झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् ।

सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको भन्दै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन नआउने बताएका हुन् ।

‘सरकारले चौतर्फी तीव्र गतिले काम गरेको छ,’ उनले भने, ‘त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।’ झापाको दमक नगरपालिकाको आयोजनामा शुरु भएको ५ दिने प्रदेशस्तरीय बृहत् बाल महोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने उल्लेख गरे ।

देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको बताए । उनले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राखे ।

‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको उनको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको उनले बताए ।

बाल महोत्सवले बालबालिकाभित्र लुकेका प्रतिभालाई उजागर गर्ने उनले बताए । यस्ता महोत्सव आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएको उनले बताए ।

नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत उनले विमोचन गरे । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान् लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उद्घाटनमा नगरउपप्रमुख तथा बालमहोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बालमहोत्सवले बालमैत्री नगर बनाउन यसले सघाउ पु¥याउने उल्लेख गरे ।

महोत्सवको उद्घाटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनामन्त्री रघुवीर महासेठ तथा प्रदेशका मन्त्रीको उपस्थिति थियो । महोत्सवमा स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

दमक–९ स्थित हिमालय माध्यमिक विद्यालयमा शुरु भएको उक्त महोत्सवमा बालबालिकाको प्रतिभा उजागर गर्ने प्रतिष्पर्धा गरिने बताए । नृत्य, निबन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रतियोगितालगायतका एक दर्जन बढी विभिन्न विधामा १ हजार बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने बताएको छ ।

दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महोत्सवभर स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहने जनाइएको छ । करीब एक लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।