झापाः पछिल्लो समय पूर्वी नाकाबाट ब्राउन सुगरको धन्दा निकै फस्टाउन थालेको छ । पहिले लुकीछिपी कारोबारीले धन्दा चलाइरहेका थिए । तर, प्रहरीले निगरानी बढाएपछि यतिखेर कारोबारीले फरक किसिमले ब्राउन सुगर बोक्न थालेका छन् ।
चालु आर्थिक वर्ष २०७५÷०७६ को माघ दोस्रो सातासम्ममा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा विभिन्न प्रकृतिका ९३ वटा मुद्दा दर्ता भएका छन् । त्यसको झण्डै ५० प्रतिशत मुद्दा लागूऔषधसम्बन्धी छन् । कुल ३४ वटा लागूऔषधका मुद्दा दर्ता हुँदा ५१ पुरुष र ४ महिला गरी ५५ जना पक्राउ परेका छन् । त्यसमा संलग्न ५ जना पुरुष फरार रहेका छन् । सो अवधिमा ९१ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
१२ माघमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाले २ ग्राम ब्राउनसुगरसहित झापाको मेचीनगर–१० धुलाबारीबाट २१ वर्षीय छोटु सहनीलाई पक्राउ गरेको थियो । ३ दिनपछि १५ माघमा ब्युरोले ७ ग्राम ब्राउनसुगरसहित दमक–१० का २१ वर्षीय विमलकुमार कामतलाई काँकरभिट्टाबाट प्रहरीले पक्राउ ग¥यो । यो घटनाले पनि काँकरभिट्टा नाकाबाट ब्राउन सुगरको धन्दा फस्टाउन थालेको प्रष्ट हुने प्रहरीको भनाइ छ ।
इञ्जेक्सनसहित अन्य लागूपदार्थ आसारपासर गर्दा धेैरै कुराले असहज हुने र ब्राउन सुगर सहज रूपमा भित्र्याउन सकिने भएकाले यतिखेर ब्राउन सुगर कारोबारीको रोजाइमा परेको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक किशोर श्रेष्ठ बताउँछन् ।
उनका अनुसार सहनीले लगाएको ज्याकेटको दाहिने गोजीमा ब्राउन सुगरका ३ वटा पोका फेला परेको थियो । कामतले लगाएको पाइन्टको पेटी घरमा ८ वटा ब्राउन सुगरका पोका प्रहरीले फेला पारेको थियो । ब्युरोका अनुसार ३ सय मिलिग्राम ब्राउन सुगर कसैले बोकेमा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को माघ दोस्रो सातासम्ममा डाइजिपाम, फेनारगन र लुपिजेसिजक १ सय ९८ सेट बरामद भएको छ । नाइट्रोजन ट्याब्लेट १ सय ९ चक्की, गाँजा २३ ग्राम, चरेश १ केजी ५ सय ग्राम प्रहरीले पक्राउ गरेको छ ।
यतिखेर लागूऔषधमा संलग्न कारोबारीहरूले महिला र बालबालिकालाई समेत प्रयोग गर्न थालेका छन् । केही समयअघि दमक–१४ बस्ने २५ वर्षीया अस्मिता भन्ने कोपिला तामाङलाई करिब ४ लाख रुपैयाँ मूल्यबराबरको ४ केजी चरेशसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मुख्य ढोकाबाटै प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घटना सेलाउन नपाउँदै दमक–९ बस्ने २० वर्षीया रुपा पाण्डे १५ ग्राम ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेपछि यसमा संलग्न कारोबारीहरूले पछिल्लो समय महिलालाई प्रयोग गर्ने गरेको रहस्य खुलेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापा बताउँछन् । महिला बालबालिका लाागूऔषध प्रयोगकर्ता अहिले बढी प्रयोग भइरहेको थापाले बताए । उनका अनुसार ब्राउन सुगरको माग निकै बढेकाले पनि कारोबारीले अरु धन्दा छाडेर यसमा लागेका छन् ।
कारोबारीमा महिलाको सङ्ख्या बढ्दै
पुरुषहरू प्रहरीको बढी निगरानीमा पर्ने र महिला तथा बालबालिकालाई धेरै चेक नगर्ने सोचका कारण कारोबारीले महिला तथा बालबालिकालाई प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । मोरङको पथरी शनिश्चरे–१ का ११ वर्षीय करण दास ५१ एम्पुल इञ्जेक्सनसहित काँकरभिट्टामा पक्राउ परे । उनलाई प्रयोग गरेका थिए सोही ठाउँका एक व्यक्तिले । दाहिने खुट्टामा बाँधेर लागूऔषध ल्याउँदै गर्दा उनी पक्राउ परेका थिए । २ सय रुपैयाँ दिने शर्तमा उनलाई कारोबारीले प्रयोग गरेको प्रहरीले बताएको छ ।
खुला सिमाना नै लागूऔषध ओसार पसार नियन्त्रणमा प्रहरीको मुख्य चुनौती बनेको श्रेष्ठको भनाइ छ । लागूपदार्थ ओसारपसार र बेचबिखन रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफैँ जागरुक हुनुपर्ने एक प्रहरी अनुसन्धान अधिकृत बताउँछन् ।