धनकुटाः धनकुटा नगरपालिका वडा नम्बर चार स्कुल डाँडाका कृषक राजकुमार तामाङ्ग यतिबेला सुन्तला खेती छोडेर एभोकाडो खेती तर्फ लागेका छन् । बाउबाजेले सुरु गरेको सुन्तला खेतीमा बिभिन्न समस्या देखिएपछि सुन्तला मास्दै एभोकाडो खेती तर्फ लागेका हुन् ।

पहिले पहिले बार्षिक पाँच लाख सम्मको सुन्तला बिक्री गर्ने तामाङ्ग अहिले बार्षिक सात लाख बराबरको एभोकाडो बिक्री गर्छन् । सुन्तला भने बार्षिक दुई लाख बराबरको मात्र बिक्री गर्छन् । बर्षेनी एभोकाडोको आम्दानी बढ्दो छ भने सुन्तलाको आम्दानी घट्दो छ । सुन्तला भन्दा एभोकाडो खेती गर्न धेरै सजिलो भएको उनको भनाइ छ । ‘सुन्तलालाई मेहनत बढी पर्छ । मलजल छाटकाँट स्याहार बढी गर्नुपर्छ । राम्रो बारीमा मात्र सुन्तलाको खेती हुन्छ, तर एभोकाडोलाई कम मेहनत र जस्तो सुकै ठाँउमा पनि गर्न सकिन्छ’ उनले भने ।

धनकुटा सुन्तलाको लागि निकै प्रख्यात क्षेत्रको रुपमा चिनिन्छ । तर बढ्दो रोग किराको प्रकोपका कारण बर्षेनी सुन्तलाको खेती गर्ने क्षेत्र घट्दै गएको छ । पहिले पहिले सुन्तला हुने क्षेत्रमा अहिले सुन्तलाको बोट नै मर्न थालेका छन् । जलबायु परिवर्तन सँगै तल्लो क्षेत्रमा सुन्तला फल्न छाडेको कृषि प्राबिधिकहरु वताउँछन् । सुन्तला उत्पादन हुने क्षेत्रमा पनि फ्रुट् फ्लाईलगायत बिभिन्न रोग कीराको प्रकोप छ । तर एभोकाडोमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन । त्यसैले पनि कृषकहरु एभोकाडो तर्फ आकर्षित भएको कृषि अभियन्ता जीबन राई बताउछन ।

पाच बर्षको अन्तरालमा धनकुटा नगर क्षेत्रमा मात्र २६ हजार एभोकाडोको विरुवा किसानले रोपेका छन् । यी मध्ये १२ हजार एभोकाडो विरुवा फल दिने अवस्थामा छन् । सुन्तला भने बर्षेनी घट्दो अबस्थामा छ । सुन्तलामा बिभिन्न रोगको असर हुने तथा आम्दानी कम हुने भएकाले एभोकाडो तर्फ लागेको कृषक बीरबहादुर तामाङ्ग बताउँछन । ‘सुन्तला प्रति के.जी. ५० रुपैयामा पनि बिक्न गाह्रो हुन्छ भने एभोकाडो १५० रुपैया प्रति के.जी.मा बिक्री हुने गरेको छ । दुइदेखि तीन दाना एभोकाडोको एक किलो हुन्छ , एउटै बोटमा चार पाँच सय किलोसम्म फल्छ तर सुन्तला पचास साठ्ठी किलो फल्न नै गाह्रो हुन्छ’ तामाङ्गले भने ।

सुन्तलामा रोग कीराको प्रकोपका साथै तुलनात्मक रुपमा मुल्य कम पाइने तथा एभोकाडोमा थोरै मेहनतवाट राम्रो आम्दानी लिन सकिने र भीर पाखामा खेती गर्न सकिने भएकाले अहिले धनकुटामा यो प्रतिको आकर्षण बढेको हो । त्यस्तै यो फललाई अहिले बजारको समेत समस्या छैन । कतिपय नेपालीले त यो फललाई घिउफल भनेर पनि चिन्ने गरेका छन् ।