ताप्लेजुङः  मुलुक सङ्घीयतामा गएपछि नागरिकलाई घरदैलोमा नै सेवा दिन भनेर गठित स्थानीय सरकार १ वर्ष अघिदेखि क्रियाशील छ । तर, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलावासी त्यही घरदैलोको सरकार भेट्न एक दिन हिँड्न बाध्य छन् ।

तोक्पेगोला तिब्बतसँग सीमा जोडिएको ४ हजार १ सय मिटर उचाइमा रहेको हिमाली बस्ती हो । यहाँ सीमान्तकृत समूहमा सूचीकृत तोक्पेगोला जातिको बसोबास छ । यहाँका २३ परिवार सबैले आफ्ना छोराछोरी पढाउन बाहिर पठाएका छन् । तोक्पेगोलाबाट मुस्किलले एक दिनमा पुगिने पापुङमा वडा कार्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी छन् । कोही मानिस बिरामी परे हेलिकोप्टर चार्टर गर्नुपर्छ ।

तोक्पेगोला सोदुपोखरीसहित सयौं पोखरी, ताल, झरना र असङ्ख्य जडिबुटी रहेको क्षेत्र हो । अत्यन्तै चित्ताकर्षक र मनमोहक लेकाली तथा उच्च हिमाली फाँट र खर्क यहाँ छन् । नेपाली नागरिक भए पनि तोप्केगोलावासीले अधिकांश सामग्री तिब्बतको प्रयोग गर्छन् ।

तिब्बतियनहरूसँग उनीहरूको राम्रो व्यापारिक सम्बन्ध रहेको छ । गाउँ र जातिको नाम एउटै रहेका उनीहरूको मुख्य पेशा भने पशुपालन हो । पुस र माघमा बढी चिसो हुने हुँदा गाउँमा कोही पनि बस्दैनन् । याकगोठसहित जाडो छल्नका लागि उनीहरू औलतर्पm झर्छन् । बिजुली भए बाह्रै महिना बस्न सकिने गोलावासीको भनाइ छ । स्वास्थ्य र शिक्षाका लागि नै धेरै धन खर्च गर्नुपर्ने बाध्यता रहेको स्थानीय मिलन शेर्पाले बताए ।

mid  page add.PNG 1

यता, तोक्पेगोला क्षेत्रको विकासका लागि भने आफू गम्भीर रहेको वडाध्यक्ष डण्डु लामाले बताएका छन् । मिक्वाखोला गाउँपालिकाको ९० प्रतिशत भूभाग ओगट्ने सिङ्गो वडा नै सडक सञ्जालमा जोडिएको छैन । गाउँपालिकाले यसअघि नै यस क्षेत्रलाई तोक्पेगोला स्वायत्त क्षेत्र र जडिबुटी क्षेत्र घोषणा गरेको छ । अब गुरुयोजना बनाएरै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गाउँपालिकाका प्रवक्ता दीपेन्द्र लिवाङको भनाइ छ ।