साधन सहायता

जीविकोपार्जन, व्यवसाय तथा उत्पादन पुनः सुरु गर्न आवश्यक औजार, उपकरण, मेसिन तथा उत्पादन साधन उपलब्ध गराइनेछ।


३. सीप तथा रोजगारमूलक तालिम

व्यक्तिको क्षमता, रुचि र बजारको मागअनुसार सीप विकास गरी रोजगार तथा स्वरोजगारका अवसरसँग जोडिनेछ।


४. रोजगार सहजीकरण तथा रोजगारीमा आबद्धता

सीप भएका तथा तालिम प्राप्त व्यक्तिलाई उपलब्ध रोजगारीका अवसरसँग जोड्दै रोजगारी प्राप्तिका लागि सहजीकरण गरिनेछ।


५. व्यवसाय तथा उद्यमशीलता विकास

नयाँ उद्यम सुरु गर्न तथा प्रभावित व्यवसाय पुनः सञ्चालन र विस्तार गर्न आवश्यक उद्यमशीलता तथा व्यवसाय विकास सहयोग उपलब्ध गराइनेछ।


६. उत्पादन तथा बजार आबद्धता

उत्पादन तथा उद्यमलाई बजार, खरिदकर्ता र मूल्य शृङ्खलासँग जोडेर दिगो आयआर्जनको आधार निर्माण गरिनेछ।


७.व्यक्तिगत, जीविकोपार्जन तथा व्यावसायिक परामर्श

व्यक्तिको अवस्था, क्षमता र सम्भावनाअनुसार जीविकोपार्जन, रोजगारी तथा व्यवसायका लागि आवश्यक परामर्श र सहजीकरण गरिनेछ।


८ .संरक्षण, लैङ्गिक हिंसा रोकथाम, जोखिम न्यूनीकरण तथा आवश्यक सेवामा आबद्धता

विपद्पछि उत्पन्न हुने संरक्षण जोखिम तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य, मनोसामाजिक, कानुनी, सुरक्षा तथा अन्य सेवासँग जोडिनेछ।


बालबालिका भएका विपद् प्रभावित परिवारलाई विशेष प्राथमिकता


बालबालिकाको दीर्घकालीन संरक्षण र स्याहारका लागि मन्त्रालयको ‘बालबालिका दीर्घकालीन स्याहार योजना’ कार्यान्वयनमा छ। ‘समुन्नति कार्यक्रम’अन्तर्गत विपद् प्रभावित परिवारमा रहेका बालबालिकाको संख्या, पारिवारिक अवस्था, आश्रित सदस्य तथा आर्थिक–सामाजिक जोखिमलाई समेत ध्यानमा राखी जीविकोपार्जन तथा पुनर्स्थापना सहायतामा आवश्यकताअनुसार विशेष प्राथमिकता र थप सहयोग उपलब्ध गराउन सकिनेछ।


राहतमा सीमित होइन, पुनः उभिने आधार


‘समुन्नति कार्यक्रम’ राहत वितरणमा सीमित कार्यक्रम होइन। विपद्बाट प्रभावित व्यक्तिको तत्काल आवश्यकता सम्बोधन गर्दै उनीहरूको आयआर्जन र जीविकोपार्जन पुनःस्थापना गरी आर्थिक रूपमा पुनः उभिने आधार निर्माण गरिनेछ।


आवश्यकताअनुसार नगद, बीउपूँजी, सीप, औजार तथा उपकरण, रोजगारी, उद्यमशीलता, व्यवसाय पुनर्स्थापना र बजार आबद्धतामार्फत प्रभावित नागरिकलाई पुनः आयआर्जन र आत्मनिर्भरताको बाटोमा जोडिनेछ।


कार्यक्रमको नीतिगत नेतृत्व मन्त्रालयले गर्नेछ। संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्दै विपद् प्रभावित समुदायको आवश्यकता र स्थानीय सम्भावनाअनुसार कार्यक्रम कार्यान्वयन गरिनेछ।


विपद् प्रभावित नागरिकलाई राहत दिएर मात्र छोड्ने होइन, उनीहरूलाई पुनः उभिने अवसर, आयआर्जनको आधार र आत्मनिर्भरताको बाटो दिनु ‘समुन्नति कार्यक्रम’को मूल उद्देश्य हो।