धनकुटाः एक पटक निर्माण गरेको कुलो भत्किएपछि पुन मर्मतको लागि सरकारले खासै चासो नदिँदा कतिपय कुला सञ्चालन हुन सकेका छैनन् ।
यसैलाई मध्यनजर गदै सिँचाइ डिभिजन कार्यालय धनकुटाले शुरु गरेको कुले कुखुरो अभियान प्रभावकारी बन्दै गएको छ । सरकारी लगानीमा निर्माण गरेपछि पुनः मर्मत गर्न सरकारकै भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्न सिँचाइ डिभिजन कार्यालय सो धनकुटाले सो अभियान सञ्चालन गरेको जनाएको छ ।
बाढी पहिरो लगायत विभिन्न कारणले कुलो भत्किन सक्छ । लाखौँ लगानी गरेर निर्माण गरेको कुलोमा यसरी क्षति पुगेपछि उपभोक्तालाई समस्या पर्ने गरेको छ । आर्थिक समस्याले गर्दा कुलो मर्मत सम्भार गर्न समस्या देखा पर्ने गरेको छ । यही समस्यालाई चिर्नका लागि सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाले एउटा रचनात्मक योजना ल्याएको छ, त्यो हो कुले कुखुरो ।
यो योजना अन्तर्गत सिँचाइ सुविधा लिने उपभोक्ताले कुलोको मर्मत सम्भार गर्न खर्चको जोहो गर्नका लागि प्रति परिवार एउटा कुखुरो पाल्नुपर्ने हुन्छ । सिँचाई उपभोक्ता समितिमा भएको रकमबाट उपभोक्ताका लागि चल्ला किनिदिने व्यवस्थासमेत गरिएको छ । चल्ला १ वर्षसम्म पालेपछि समितिलाई कुखुरा फिर्ता गर्नुपर्ने नियम छ । कुले कुखुरा पहिचान गर्न खुट्टामा रातो फित्ता बाँध्ने गरिएको छ । यदि कुखुरा हराएमा, स्यालले लगिदिएमा वा मरेमा उपभोक्ताले जरिवानास्वरूप ठूलो कुखुराको मूल्य बराबरको रकम तिर्नुपर्ने हुन्छ । यसरी कुले कुखुरोबाट एकै वर्षमा समूहमा सदस्यको सङ्ख्याअनुसार ५० हजारदेखि २ लाख रुपैयाँसम्म जम्मा हुन्छ ।
यो अभियानका कारण सानोसानो मर्मतसम्भार गर्न पनि सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको यो अभियानका परिकल्पनाकार तथा नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाका प्रमुख देवराज निरौला बताउँछन् ।
‘थोरै पैसाकै कारण वर्षाैं अघिबाट सिँचाइ गरिरहेको कुलो भत्किँदा सिँचाइ बन्द हुने अवस्थामा पुग्छ । तर यो अभियानले १÷२ लाख रुपैयाँसम्म खर्च गर्दा बन्ने कुलो मर्मत गर्न सरकारको मुख ताक्नु पर्दैन’, उनी भन्छन् ।
अभियान शुरु भएपछि कार्यालयमा कुलो मर्मतको लागि धाउने उपभोक्ता समिति घटेको डिभिजन सिँचाइ कार्यालय धनकुटाका सिनियर एसोसिएट अर्गनाइजर बुद्धि लिम्बू बताउँछन् । यो अभियान सञ्चालन भएको ठाउँबाट सानोतिनो मर्मतको लागि माग नै आउन छाडेको लिम्बूले बताए ।
४ वर्ष अघिबाट शुरु गरिएको यो अभियान धनकुटा जिल्लामा करिब १५ वटा उपभोक्ता समूहमा सञ्चालित छ । यस योजनाले उपभोक्ता समूहलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुगेको छ । जसले गर्दा किसानले जुनसुकै समस्या पर्दा जहिले पनि सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
कुले कुखुरो योजनाबाट कुलोको सामान्य मर्मत सम्भार गर्न कसैको भर पर्नु नपर्ने जनता महालक्ष्मी जल उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर अधिकारी बताउँछन् ।
सिँचाइ आयोजना सञ्चालनमा आएपछि कुलोको मर्मत सम्भार गर्न आइपर्ने आर्थिक सङ्कटलाई सुल्झाउन शुरु गरिएको कुले कुखुरो अभियान देशकै नमुना र सिर्जनशील कार्य बनेको छ । यो अभियान धनकुटामा सफल भएसँगै अहिले तेह्रथुम र दोलखा जिल्लामा समेत शुरु भएको बताइएको छ ।