इटहरीः इटहरी उपमहानगरपालिका–११, खनारस्थित न्यु एरा चिल्ड्रेन एकेडेमीले विद्यालयमा विज्ञान विषयको पढाइ नभएको र विज्ञान शिक्षक नरहेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका विषयप्रति आपत्ति जनाउँदै खण्डन गरेको छ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकले विज्ञान विषयको नियमित अध्यापन भइरहेको दाबी गर्दै सार्वजनिक भएका विवरणमा सत्यता नरहेको बताएका छन्।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष घेथरी कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले विद्यालयका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्ने निर्णय गरेको हो। विद्यालयलाई बदनाम गराउने उद्देश्यले केही व्यक्तिले अफवाह फैलाएको अध्यक्ष चौधरीको दाबी छ। उनले मेहनत र समर्पणका साथ विद्यालय सञ्चालन भइरहेको बताउँदै विद्यालयको वास्तविक अवस्था नबुझी सार्वजनिक गरिएका सामग्रीले विद्यालयको प्रतिष्ठामा असर पुर्याएको बताइन्।

विद्यालयका विज्ञान शिक्षक घनेश्वर विश्वासले आफूले विगत तीन वर्षदेखि निरन्तर विज्ञान विषय अध्यापन गराउँदै आएको बताए। उनले बिहानको समयमा समेत विद्यार्थीलाई पढाउने गरेको र कक्षा १० का विद्यार्थीलाई सवा घण्टासम्म अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको जानकारी दिए। विज्ञान विषयको पढाइ नै नभएको भन्ने समाचारले आफूलाई आश्चर्यचकित बनाएको उनको भनाइ छ।
विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा हसिना कुमारी साहले विज्ञान शिक्षक नभएको र विज्ञान विषयको पढाइ नहुने भन्ने कुरा अफवाह मात्र भएको बताइन्। त्यस्तै, कक्षा १० कै विद्यार्थी धीरज कुमार साहले एसईईको तयारी भइरहेकाले विज्ञान विषयलाई प्राथमिकतामा राखेर अध्यापन भइरहेको जानकारी दिए। बिहानको समयदेखि नियमित कक्षासम्म विज्ञान विषयको पढाइ भइरहेको उनको भनाइ छ।

कक्षा ८ देखि नै शिक्षक विश्वासले विज्ञान विषय पढाउँदै आएको कञ्चन भण्डारीले बताइन्। विद्यालयकी भाइस प्रिन्सिपल लक्ष्मी नेपालले पनि विज्ञान शिक्षक नभएको र विज्ञान विषयको पढाइ नै नहुने भन्ने समाचार सार्वजनिक भएपछि आफू आश्चर्यचकित भएको बताइन्। विद्यालयमा विज्ञान विषयको अध्यापन नभएको भए अभिभावकबाट गुनासो आउने उल्लेख गर्दै उनले अहिलेसम्म त्यस्तो गुनासो नआएको दाबी गरिन्।
विद्यालयका पुराना अभिभावक दिलीप श्रेष्ठले पनि विद्यालयको शैक्षिक वातावरण र नतिजाप्रति सन्तुष्टि व्यक्त गरे। उनका अनुसार उनका दुई नाति यही विद्यालयमा अध्ययन गरेर दक्षिण कोरिया पुगेका छन्। त्यहाँ पनि विद्यालयमा प्राप्त शैक्षिक आधारका कारण उनीहरूले राम्रो प्रदर्शन गर्दै छात्रवृत्तिसमेत पाएको उनले बताए। अहिले पनि उनका तीन नाति विद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै उनले विज्ञान विषयको पढाइ नभएको भन्ने विषयमा आफूले कुनै गुनासो वा जानकारी नपाएको बताए।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र चौधरीले विद्यालयमा विज्ञान विषय नियमित रूपमा अध्यापन भइरहेको र त्यसका लागि शिक्षकको व्यवस्था गरिएको बताए। विद्यालयमा पढाइ नै नभएको भन्ने विषयमा सत्यता नरहेको दाबी गर्दै उनले अभिभावक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपुष्ट सूचनाका आधारमा धारणा नबनाउन आग्रह गरे।

प्रधानाध्यापक चौधरीले विद्यालयको शैक्षिक गतिविधि, पढाइको अवस्था तथा आफ्ना छोराछोरीले अध्ययन गरिरहेका विषयबारे जानकारी लिन अभिभावकलाई विद्यालयमै आएर बुझ्न पनि आग्रह गरे। अभिभावकले आफ्ना छोराछोरीसँग नियमित रूपमा पढाइ र कक्षाको अवस्थाबारे जानकारी लिइरहनुपर्ने उनको सुझाव छ।
यसैबीच, विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयका विषयमा सार्वजनिक भएका विवरणको खण्डन गरेको छ।





















