धनकुटाः सधैँ शैक्षिक सामग्रीका साथमा स्कुलमै व्यस्त रहने धनकुटाका केही स्कुले विद्यार्थी शनिबार भने सिन्का र सालको पातको साथमा थिए । उनीहरू निकै उत्साहका साथ दुना टपरी गाँसिरहेका (बुनिरहेका) थिए ।

हराउँदै गएको दुना टपरी बुनाइ सीपलाई अहिलेका नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धनकुटा– ७ मा रहेको हाम्रो बहुमुखी पाठशाला धनकुटाले यो अभियान सञ्चालन गरेको हो । जहाँ धनकुटा नगरका ९ वटा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई सहभागी गराई दुनाटपरी बुनाई तालिम प्रदान गरिएको थियो ।

धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा प्रशिक्षकका रूपमा धनकुटा–७ की ८४ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ र शारदा श्रेष्ठ रहेका थिए । ३ दिनसम्म सञ्चालन हुने तालीममा धनकुटा नगरपालिकाभित्रका विद्यालयका ३० जना विद्यार्थी सहभागी छन् । हिले मावि, भाषा मावि, गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर मावि, त्रिवेणी मावि, दीप इङ्लिस बोर्डिङ स्कुल, बालसंसार बोर्डिङ, तुलसी मेहर बोर्डिङ र तमोर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलका १० छात्र र २० छात्रा तालीममा सहभागी छन् ।

अन्तरपुस्ता सीप हस्तान्तरण अभियानअन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको पाठशाला अहिले ज्येष्ठ अभिभावहरूबाट धेरै ज्ञान सीप सिक्न सकिने भन्दै यो अभियानमा लागेको हो । बढ्दै गएको प्लाष्टिकका सामग्री प्रयोगलाई न्यूनीकरण गर्न बालबालिकालक्षित दुना टपरी बुनाइसम्बन्धी तालीमको आयोजना गरिएको हाम्रो पाठशालकाका संयोजक सरोज भुजेलले बताए ।

उनले भने, ‘हाम्रा पुर्खाहरूबाट प्राकृतिक, मौलिक धेरै सीप सिक्न सक्छौँ जुन उपयोगी पनि रहन्छ । अहिले प्लाष्टिकको प्रयोगले खानपान तथा स्वास्थ्यमा प्रतिकुल असर पु¥याइरहेको छ । हामीले खाजा नास्ता गर्दा प्लाष्टिक प्लेट प्रयोग हुन्छ जसलाई न्यूनीकरण गर्न पनि तालीममार्फत् सीप प्रदान गर्न शुरु गरेका हौं ।’
हाल जिल्लाका विभिन्न होटलमा हातैले बुनेको टपरीमा मःम जस्ता खाजा दिने गरिन्छ । जसले गर्दा टपरी बुनाई सीपलाई आर्थिक उपार्जनसँग जोड्न सकिने उनले बताए ।
तालीममा छात्र र छात्रा दुवै सहभागी छन् । लैङ्गिक समताका लागि पनि छात्र र छात्रा दुवैलार्ई दुनाटपरी बुन्ने सीप सिकाइएको आयोजकले जनाएको छ ।
‘दुना टपरी चाहिँदा ज्येष्ठ आमाहरू नै तल्लीन हुनुपर्ने बाध्यतालाई चिर्न पनि विद्यार्थीहरूलाई सीप सिकाइएको हो’, पाठशालाका व्यवस्थापक शोभित श्रेष्ठले बताए । विद्यार्थीहरूलाई परम्परागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका विषयमा व्यावहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको उनको भनाइ छ ।