सोलुखुम्बुः अटम सिजन सुरु भएसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत मनोरम हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै यहाँका पदमार्गमा चहलपहल बढेको हो ।


भदौको अन्त्यदेखि छिटफुट रूपमा सुरु भएको पर्यटक आगमन अहिले बाक्लिन थालेको लुक्लाका होटल व्यवसायी तोया श्रेष्ठले बताए । हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्या बढेसँगै तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा उडानको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको लुक्लास्थित कार्यालयले जनाएको छ । सीता, तारा, समिट र नेपाल वायुसेवा निगमका उडानमार्फत पर्यटकहरू लुक्ला पुगिरहेका छन् ।


पर्यटकको आगमन बढिरहेको भए पनि वर्षाका कारण पदयात्रामा कठिनाइ हुने गरेको छ । कतिपय पर्यटक काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् भने कतिपय फाप्लु हुँदै पैदलमार्गबाट खुम्बु प्रवेश गर्ने गरेका छन् ।


सेप्टेम्बरको सुरुदेखि नै पर्यटकहरू खुम्बु प्रवेश गर्न थालेका हुन् । भदौको मध्यदेखि कात्तिक महिनासम्म खुम्बु क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । सगरमाथा क्षेत्रमा वर्षभरिमध्ये यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गरेको बताइन्छ । प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अनुकूल मानिने यस मौसममा अन्य समयको तुलनामा लेक लाग्ने जोखिम पनि कम हुने स्थानीयको भनाइ छ ।


पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्लेस्थित प्रवेशद्वारमा पर्यटक दर्ता गर्ने काममा व्यस्तता बढेको कार्यालयले जनाएको छ । पदमार्ग तथा हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा पुग्ने पर्यटकले जोरसल्ले प्रवेशद्वारमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था छ ।


प्रवेशद्वारमा रहेको पर्यटक सूचना केन्द्रले खुम्बु क्षेत्रमा यात्रा गर्दा पालना गर्नुपर्ने नियम तथा उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने विषयमा पर्यटकलाई आवश्यक जानकारीसमेत दिने गरेको छ । सामान्यतया सेप्टेम्बरदेखि सुरु हुने पर्यटकीय सिजनमा अक्टोबर र नोभेम्बर महिनामा सगरमाथा क्षेत्रको अवलोकनका लागि बर्सेनि हजारौँ विदेशी पर्यटक आउने गरेका छन् ।


पर्यटकको आगमन बढेसँगै पर्यटकीय मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ र तेङबोचे लगायतका स्थानमा रहेका होटलहरू पनि व्यस्त हुन थालेका छन् ।