इटहरीः माघ १४ गते विराटचोकमा भएको ट्रिपर आगजनी सर्वत्र चर्चाको विषय बन्यो । ट्रिपरको ठक्करले ज्यान गुमाएकी लक्ष्मी ढकालको दृश्यले सबैलाई भावविह्वल बनायो ।
उता, रोकिराखेको ट्रिपरमाथि पनि स्थानीयको भीडल अगजनी ग¥यो । जसले गर्दा व्यवसायी चिन्तित बने । बिहानको समयमा ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट लक्ष्मीको मृत्यु भएको थियो ।
लक्ष्मीलाई ठक्कर दिएर सो ट्रिपर घटनास्थलबाट लगभग १ किलोमिटर दक्षिणमा पर्ने बेलेपुरमा पुगेर रुखमा ठोक्किन पुग्यो । चालक र सहचालक त्यहीँबाट फरार भए । प्रत्यक्षदर्शी भन्छन्, ‘ट्रिपर ठोक्किएपछि चोर–चोर भन्दै चालक कुलेलम ठोक्यो ।’
आक्रोशित स्थानीयले उक्त ट्रिपरमाथि ढुङ्गामुढा प्रहार गरे । आगोसमेत लगाइएको ट्रिपर कामै नलाग्ने अवस्थामा सडकमै छ । उक्त ट्रिपर व्यवसायी गोपाल साहको हो ।
घटनालगत्तै माहोल थप अशान्त बन्न थाल्यो । जसको मुख्य कारक बने सुन्दरहरँैचा– १० खोर्सानेका ताराबहादुर श्रेष्ठ । उनी पनि ट्रिपर मालिक भएकाले ट्रिपरको पक्षबाट वकालत गर्न थाले ।
एक जना स्थानीयका अनुसार शुरुदेखि नै उनी यो सामान्य घटना हो भन्दै कराउँदै भीडमा प्रवेश गरिरहेका थिए । यस्ता घटना भइरहने हुँदा त्यसलाई सामान्य रूपमा लिनुपर्ने भन्दै उनि चर्किंदै थिए ।
प्रत्यक्षदर्शी कोपिला बिकका अनुसार उनी लक्ष्मीको मृत शरीर चलाउँदै ‘ह्या यो त समस्यै होइन नि’ भनिरहेका थिए । भीडले उनीमाथि आक्रमण गर्न थालिसकेको थियो । भीडमा केही स्थानीय आगो लगाउने काम नगरौँ भनिरहेका थिए । श्रेष्ठचाहिँ ‘सय वटा छन् दुई÷चार वटा जलाउँदा के हुन्छ र ?’ भन्दै कराइरहेका थिए । बाटो खाली गर्नुप¥यो भनिरहेका थिए ।
स्थानीय सुजन दाहालका अनुसार ‘एउटा मर्दा ५ लाख हो, के भयो र १० लाख दिउँला नि’ भन्दै भीडमा बाझ्दै थिए श्रेष्ठ । त्यत्तिकैमा उनीमाथि आक्रमण शुरु भयो । सयौँको भीडले उनलाई आक्रमण ग¥यो । प्रहरीले उनलाई बचाउन भरपुर कोशिस ग¥यो । लक्ष्मी बस्ने घरको सटरमा लगेर श्रेष्ठलाई थुनियो । आक्रोशित भीडले नजिकैको परालको कुन्युँबाट पराल ल्याएर ट्रिपरमा आगो लगायो । शुरुमा लक्ष्मीको शव नजिकैको ट्रिपरमाथि अगजनी भयो । त्यसभन्दा अगाडि नै लक्ष्मीलाई ठक्कर दिने ट्रिपर ध्वस्त बनिसकेको थियो ।
बाटोमा देखिएका सबै ट्रिपर माथि हमला शुरु भयो । थन्किएर बसेका ट्रिपरमा पनि आगजनी भयो । उता, श्रेष्ठमाथ हातपात भइरहेको थियो । बाहिरको एउटा हुल उनको विरुद्धमा नारा लगाउँदै थियो । प्रहरीलाई भीड नियन्त्रण गर्न समस्या परिरहेको थियो । नभन्दै एक प्रहरी जवानले आफ्नो बर्दी श्रेष्ठलाई लगाइदिएर बाहिर निकाले अनि उपचारको लागि अस्पताल पु¥याए ।
स्थानीय सारथी चापागाईं धनको र बलको तुजुक देखाएका कारण समस्या सिर्जना भएको बताउँछन् । ‘मानवीय संवेदनाको त्यो घडीमा उत्तेजित अभिव्यक्ति दिनु गलत भयो,’ उनले भने ।
ट्रिपर जलाइएको बारेमा माघ १५ गते पूर्वाञ्चल ट्रिपर व्यसायी सङ्घले एक विज्ञप्ति नै जारी ग¥यो । ट्रिपरको सुरक्षा हुनुपर्ने, आगजनी भएका ट्रिपरले क्षतिपूर्ति पाउनुपर्ने लगायत ११ वटा माग उनीहरूले राखेका छन् । ३ करोडको नोक्सानी भएको, प्रशासन मौन भएको भन्दै दोषी सरकार भएको हुनाले सरकारले क्षतिपूर्ति दिनुपर्ने व्यवसायीको अडान छ ।
विराटनगरमा प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका व्यवसायीले भनेका छन्, ‘क्षतिपूर्तिसहित ट्रिपर जलाउनेलाई कारवाही होस् ।’ उनीहरूले सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीसमक्ष सुरक्षाको प्रत्याभूतिका लागि भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उता कुटाइ खाने ताराबहादुर श्रेष्ठ भने आफ्नो केही गल्ती नभएको बताउँछन् । उत्तेजित भीड आफूमाथि अनाहकमा जाइलागेको उनको भनाइ छ ।