धरान/ सरोकारवाला निकायहरू गम्भीर नहुँदा धरानमा बग्रेल्ती भित्रिएका टेम्पो अहिले ट्राफिक व्यवस्थापनमा टाउको दुखाइ बनेका छन् । टेम्पोको अव्यवस्थापन ट्राफिक प्रहरीको लागि मात्र होइन, स्वयम् टेम्पो चालकहरूको लागि पनि चिन्ताको विषय भएको छ ।
सडक क्षमता र आवश्यकताको आँकलन नगरी यातायात कार्यालयमा दर्ता हुने र धरान भित्रिने भएकाले धरानको सडकमा अहिले टेम्पोको चाप अत्यधिक छ । स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले पनि यसको व्यवस्थापनप्रति चासो नदिँदा यस्तो अवस्था आएको हो । टेम्पोका पुराना संस्था र नयाँ भित्रिएका टेम्पोका सङ्गठनहरूबीचमा रुट र पार्किङ स्टेण्डको विषयले दिनहुँजसो विवाद र झगडा हुन थालेको छ । टेम्पो चालक तथा टेम्पो संघ पनि सडक क्षमताभन्दा अत्यधिक रूपमा टेम्पो दर्ता र सञ्चालन हुँदा समस्या निम्तिएको भन्दै चिन्ता व्यक्त गर्छन् ।
पछिल्लो समय धरान–१७ रेल्वेमा एकता यातायात र धरान टेम्पो व्यावसायी समितिबीचमा स्टेण्डको विषयमा चर्को विवाद भएको थियो । विवाद शुरु भएको ४ दिनपछि मात्र बुधबार इलाका प्रहरी कार्यालयमा सहमति भएको थियो ।
सरकारले यातायात क्षेत्रमा खुला प्रतिस्पर्धा लागु गरेपछि त झन् टेम्पोको सङ्ख्या नियन्त्रण बाहिर पुगेको छ । धरानभित्र अहिले २ हजार भन्दा बढी टेम्पो गुडिरहेका छन् । यो क्षमताभन्दा अधिक हो । टेम्पोको सङ्ख्या ह्वात्तै वृद्धि हुनुमा धरानका राजनीतिक दलका नेताहरू पनि जिम्मेवार छन् । नेताहरूकै लगानीमा सिटी सफारी भित्र्याउँदा कोटा निश्चित गरिएन । सफारीको कारणले नै ५ सयको हाराहारीमा भएका टेम्पो पनि बिनाअवरोध दर्ता भएर धरान भित्रिन थाले ।
‘सफारीकै कारणले टेम्पो भटाभट आउन थाल्योे, र यो समस्या आएको हो,’ चालक कुमार लिम्बूले भने । अहिले करिब दर्जन संस्थाहरूमार्फत् टेम्पो गुडिरहेका छन् । कोशी टेम्पो सिण्डिकेटका अध्यक्ष हिमाल श्रेष्ठ स्थानीय सरकारले सङ्ख्या बढाएर कर असुल्न मात्र ध्यान दिएकोमा असन्तुष्टि जनाउँदै व्यवस्थापनको आवाज उठाइरहँदा वास्ता नगरेको आरोप लगाउँछन् ।
‘टेम्पो दर्ता गरेर आएको आएकै छ, त्यसको व्यवस्थापन कसरी गर्ने भनेर कसैले सोचेनन् । अवस्था अस्तव्यस्त छ,’ उनले भने ।
जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रमुख होमराज दाहालका अनुसार टेम्पोको असीमित आयात र सञ्चालनले सवारी चाप, ट्राफिक अव्यवस्थापन मात्र नभई अन्य समस्या पनि छन् । अधिकांश टेम्पो चालकसँग लाइसेन्ससमेत छैन । उनका अनुसार धरानमा गुडिरहेका २ हजार हाराहारी टेम्पोमध्ये डेढ सय टेम्पोका चालकको मात्रै लाइसेन्स छ । समस्या विकराल छ । पार्किङ छैन, सडकमा सवारीको चाप अचाक्ली छ’, दाहालले भने, ‘यो समस्याको व्यवस्थापन गर्न सरकारले अहिल्यै ध्यान नदिए झनै विकराल बन्छ ।’
एकता यातायात र धरान टेम्पो समितिबीचको वार्ता सहमतिमा टुङ्ग्याउन महत्वपूर्ण भूमिका खेलेका वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले रेल्वे चोक र एन्फा मार्गमा अलगअलग पार्किङ स्टेण्ड राख्ने सहमति गरिएको जानकारी दिए । तत्कालको लागि समस्या समाधान गरिए पनि दीर्घकालीन समाधानको पहल नगरिए धरानको यातायात र व्यवस्थापन जटिल हुँदै जाने उनले बताए ।
‘स्थानीय सरकारले नै दीर्घकालीन व्यावस्थापन गर्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘सबै टेम्पोको एउटा छाता संगठन बनाउनुपर्छ । त्यसपछि, ती टेम्पोलाई डायल प्रणालीमा रुट निर्धारण गरे समस्या हुँदैन ।’
धरान उपमहारपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले टेम्पो व्यवस्थापन चुनौतीपूर्ण भए पनि कसरी व्यवस्थापन गर्ने भनेर आफूहरू गम्भीर रहेको बताइन् ।