विराटनगरः वाणिज्य बैंकहरूले ब्याजदर बढाउन सिण्डिकेट चलाए पनि नेपाल राष्ट्र बैंकले हस्तक्षेप नगरेको भन्दै उद्योगी–व्यवसायी आन्दोलनमा उत्रने भएका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी अनपेक्षित रूपमा बैंकहरूले ब्याज वृद्धि गर्दासमेत नेपाल राष्ट्र बैंक रमिते बनेको भन्दै आन्दोलनमा उत्रने भएका हुन् ।
‘लगानीको वातावरण सहज बन्दै गएको छ तर ऋण लिएर लगानी गर्ने अवस्था छैन,’ उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘बिहान ऋण लिए दिउँसो ब्याज बढिसकेको हुन्छ ।’ सङ्गठन र उद्योग वाणिज्य सङ्घ मोरङले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकको ग्रीन सिंग्नलमा वाणिज्य बैंकले सिण्डिकेट चलाएर ब्याजदर वृद्धि गरेको देखिएको व्यापारीले बताए ।
‘मेघा बैंकबाट ६ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याज १७ दशमलव ८० प्रतिशतमा पुगेको छ’, उद्योग वाणिज्य सङ्घ मोरङका अध्यक्ष पवन सारडाले भने, ‘स्थायी सरकारका कारण लगानीको वातावरण सहज भइरहेको बेला बैंकहरूले दादागिरी चलाए, राष्ट्र बैंक रमिते बन्यो ।’ बैंकहरूको मनोमानी र सिण्डिकेट नतोडिए उद्योगहरूको चाबी प्रधानमन्त्रीलाई बुझाउने अवस्था आउने अध्यक्ष सारडाको भनाइ थियो ।
वाणिज्य बैंकले बढाउने ब्याजदरले उत्पादनमूलक उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै आगामी माघ १८ गतेदेखि नेपाल राष्ट्र बैंकविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ । घरजग्गा र अटोमोबाइल्स कारोबारमा गरिएको लगानीबाट बढी मुनाफा आर्जन गर्ने वाणिज्य बैंकले औद्योगिक लगानीलाई प्रभावित बनाउने गरी ब्याजदर वृद्धि गर्दा राष्ट्र बैंकले हस्तक्षेप गर्न नसकेको आरोप उद्योगीहरूको छ ।
बढ्दो ब्याजदरले उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनमा समस्या परेका कारण रोजगारीको अवसरको सिर्जना गुम्न सक्नेतर्फ सरकार सचेत रहनुपर्ने अर्का उद्योगी प्रदीप मुरारकाको भनाइ छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने सरकारको योजनाविपरीत वाणिज्य बैंक ब्याजदरमा वृद्धि गर्न सिण्डिकेटमा रहेका कारण नयाँ उद्योग स्थापनामा असर पर्ने बताइन्छ ।
सरकारले लगानी बढाएर ५ लाख युवालाई रोजगारीको अवसर सिर्जना गर्ने योजना सारे पनि उत्पादनमूलक उद्योग स्थापनाका लागि बैंकबाट ऋण लिन नसक्ने अवस्था आएको उद्योगी मुरारकाको भनाइ थियो ।
त्यसको लागि वातावरण सहज हुनुपर्ने माग अगाडि सारेका सुनसरी– मोरङ औद्योगिक करिडोरका उद्योगी– व्यवसायीले नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय विराटनगरमा चरणबद्ध आन्दोलन गर्दै आगामी माघ २४ गते तालाबन्दी गर्नेसमेत चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा माघ १३ गते जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित प्रदेश सरकार र राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको जानकारी दिइएको छ । ज्ञापनपत्र बुझाउँदा समेत माग सम्बोधन नभए माघ २० गतेदेखि राष्ट्र बैंक विराटनगरको कार्यालयको मूल गेटमा धर्ना बसेर दबाब दिने कार्यक्रम राखिएको छ । दैनिक १ घण्टाको दरले धर्नाको कार्यक्रम बढाउँदै माघ २४ गतेसम्म पनि समस्या समाधान नभएमा तालाबन्दी गर्नेसम्म अवस्थामा पुग्ने सङ्गठनका अध्यक्ष घिमिरेले चेतावनी दिए ।
सबै उद्योगको साँचो प्रधानमन्त्रीलाई बुझाउँदै राष्ट्र बैंकलाई घच्घच्याउन सबै उद्योगी र व्यवसायीलाई सङ्घ र सङ्गठनले आह्वान समेत गरिसकेको छ ।