इटहरीः नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीमा हाल ३ वटा कम्पनीका ४ वटा जेटबोट सञ्चालनमा छन् । स्थानीय बोलीमा ‘पानीजहाज’ भनिने ४ वटा जेटबोट सबै भारत वा तेस्रो देशमा बनेका हुन । तर, अब पहिलोपटक सप्तकोशीमा कुदाउन लागिएको जेटबोट भने नेपालमै बन्दैछ ।
इटहरी नजिकै मोरङको बलियामा यस्तो जेटबोट नेपाली इञ्जिनियरको डिजाइनमा पहिलोपटक बन्दैछ । यही वर्षको जेठ २२ गते दर्ता भएको र सञ्चालनमा आउन लागेको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले जेटबोट बनाइरहेको छ । ३० सिटे जेटबोट निर्माणको नेतृत्व इञ्जिनियर सुमन खत्री र लेखराज रिजालले गरिरहेका छन् ।
काठमाडौं विश्व विद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका खत्री र भारतबाट सोही विषय पढेका रिजालले यस्तो जहाज बनाउन लागेका हुन् । ‘हामी पहिले सामान्य पोखरीमा चाहिने प्याडल बोटहरू बनाउँदै थियौँ । तर पछि जेटबोटको कुरा आयो’, रिजालले भने, ‘सप्तकोशीमा आएको जेटबोटको अध्ययन गरेपछि हामीले सहजै बनाउन सक्ने देखेर बनाउन सहमत भयौँ ।’
सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिका लगानीकर्ता राजेन्द्र कार्की पनि इञ्जिनियरहरूले नेपालमै जेटबोट बनाउने बताएपछि विदेशमा पूरै निर्भर नभएको बताउँछन् । ‘हामीले जेटबोटमा आवश्यक जेट र इञ्जिन भने नेपालमा नबन्ने भएकाले युरोपबाट ल्यायौँ’, कार्कीले भने, ‘तर जेटबोटमा आवश्यक संरचना भने यहीँ बनाउन सकिने भएपछि यहीँ बनाएका हौँ ।’
हाल जेटबोटका इञ्जिन र जेट बाहेकको संरचना तयार भएको र चाँडै जडान हुने पनि कार्कीले बताए । ‘हामीले जेट ल्याइसकेका छौँ । अब इञ्जिन पनि आउँदैछ’, कार्कीले भने, ‘चैतसम्ममा सप्तकोशीमा सञ्चालन हुने संभावना देखेका छौँ ।’
स्वदेशी इन्जिनियरबाट बनेको जेटबोटको मर्मतको लागि प्राविधिकसमेत विदेशबाट आउन आवश्यक नभएर थप फाइदा हुने कार्कीले बताए । इञ्जिनियरहरूसमेत लगानीकर्ता भएकाले आफ्नो कम्पनी प्राविधिक रूपमा बलियो र आत्मनिर्भर समेत हुने कार्कीले बताए ।
स्वदेशमै जेटबोट बनाउँदा डेढ करोड जोगिने
नेपालमै जेटबोट बनाउँदा डेढ करोड रुपैयाँ जोगिने इञ्जिनियर रिजाल बताउँछन् । रिजालका अनुसार इञ्जिन र जेटबाहेकका जेटबोटका संरचना विदेशबाट खरिद गर्दाको मूल्य, यातायात र अन्य खर्च गरेर लाग्ने रकम बच्दा डेढ करोड जोगिन्छ ।
विदेशबाट ल्याइने जेटबोटको पूर्ण प्याकेज खरिदमा ३ करोड लाग्नेमा नेपालमै बन्दा डेढ करोडमै बन्न लागेको रिजालले बताए । उनले भने, ‘यो पहिलो प्रोजेक्ट भएकाले हामीले नाफा नराखी बनाएका हौँ । तर नाफा राखेर बनाउँदा पनि विदेशको भन्दा कम्तीमा १ करोड फाइदा हुन्छ ।’