इटहरी/ गत शुक्रबार राति १० बजे तरुण दल सुुनसरीका सभापति सिजन गुरुङ पक्राउ परे । गुरुङ पक्राउ हुनुमा गुण्डागर्दी र हुलहुज्जत भएको प्रहरीको भनाइ छ । तर, सिजनलाई फसाइएको भन्दै आइतबारदेखि नेपाली कांग्रेसले सडक आन्दोलन तताएको छ ।

गुरुङ पक्राउको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेको नेपाली कांग्रेसले आफ्नै घोषणापत्रको विरुद्धमा गएर बुधबार सुनसरी बन्दको कार्यक्रम राखेको छ । सिजन गुरुङ पक्राउ पर्नु भनेको गुरुङको बढ्दो लोकप्रियतामा वामपन्थी जलेको हुनाले फसाएको आन्दोलनरत नेपाली कांग्रेसको भनाइ छ ।

उता, इटहरी प्रहरी भने पक्राउ परेको दिन गुरुङ समूहले आक्रमण गरेर चोटपटक लाएको मेडिकल रिपोर्ट र भिडियो प्रमाण रहेकाले सार्वजनिक अपराध भएको ठहरमा गरेर बसेको छ ।

जग्गा विवाददेखि कुटपिटसम्म
२०३६ सालदेखि नै इटहरी–२० तरहराको गोल्डेन चोकमा रहेको घडेरीको धनीपूर्जा रहेको तीर्थमाया गिरी बताउँछिन् । तर, २०६८ सालदेखि गुरुङले सो घडेरीमा टहरा बनाएर भाडा उठाएर खाँदै आएको गिरी बताउँछिन् । गुरुङ भने जग्गा आफ्नो नाममा नभएर अर्कैको नाममा भएको भन्दै पन्छिँदै आएका छन् । तर, गत शुक्रबार आफूले अमिन ल्याएर जग्गा नापजाँच गर्दा आफूहरूमाथि हातपात भएको तीर्थमाया बताउँछिन् । वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठ, प्रहरी हवल्दार राजन सुवेदीका साथै स्थानीय मणिराम गिरी, टीका वन, सिजन गुरुङ, उनकी श्रीमती तथा गिरी परिवार उपस्थित भएर जग्गा नाप जाँच गर्दा गुरुङ समूहले तीर्थमायाका छोरालाई आक्रमण ग¥यो । आक्रमणको भिडियो प्रहरी र परिवारसँग सुरक्षित छ ।

आफ्नो नामको जग्गा नभएको बताउने गुरुङ जग्गा नाप्दा आफँै आएको र उनकै आडमा उनको समूहले निलडाम बस्नेगरी कुटपिट गरेको पीडित गिरी परिवारको दुखेसो छ । उपमहानगरको न्यायिक समितिदेखि प्रहरी हुँदै प्रेससम्म न्यायको लागि कुदेकी गिरी भन्छिन्, ‘वडाध्यक्ष र प्रहरीकै अगाडि हामीलाई कुटपिट अनि गालीगलौज गर्दा पनि कोहीले केही भनेनन् ।’

आफ्नो जग्गा नभएको भन्ने तर जग्गाको नाम गर्दा अवरोध गरेर गुरुङले आफूहरूलाई पटकपटक दुःख दिएको गिरी बताउँछिन् । उनले गुरुङबाट असुरक्षित भएको भन्दै जिल्ला प्रशासन र प्रहरीकोमा पनि पटकपटक आग्रह गरेको कागजी प्रमाण रहेको बताइन् । पटकपटक अमिनहरू आएर नापजाँच गर्दा वडाध्यक्ष मणिराम श्रेष्ठले असहयोग गरेको पनि तीर्थकुमारीको आरोप छ ।

४ भोटले कांग्रेस हार्दा हामीलाई नै हप्काए ः पीडित गिरी
वडा नम्बर २० मा घडेरी भएकी तीर्थमायाको घर भने इटहरी–१९ को भवानीपुरमा छ । आफू २ हजार ७ सालदेखि नै कांग्रेस भए पनि हडपेको जग्गा दिलाएमा एमालेमा पनि भोट हाल्ने भनी आफ्नो छोराले भनेकै आधारमा आफूलाई वडाध्यक्ष मणिराम श्रेष्ठले दुःख दिएको गिरी बताउँछिन् । सुनसरी–२ का कांग्रेसका क्षेत्रीय सभापति श्रेष्ठले १९ वडामा ४ भोटले कांग्रेस हार्दा पनि श्रेष्ठले तनाव दिएको गिरी बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो वडामा ४ भोटले कांग्रेस हार्दा पनि हामीलाई नै हेपे । हामी ७ साल बाटै कांग्रेस भए पनि कांग्र्रेसबाटै हेपियौँ ।’

‘आफ्नो जग्गा पाएपछि आँशु रोकिन्छन्’
अमिनले नाप्दा पनि आफ्नै भएको देखाउने र पूर्जाको आधारमा पनि आफ्नो जग्गा गुरुङले हडपेको बताउने गिरी पछिल्लो समय धेरै वर्ष आफ्नो जग्गा पाउन कुदिन् । तर, कतैबाट सुनुवाइ नभएपछि उनी हारेकी थिइन् । कुटाइ खाएकै दिन पनि उनले कतै जाहेरी दिइनन् ।

प्रहरीकै आगडि कुटिएकाले गिरी परिवार घरमै रोएर बसेको थियो । भर्खरै इटहरीमा आएका नयाँ डिएसपी गस्तीको क्रममा भवानीपुर पुगेको अवस्थामा आफ्नो पीडा सुनाएपछि मात्रै प्रमाणका आधारमा गुरुङ पक्राउ परेको प्रहरीको भनाइ छ ।

अब तीर्थमाया भने आफ्नो हडपिएको जग्गा लिएपछि मात्रै आफ्ना पीडाका आँशु थामिने बताउँछिन् । भन्छिन्, ‘म अदालत जान पनि सक्दिनँ । ७० पुगेँ, मुद्दा लड्दा प्राणै जान्छ । अदालत जाने पैसा पनि छैन मसँग । मलाई मेरो जग्गा आए पुग्छ ।’