धरान/ भारतको जोगबनीदेखि किमाथाङ्का सम्मको बहुुप्रतिक्षित सडकखण्डको निर्माण जारी छ ।
पूर्वका विभिन्न शहर छुँदै जाने उक्त राजमार्गलाई धरानको मुुख्य बजारबाट बाइपास गर्ने या नगर्ने भन्ने बहस जारी छ । कोशी राजमार्ग अन्तर्गतको सडक ३० फिटको मात्र रहेकाले सडकलाई बिस्तार गर्दा धरान बजारभित्रका घरहरू पर्ने भएकाले कहाँबाट सडक बिस्तार गर्ने भन्ने विवादले धरान–तरहराको १४ किमी सडकको ठेक्का लाग्न सकेको छैन ।
सडक मिचेर घर बनाइका व्यापारीहरूलाई संरक्षण गर्न केही राजनीतिक दलका नेताहरूले धरानलाई बाइपास गरेर सडक बनाउने अवधारणासमेत अघि सारेको पाइन्छ । तर मुख्य बजारलाई बाइपास गर्दा धरान शून्य हुने चिन्ता धेरैको छ ।
धरानका पर्यटन व्यवसायी वासुदेव बराल जोगबनी–किमाथाङ्का सडक बाइपास गरेर लान नहुने तर्क राख्छन् । धनकुटाको उदाहरण दिँदै उनी भन्छन्, ‘बाइपास सडक भएपछि कोही पनि धरानमा अडिँदैनन् ।’ पर्यटकीय हिसाबमा धरान ओझेलमा पर्ने उनको तर्क छ । ठूला शहरमा बाइपास सडक हँुदा ती शहरहरू ओझेलमा परेको उनको भनाइ छ ।
प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पनि धरानको एक कार्यक्रममा ६ लेनको बाटो बजारबाटै लगिने बताएका छन् । लामो सयम धरान बसोबास गरेका मन्त्री कार्कीले बाइपास सडक बनाए धरानलाई ठूलो घाटा हुने भन्दै प्रदेश सरकारको चाहना मुख्य बजारबाटै सडक बन्नुपर्ने रहेको बताएका हुन् ।
‘धरानको बाटो कताबाट लाने भनेर विवाद नगराँै,’ मन्त्री कार्कीले भने, ‘धरानको उन्नति र विकासका लागि बीचबाटै बाटो राम्रो हुन्छ ।’ धरानलाई ओझेलमा पार्ने काम कसैले गर्न नहुने उनको भनाइ थियो ।
धरान बजारक्षेत्र करिब ६ किमी पर्छ । धरानको बरगाछीदेखि धरानको शिरानमा रहेको पेट्रोल पम्पसम्म करिब साढे ४ किमी बजारमा ३० फिट मात्र छाडेर घर बनेका छन् । धरानमा कहाँबाट सडक बिस्तार गर्ने भन्ने टुङ्गो लागेसँगै तराहरा–धरानको सडक निर्माणका लागि ठेक्का लाग्ने रानी–धरान सडक आयोजनाका इन्जिनियर सुमोद पोखरेलले बताए ।
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा परेको कोशी करिडोर रानी–धनकुटा–किमाथाङ्का सडक निर्माणको काम अन्तर्गत धरानसम्मको सडकको ठेक्का अवधि २०७६ सम्म रहेको छ ।
विराटनगरदेखि तरहरासम्म सो सडकको बिस्तार गर्ने काम भइरहेको छ । करिब १० किमी कालोपत्रेसमेत भइसकेको छ । अन्य स्थानमा बिजुलीको पोल, र रुख हटाउन आन्तरिक समस्या भएका कारण ढिलाइ भइरहेको आयोजनाले जनाएको छ ।