तस्बिरः होटल गजुर प्यालेस

धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री (गृहमन्त्री) हिक्मत कार्कीले धरानमा ६ लेन सडक बाइपास भए धरान कमजोर हुने बताएका छन् । शुक्रबार बिहान धरानमा खुलेको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटनपछिको औपचारिक समारोहमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

धरानमा मुख्य बजारबाटै ६ लेन सडक लाने कि बाइपास गरेर लाने भन्ने बहस भइरहेको बेला प्रदेश १ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

‘अहिले विराटनगर–धरान ६ लेन सडक जङ्गलसम्म मात्रै आउने देखिएको छ’, मन्त्री कार्कीले भने, ‘बाइपास बनाउनुभयो भने धरान कमजोर बन्छ ।’ धरानको मुख्य सडक साँघुरो भएको र किमाथाङ्का–जोगबनी सडकसमेत ६ लेन बन्न सक्ने बताउँदै मन्त्री कार्कीले धरानको बजारबाटै वा बाइपास सडक कसरी लाने भन्ने धरानले निर्णय गर्नुपर्ने बताए ।

किमाथाङ्का– जोगबनी सडक खण्ड बन्दै गरेको र धरानदेखि विराटनगरसम्म मोनोरेलको सम्भाव्यता अध्ययनसमेत भएको बताउँदै मन्त्री कार्कीले धरान ट्रान्जिट होइन गन्तव्य शहर बन्नुपर्ने बताए ।

उनले भने, ‘अहिले नै धरानवासीले इन्टिग्रेटेड काम नगरे धरान ट्रान्जिट सिटी हुने देखेको छु ।’ आफूलाई कतै धरान ट्रान्जिट शहर मात्रै हुने हो कि भन्ने चिन्ता रहेको मन्त्री कार्कीले बताए ।

हस्पिटल, मेडिकल कलेज, धार्मिक तथा प्राकृतिक सम्पदा भएको र पहाड तथा तराई जोड्ने स्थान धरान भएकाले धरानको धेरै सम्भावना भएको मन्त्री कार्कीले बताए । यही महत्वको कारणले धरानमा नै प्रदेश सरकारले पर्यटन कार्यालय राख्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताए ।

आफूले धरानको सर्वपक्षीय विकासको लागि कार्यवाहक मेयर मञ्जु भण्डारीसँगसमेत कुरा गरेको बताउँदै मन्त्री कार्कीले धरान ट्रान्जिट शहर मात्रै बन्न नहुने दोहो¥याए । उनले भने, ‘मान्छे गाडीमा आउने मात्रै नहोस् धरान । यसको लागि धरानवासीले सोच्नुपर्छ ।’

drn

किन चर्चामा छ धरानमा बाइपास सडक ?

अहिले धरानको मध्य बजार क्षेत्रमा सडक साँघुरो छ । कोशी राजमार्गको मापदण्डअनुसार सडकको चौडाइ २५ मिटर हुन्छ । तर, धरानमा भने १५ मिटर मात्रै सडक चौडाइ छ । खासगरी, चारकोशे झाडी क्षेत्र टुङ्गिएर आउने धरान–८ तीनकुनेदेखि धरानको सिरान धरान–१ मा रहेको जिरो प्वाइन्टसम्मै यस्तो समस्या छ ।

यी क्षेत्रमा रहेका घरजग्गावालाहरूले ६ लेन सडक बने आफूलाई असर पर्ने भन्दै विरोध गर्दै आएका छन् । अत्यधिक घरवालाको विरोध र उनीहरूको प्रभावका कारण राष्ट्रिय योजना आयोगले समेत यसको विकल्पमा सेउती खोला किनारैकिनार सडक बनाउन सकिने प्रस्ताव गरेको छ । पछिल्लो चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा दिएको चुनावी भाषणमा बाइपास सडकको कुरा गरेका थिए ।

बाइपास सडकको प्रस्ताव सडक क्षेत्रमा घर भएका र राष्ट्रिय योजना आयोगले गरे पनि सेउती किनारमा बसेका भूमिहीनहरूले भने यो कुराको विरोध गर्दै आएका छन् । अइन्द्रबिक्रम बेघाको नेतृत्वको बाइपास सडक सर्भे हुँदा समिति नै बनाएर विरोधका कार्यक्रम भएका थिए । धनाढ्यहरूको पक्षमा लागेर उनीहरूको सडक क्षेत्रका घरजग्गा जोगाउन भूमिहीन सुकुम्बासीको बस्ती उठाउने काम भएको भन्दै बाइपास सडकको विरोध पनि चर्को रूपमा भइरहेको छ ।