खाँदवारीः सङ्खुवासभामा निर्माणधिन अवस्थामा रहेको बहुप्रतीक्षित आयोजना अरुण तेस्रो जलविद्युत आयोजनालाई लक्षित गरी पटक– पटक आगजनी तथा विस्फोटका घटना भईरहेका छन । तर पछिल्ला घटनाहरूलाई भने स्थानीयले शङ्कास्पद रूपमा लिन थालेका छन ।

अरुण तेस्रो जलविद्युत आयोजनालाई लक्षित गरी वि.सं. २०७२ साल मङ्सिर २३ गते पहिलो पटक पुखुवास्थित पावर हाउस निर्माणस्थलको भवनमा आगजनी भयो । त्यस घटनाका जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लियो । त्यस्तै, गत माघ २७ गते पनि सोही स्थानमा बम विस्फोट भयो । त्यस घटनाको हालसम्म कसैले पनि जिम्मा लिएको छैन । त्यस्तै २०७५ सालको वैशाख १५ गते पनि तुम्लिङटारस्थित अरुण तेस्रोको कार्यालयमा बम विस्फोट भयो । कार्यालयको कम्पाउन्ड वालमासमेत केही क्षति भयो । यो घटनाका पनि कसैले जिम्मा लिएको छैन । यही माघ २४ गते पुखुवास्थित पावर हाउस निर्माणस्थलको आसपासमा बम विस्फोट भयो ।

केही निर्माण सामाग्रीमा क्षति पुग्यो । त्यो घटनाको पनि कसैले जिम्मा लिएको छैन । यो घटनामा अझ रोचक कुरा त, माघ २४ गते सो स्थानमा बम पड्कियो । तर आयोजना कम्पनीका सिइओ सतिश कुमार शर्मा २५ गते दिउँसोको समयमा मात्रै घटनास्थल पुगे । उनी त्यति बेला तुम्लिङटारस्थित कार्यालयमा नै थिए । यस्तै जिल्लाका सुरक्षा निकाय पनि २५ गते दिउँसो मात्रै सो घटना स्थलमा पुगे । जब बम विस्फोट भयो, त्यति नै बेला विभिन्न अनलाइनहरूमा समाचार प्रकाशित भयो ।

mid-page-add-from-magh-25 1

तर जिल्लाका पत्रकारलाई जानकारी गराइएन । २५ गते बिहानै स्थानीय पत्रकारको टोली मादी नगरपालिका प्रस्थान गर्दै थिए । तर विभिन्न अनलाइनहरूमा आएको समाचार हेरेर मात्रै आफूहरूले थाहा पाएको नेपाल पत्रकार महासङ्घ सङ्खुवासभामा अध्यक्ष इन्द्र गिरीले बताए । उनले भने, ‘अघिल्लो दिन रातीको घटना रहेछ, तर हामीलाई जानकारी गराइएन, हामीले अन्य अनलाइनहरू हेरेर मात्रै थाहा पायौँ’ गिरीले थपे, ‘थाहा पाउने बित्तिकै हामीले प्रमुख जिल््ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई सोधिखोजी र्गयौँ । तर उनीहरूको जवाफ थियो, हामी घटनास्थल जार्दैछौँ, पुगेपछि मात्रै जानकारी गराउँछौँ, अहिले हामीलाई विस्तृत जानकारी थाहा छैन ।’

राष्ट्रिय अनलाइनहरूमा भने जिल्ला प्रहरी कार्यालयलाई नै उदृत गरेर समाचार प्रकाशित भएका थिए । अध्यक्ष गिरीकाअनुसार स्थानीय पत्रकारहरूले समेत सो घटनालाई लिएर आशङ्का ब्यतm गरेका छन । जिल्लाका पत्रकारलाई थाहा नदिई अन्य अनलाइनहरूलाई जानकारी हुनुमा शङ्का भएको जिल्लाका पत्रकारहरूले आरोप लगाएका छन् ।
यता स्थानीयहरूले यो घटना सुनियोजित भएको आरोप लगाएका छन । नाम नबताउने सर्तमा मकालु गाउँपालिकाका एक स्थानीयले भने ‘यसरी पटक–पटक घटना हुनु, घटनाको जिम्मा कसैले नलिनुमा हामीलाई शङ्का लागेको छ, यो सबै भारतीय प्रहरी ल्याउने खेल हो ।’

