इटहरीः कार्यालय समयको पिक आवरमा ट्रिपर सञ्चालन रोक लगाएको नियमलाई पूर्वाञ्चल ट्रिपर व्यवसायी सङ्घले नमान्ने बताएको छ ।

मङ्गलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वाञ्चलका ट्रिपर व्यवसायीले सोमबार विराटचोकमा बालिकाको दुर्घटनामा मृत्यु हँुदा ट्रिपर जलाउनेलाई समेत कारवाहीको माग गरेका थिए ।

पत्रकार सम्मेलनमा आएका पत्रकारलाई खामबन्दी गरेर पैसा समेत बाँडेका ट्रिपर व्यवसायीले सरकारले बिहान २ घण्टा र बेलुकी २ घण्टा ट्रिपर चलाउन नपाइने भनी गरेको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् । पत्रकार सम्मेलन सकिएपछि बाहिर निस्कसकेका पत्रकारलाइ रकम बाँडिएको थियो ।

ट्रिपर व्यवसायी सङ्घका एक सदस्यले आएका प्रायः पत्रकारलाइ यातायात खर्च भन्दै २ हजार रुपैयाँ नगद राखिएको खाम बाँडेका थिए । त्रियुगा होटलको माथिल्लो तलामा पत्रकार सम्मेलन भएको थियो ।

‘पत्रकार साथीहरूले कहिलेकाहीँ अलि कस्तोकस्तो लेख्नुहुन्छ । अलिकति ट्रिपर व्यवसायीको पीडा पनि बुझ्नुपर्छ’, व्यवसायी सङ्घका अध्यक्षले गोपाल कार्कीले भने, ‘राजमार्ग भनेको निर्बाध सवारीसाधन गुडाउने ठाउँ हो करोडौं लगानी गरेर ल्याएको ट्रिपर कसरी थन्क्याएर राख्नु ? यो कुरा साथीहरूले बुझिदिनुपर्दछ ।

सोमबार मोरङको विराटचोकमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ट्रिपरमाथि आगजनी भएको विषयमा सङ्घले आन्दोलन गर्नेसमेत बताइएको थियो ।

प्रदेश पाेर्टल

आगजनी भएका ट्रिपरको क्षतिपूर्ति सरकारले दिनुपर्ने पनि उनीहरूले माग गरेका छन् । यसका अलावा यही माघ १९ गते अन्य महासङ्घसँगको समन्वयमा थप आन्दोलनको घोषणा गर्ने विज्ञप्तिमार्फत् सरकारलाई चेतावनी दिएका छन् ।

दुर्घटना अचानक हुने घटना भएकाले दुर्घटनाबाट निम्तिएको विषयमा अन्य नियोजित घटना भएको र सोमबार विराटचोकमा प्रहरीले त्यसले रोक्न नसकेको उनले बताए । दुर्घटनामा बालिकाको मृत्यु भएपछि सो घटनामा असम्बन्धित ट्रिपरहरूमा स्थानीय आक्रोशित समूहले आगो लगाउँदा समेत प्रहरी मूकदर्शक भएको आरोप उनले लगाए ।

‘दङ्गा नियन्त्रक प्रहरी समेत आइसकेको अवस्थामा पनि व्यवसायीको ट्रिपरमा आगो लागेको छ’, कार्कीले भने, ‘विकास निर्माणमा ठूलो सहयोग गरेको ट्रिपर व्यवसायलाई सरकारले दोस्रो दर्जाको पेशाको जस्तो व्यवहार गरेको हामीले भोग्दै आएका छौँ ।’
सुन्दरहरैचाकी लक्ष्मी ढकालको ट्रिपरको ठक्करबाट मृत्यु भएपछि विराटचोक– विराटनगर सडकखण्डमा ट्रिपर कुदाउन निषेध गरिएको छ । सोही निर्णयको विरुद्धमा उनीहरू आन्दोलित हुने भएका हुन् । आफूहरूसँग कुनै समन्वय नगरी निर्णय भएको र आफूहरू त्यसको विरुद्धमा रहेको उनले बताए ।

सडकमा सबै मान्छेहरु निर्बाध रूपमा हिँड्न पाउनुपर्ने माग सरकारसँग रहेको व्यवसायीको अडान छ । सडकमा निर्बाध तरिकाबाट हिँड्न नपाइने हो भने हामीले किन त्यत्रो लगानी गर्नु भन्दै सम्मेलनमा सहभागी व्यवसायीले बताएका थिए ।

ट्राफिक प्रहरी भन्छ निषेधित समयमा चलाए कारवाही हुन्छ

यता प्रदेश एक ट्राफिक प्रमुख रवि पौडेलले भने सरकारले निषेध गरेको समयमा ट्रिपर चलाए कानुनबमोजिम कारवाही हुने बताएका छन् । ‘व्यवसायीले आफ्नो तरिकाले जानकारी दिनुभयो होला तर उहाँहरू पनि कानुनभन्दा माथि हुनुहँुदैन’, पौडेलले भने, ‘सडक सबैको हो । त्यसैले दुर्घटनालाई न्यूनीकरण गर्न कानुन बमोजिम व्यवस्थापन गर्नको लागि समय निर्धारण गरिएको हो ।’

‘सरकारले जिम्मा लियोस, ट्रिपर बन्द गर्छौँ’
व्यवसायीहरूले ट्रिपरको जिम्मा सरकारले नै लिनुपर्ने बताएका थिए । सरकारले सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने या ट्रिपर नै जिम्मा लिनुपर्ने माग आफूहरूको भएको व्यसायीले बताए । ‘ट्रिपरको सुरक्षा छैन । चलाएर पनि के गर्नु ? सरकारले सुरक्षाको प्रत्याभूति नै गराउन सकेको छैन’, एक व्यवसायीले भने ।

सुरक्षाको विषय मात्र होइन ट्रिपरलाई प्रशासनले पनि सौताको व्यवहार गरेको भन्दै त्यसको जिम्मा सरकारले नै लिनुपर्ने उनीहरूले बताए ।

एउटाले गल्ती गर्याे भन्दैमा सम्पूर्ण ट्रिपरमाथि जाइलाग्नु गलत भएको उनीहरूले बताए । पत्रकार सम्मेलनमा बोल्दै पूर्वाञ्चल ट्रिपर व्यवसायी सङ्घका अध्यक्ष गोपाल कार्कीले आगामी तीन दिन ट्रिफर ग्यारेजमा थन्क्याइने तथा विराटचोकदेखि विराटनगरको रोडशेष चोकसम्म ट्रिफर ¥याली निकालिने बताएका छन् ।

पैसा बाँड्नु, अनि लिनु दुवै गलतः महासङ्घ अध्यक्ष

पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले पैसा बाँड्ने काम र लिने काम दुवै गलत भएको बताएका छन् । प्रदेश पोर्टल सँग बोल्दै खड्काले समाचारीय प्रभाव पार्ने गरी पैसा लिने र दिने दुवै दोषी रहेको उनले बताए । पैसा लिने काम पत्रकारिताको आचारसंहिताभन्दा बाहिर भएकाले पैसा लिने विषयमा पत्रकारले स्वयम् जान्नुपर्ने विषय भएको उनले बताए ।