काठमाडौँः  सरकारले देशका हिमाली क्षेत्रलाई सडक सञ्जालमा जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महत्वाकाङ्क्षी पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग (इस्ट–वेस्ट हिमालयन टुरिजम हाइवे) निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ । 


यस नवीन योजना अन्तर्गत पूर्वाधार विकास मन्त्रालयले पहिलो चरणको सम्भाव्यता अध्ययनका लागि औपचारिक सम्झौता गर्दै काम अगाडि बढाएको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार यस आयोजनाको निर्माणतर्फ पहिलो कदम स्वरूप प्रारम्भिक सम्भाव्यता अध्ययनको काम सुरु भइसकेको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले मुलुकको सुदूरपश्चिमदेखि सुदूरपूर्वका हिमाली जिल्लाहरूलाई एउटै सडक सञ्जालमा समेट्ने गरी ‘पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ को निर्माण कार्यलाई अगाडि बढाइएको जानकारी दिए ।  


करिब एक हजार पाँच सय किलोमिटर लामो हुने अनुमान गरिएको यस प्रस्तावित राजमार्गले मुलुकको १६ हिमाली जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई आपसमा जोड्ने लक्ष्य राखेको छ । उनले प्रस्तावित सो आयोजनाको पहिलो चरणमा १५० किलोमिटरको सम्भाव्यता अध्ययन सुरु गर्न सम्झौतासमेत भइसकेको जानकारी दिए ।


न्यौपानेका अनुसार सो हिमाली राजमार्ग निर्माणको पूर्वतयारी स्वरूप सम्भाव्यता अध्ययन गर्न सडक विभाग र सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबिच द्विपक्षीय सम्झौता भएको छ । 


पूर्वाधार विकासमन्त्री लम्सालको रोहबरमा मन्त्रालयमा भएको सो सम्झौतामा सडक विभागका तर्फबाट सिडिई शुभञ्जन दाहाल र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रभाकर थापाले हस्ताक्षर गरे ।


सम्झौता अनुसार नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले अबको छ महिनाभित्र सम्भाव्यता अध्ययनको प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयलाई बुझाउने छ । सो अध्ययनको सुरुवाती चरणमा अपिनाम्पा–सैपाल–बडीमालिका खण्डको १०५ किलोमिटर (पश्चिम) र नुम–काङ्चनजङ्घार पाथीभरा खण्डको ४५ किलोमिटर (पूर्व) को प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको विस्तृत अध्ययन गरिने छ ।