त्यस्तै अर्का स्थानीयले भने– ‘सो ठाउँबाट भाग्ने ठाउँ कतै छैन, तलतिर अरुण नदी मात्रै छ भने माथितिर गाउँ छ ,बिस्फोटक पदार्थ पड्काएर भाग्न सजिलो छैन, अझ प्रहरीको बिट समेत त्यही ठाउँमा छ । यस्ता चुनौती देखाएर सतलज कम्पनीको आयोजना फेल गराउने रणनीति हो या, भारतीय प्रहरी हाम्रो ठाउँमा ल्याउने ।’

नेकपा जिल्ला एकता कार्यदलका सदस्य हेमराज घिमिरेले यो घटना नियोजित भएको भन्दै शङ्का ब्यतm गरे । घिमिरेले भने ‘प्रशासन तथा अरुण तेस्रो जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीहरूले जिल्लाका राजनीतिक दललाई जानकारी नगराउनु, घटना गोप्य राख्नु र कुनै पनि राजनीतिक तथा तथा अन्य पक्षले घटनाको जिम्मेवारी नलिनुमा यो नियोजित हो भन्ने मलाई लाग्छ ।’ यो कुनै राजनीतिक घटना नभएको समेत उनले दाबी गरे ।

नेपाली काँग्रेस जिल्ला सभापति दिपन कुमार श्रेष्ठले जुनसुकै हालतमा अरुण तेस्रो परियोजना सम्पन्न हुनुपर्ने भन्दै यस्ता घटनामा कसैले जिम्मा नलिनुमा भने अलि गम्भीर हुन जरुरी भएको बताए । उनले भने ‘यदि यस्ता घटना राजनीतिक रूपमा भएका छन भने ती राजनैतिक दलका असन्तुष्टिहरूलाई हल गरेर यो आयोजना सम्पन्न गर्नुपर्छ’ । उनले थपे ‘यो आयोजनालाई सम्पन्न भए मात्रै मुलुकमा लगानी भित्राउन सम्भव छ भन्ने सन्देश जाने भएकोले पनि यसलाई सफल बनाउन सबैले सहयोग गर्नु पर्छ ।’

पावर हाउस र बाँध निर्माण स्थल एकान्तमा हुनु र जिल्लामा सुरक्षाकर्मीको कमीका कारण अरुण तेस्रोले सुरक्षा चुनौती व्यहोर्नु परिरहेको सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्याम कुमार सारु मगरले बताए । ठुलो भौगोलिक क्षेत्र भएको सङ्खुवासभामा दरबन्दी अनुसार सुरक्षाकर्मी नभएकाले पनि पर्याप्त सुरक्षाकर्मी निर्माण स्थलमा खटाउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाउँदै आएको छ ।

अरुण तेस्रोको सुरक्षाका लागि मात्र पावर हाउस निर्माण स्थलमा १३ जना, ड्याम्म साइड निर्माण स्थलमा १५ जना र अरुण तेस्रोको कार्यालय तुम्लिङ्टार परिसरमा मात्रै १५ जना नेपाल प्रहरी परिचालित छन् । पावर हाउस, ड्याम्म साइड, तुम्लिङटार कार्यालयका लागि खटाइएको प्रहरी पर्याप्त नभएको मगरले बताए ।

लामो समयदेखि अरुण तेस्रोको पर्खाइमा बसेका स्थानीयले भने सुरक्षाको कारण देखाएर निर्माण अलपत्र पारिने हो कि भनेर चिन्ता व्यक्त गर्न थालेका छन । स्थानीयहरूले पटक– पटक आक्रमणजन्य घटना हुनुको अनुसन्धान हुनुपर्ने माग गरेका छन । उनीहरूले यस्ता घटना सुनियोजित भएको भन्दै सिआइविको टोली ल्याएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन । निर्धारित समयमा नै परियोजना सम्पन्न गर्नका लागि अहिलेबाटै सुरक्षा प्रबन्ध राम्रो बनाउनुपर्ने जिल्लावासी नागरिकहरूको माग छ ।