धनकुटाः बजारको पहुँचभन्दा टाढा भएका मानिसलाई दैनिक आवश्यकीय सामग्री स्थानीय स्तरमै उपलब्ध गराउने एउटा माध्यम हो हाटबजार ।
धनकुटामा हरेक गाउँ सडक सञ्जालमार्फत् जोडिइसकेका छन् । दैनिक उपभोग्य सामग्री गाउँगाउँमै उपलब्ध हुन्छ । तर पनि धनकुटामा यस्ता हाट बजारको पहिलेको जत्तिकै महत्व छ । स्थानीय हाट बजारमै दैनिक उपभोग्य सामानसहित कपडा, जुत्ताचप्पल, शृङ्गारका सामग्री तथा कृषिजन्य उत्पादन पाइने भएपछि समयको बचत हुने भएकाले यसको लोकप्रियता बढेको हो ।
धनकुटाको शहीदभूमि गाउँपालिकाका मातृका राईका अनुसार बजारको भित्री गाउँदेखि शहरबजारका बासिन्दालाइ भेट गराउने स्थल पनि हाटबजार नै हो । यस्ता हाट बजारमा स्थानीय कलासंस्कृतिसँग जोडिएका सामग्री समेत पाइने भएकाले स्थानीय कलासंस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न सहयोग गरेको धनकुटाको आँखीसल्लाका कमलबहादुर परियार बताउँछन् ।
हाल धनकुटा सदरमुकाम, हिले, छिन्ताङ, सिँधुवा, आँखीसल्ला, काजीमाने फलामेटारसहित जिल्लाका २ दर्जनभन्दा बढी ठाउँमा साप्ताहिक हाट लाग्ने गरेको छ । यस्ता हाटबजारवाट कर सङ्कलन हुने भएकाले गाउँपालिका र नगरपालिकाको आम्दानीको स्रोत पनि हुन् । त्यसैले गाउँपालिका तथा नगरपालिका थप साप्ताहिक हाट बजार लगाउने तयारीमा छन् । हाल २ वटा हाट लागिरहेको शहीदभूमि गाउँपालिकामा थप २ वटा हाट लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष मनोज राई बताउँछन् ।
हाट बजारमा स्थानीयको आकर्षण बढेकै कारण शहर बजार क्षेत्रका हाट बजारमा दातृ निकायको सहयोगमा पूर्वाधार निर्माण समेत भएका छन् । तर ग्रामीण क्षेत्रमा सञ्चालित हाट बजार भने पूर्वाधार अभावका कारण खुला स्थानमै सञ्चालन गर्नुपर्ने बाध्यता छ । जसका कारण ग्रामीण क्षेत्रमा बाह्रै महिना हाटबजार लगाउन सकिने अवस्था भने बन्न सकेको छैन ।