इटहरीः मोरङको उर्लाबारीमा मोबाइल पसलभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले पसल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट तास र नगदसमेत बरामद गरेको छ।

उर्लाबारी नगरपालिका–७ स्थित डिक खड्कीको घरमा सञ्चालित मोबाइल जोन पसलभित्र मंगलबार राति करिब ११ः३० बजे प्रहरीले छापा मारेको थियो।

पसलभित्र तास खेल भइरहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही टोलीले छापा मार्दा तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट पाँच बुङ तास र नगद १२ हजार ६२२ रुपैयाँ बरामद भएको छ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का २० वर्षीय जलन ठटाल, २४ वर्षीय सुभाष शर्मा र २५ वर्षीय रोशन शर्मा छन्। त्यस्तै उर्लाबारी–८ का २५ वर्षीय सुमन ढकाल, २६ वर्षीय निरोज धिमाल, २० वर्षीय कमल ढुंगाना र २५ वर्षीय किरण ढुंगाना पनि पक्राउ परेका छन्।

यसैगरी झापाको दमक नगरपालिका–७ का २६ वर्षीय विनोद ढकाल, दमक–५ का २५ वर्षीय दीपक चौधरी तथा मोबाइल जोन पसलका सञ्चालक मोरङको रतुवामाई नगरपालिका–९ का ३८ वर्षीय विवेक बराललाई समेत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।