इटहरीः सामान्यतः नेपाली बजारभन्दा भारतीय बोर्डरका बजारमा सस्तो मूल्यमा सामान पाइन्छ । राजस्व लगायत अन्य कारण नेपाली बजार महङ्गो बन्नु स्वभाविकै हो । तर पछिल्लो समय नेपाली र सीमावर्ती भारतीय बजारमा मोबाइल लगायतका इलेक्ट्रोनिक्स समानमा भारी मात्रामा मूल्यमा घटबढ भएको छ ।

भारतीय बजारमा ४३ हजार ५ सयमा पाइने भि ११ प्रो नेपालमा ५० हजार हाराहारीमा कारोबार भइरहेको छ । भारतमा २२ हजारमा पाइने भि ७ नेपालमा ३१ हजार ५ सय पर्छ । त्यस्तै भारतमा २२ हजारमै पाइने ओप्पो एफ वान एस नेपालमा ३१ हजार ९ सय ९० रुपैयाँ पर्ने गरेको छ । अर्थात् नेपालमा भन्दा भारतमा ३० प्रतिशतको हाराहारीमा मोबाइल फोन सस्तो हुने गरेको छ ।

यसरी हेर्दा नेपाली मोबाइल बजार महङ्गो बजारको रूपमा साबित भएको छ । मोबाइल लगायत इलेक्ट्रोनिक्स सामानमा ‘भ्याट रिफन्ड’मा रोक लगाएसँगै नेपाली बजारको व्यापार ओरालो लागेको हो । सरकारले भ्याट रिफन्ड नगर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याएसँगै नेपाली बजार महङ्गिन थालेको छ । त्यसले गर्दा सीमाक्षेत्रका भारतीय बजारमा मोबाइलको खुद्रा व्यापार आकाशिएको छ ।

सीमावर्ती भारतीय बजार जोगबनीका मोबाइल व्यापारी जयकृष्ण यादवका अनुसार पछिल्लो समय नेपाली ग्राहकको सङ्ख्या बढेको छ । पहिला एक दुई थान मोबाइलको बिक्री हुने ठाउँमा आजकल एउटै व्यक्तिले धेरै थान मोबाइल लैजाने गरेको उनको भनाइ छ ।
यसले गर्दा पनि भारतीय बजारबाट नेपालका मोबाइलको कालोबजारी बढिरहेको प्रष्ट हुने गरेको छ । विगतमा सामान भित्रिएबापत सरकारले लिने १३ प्रतिशत भ्याटबापतको ४० प्रतिशत फिर्ता हुने प्रावधान थियो । तर आर्थिक वर्ष २०७५÷७६ को बजेटमा सो व्यवस्था हटेको छ । त्यससँगै नेपाली बजारमा मोबाइलको मूल्य वृद्धि भएको स्वयम् व्यापारी बताउँछन् ।

भ्याट रिफन्डको प्रावधान अन्त्य भएसँगै त्यसको असर सम्पूर्ण नेपाली बजारमा पर्ने थालेको हो । त्यसको असर व्यापारीमा मात्र होइन उपभोक्तामा पनि परेको छ ।

पहिले कम मूल्यमा पाइने सामानको दाम एक्कासी वृद्धि हुन थालेको छ । भ्याट रिफन्डको आशामा कम मूल्य राखेर प्रतिस्पर्धा गर्ने कम्पनीले सामानको मूल्य बढाएका हुन् । यसले सीमावर्ती जोगबनीदेखि पानीट्याङ्कीसम्मको बजारको व्यापार चम्किइरहेको छ । जसको प्रत्यक्ष मारमा नेपाली व्यापारी परिरहेका छन् ।

सिधा हिसाबमा भ्याट रिफन्डले सरकारको आम्दानी गुमेको देखिए पनि यसले सरकारदेखि जनतालाई समेत घाटा भइरहेको इटहरीकै एक मोबाइल व्यापारी सुमित अधिकारी बताउँछन् । नेपाली बजारमा मूल्य बढेसँगै व्यापारमा गिरावट आएका कारण राजस्व गुम्न थालेको उनको भनाइ छ ।

भारतीय र नेपाली बजारमा समान मूल्य कायम गर्न भ्याट रिफन्ड हटाइए पनि खुला सिमानाका कारण त्यो सम्भव नभएको ए टु जेड मोबाइल केयर विराटनगरका सञ्चालक जगदीश डाँगाको भनाइ छ । पहिले २० हजार पर्ने मोबाइल अहिले २२ देखि २५ हजार सम्ममा बेच्नुपरेको उनको भनाइ छ । ‘अन्य समयमा घट्दो दरमा रहने मोबाइलको मूल्य यसपालि भने वृद्धि भइरहेको छ,’ उनी भन्छन्, ‘यसको कारण भारतीय बजारबाट नेपाल भित्रिने मोबाइलको दुई नम्बरी कारोबार बढिरहेको छ ।’

भ्याट रिफन्डले सबैभन्दा बढी मोबाइल बजार प्रभावित भएको छ । भारतीय बजारमा सस्तो दरमा पाइने मोबाइलको कालोबजारी फस्टाउन थालेको छ । नेपाली व्यापारीले भ्याट रिफन्ड पाउन छाडेपछि पुरानो मूल्य भन्दा बढाएर सामान बिक्री गर्ने गरेका छन् । जसका कारण विगत वर्षमा भन्दा ४० प्रतिशतले मोबाइल व्यापार कम भएको व्यापारीको भनाइ छ । एक दुई वटा खुद्रा मोबाइल ल्याउने र नेपाली बजारमा बेच्ने काम व्यापक भइरहेको उनीहरू बताउँछन् ।

हेर्दा सामान्य देखिए पनि यसले अर्थतन्त्रमा गम्भीर असर गर्ने अर्थविद् डा. भेषप्रसाद धमलाको भनाइ छ । कालोबजारीको कारण नेपाली बजार सुस्ताउने अवस्था आउनु अर्थतन्त्रको गम्भीर समस्या रहेको उनी बताउँछन् । यसले भुक्तान सन्तुलन बिगार्ने हुँदा देशकै अर्थतन्त्र धाराशायी हुने उनको तर्क छ ।

‘नेपालको कर नीति स्पष्ट हुन सकेन । झट्ट हेर्दा फाइदा देखिने भ्याट रिफन्डको रोकले दूरगामी असर गर्ने देखिएको छ,’ उनी भन्छन्, ‘दुई नम्बरी बाटोबाट नेपालको पूँजी बाहिरिइरहेको छ ।’

झट्ट हेर्दा भ्याट रिफन्डबापतको रकम जोगिएजस्तो देखिए पनि मोबाइलको कारोबारमै कमी आएपछि राजस्व गुमिरहेको छ । राजस्व गुम्ने खतरा त छँदैछ मोबाइलको कालोबजारीले नेपाली मोबाइल बजार नै तहसनहस बन्न सक्ने व्यापारी बताउँछन् ।