झापा: हराएपछि प्रहरीलाई खबर गर्ने, फेला परेपछि चुपचाप बस्ने अभिभावकका कारण पूर्वी काँकरभिट्टा क्षेत्रबाट हरेक वर्ष हराउने मानिसको संख्या बढेको बढ्यै छ । बितेको चार आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो सात महिनामा काँकरभिट्टा क्षेत्रबाट फेला पर्नेभन्दा बेपत्ता हुने मानिसकै संख्या बढी छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला सेलका अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को माघ अन्तिम सम्ममा ६९ जना मानिस हराएको निवदेन परे पनि १६ जना मात्र फेला परेका छन्, बाँकी ५० जनाको अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार सोही अवधिमा झापाका विभिन्न स्थानबाट २ सय ७४ जना बालबालिका र महिला हराएको निवेदन परेको थियो । हराएका मानिसहरुको खोजीमा प्रहरीले सक्रियता बढाएपछि ९ बालक, ३३ बालिका र १ सय ९१ जना महिला फेला पारेको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार १ सय १७ जना अझै बेखवर छन् । फेला पर्न बाँकीहरुको हकमा अधिकांश परिवारको सम्पर्कमा आइसकेको बुझिए पनि प्रहरीलाई जानकारी नदिने गरेको प्रहरी उपरीक्षक ढकालले बताए ।

mid-page-add-from-magh-25 1

साउनदेखि माघ अन्तिमसम्म इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ३६ महिला, २१ पुरुष, १० बालिका र २ बालक गरी ६९ जना मानिस हराएको भन्दैं खोजिका लागि उनीहरुका अभिभावकले निवेदन दिएका थिए । तर ८ महिला, २ पुरुष, ६ बालिका सहित कूल १६ जना मात्र प्रहरीले फेला पारेर अभिभावकलाई जिम्मा लगाएको कार्यालयको महिला सेलकी प्रहरी नायव निरीक्षक मिलनकुमारी राईले बताइन् ।

हराएपछि शुरुमा आफन्तले खोज्ने र कतै पत्तो नलागेपछि मात्र प्रहरीमा उजुरी गर्ने गरेको कारण पनि समयमै फेला पार्न समस्या भएको प्रहरी नायव निरीक्षक राईको भनाई छ । ‘एक त उजुरी नै ढिलो गर्दछन्’ प्रहरी नायव निरीक्षक राईले भनिन्—‘प्रहरीले खोजेर फेला पारेपछि आफन्तको जिम्मा लगाउँछ, समयमै प्रहरीलाई खबर गर्ने हो भने तत्काल भेट्न सकिन्छ । कति खोज्दा पनि फेला पर्दैनन र पछि आफैँ परिवारको सम्पर्कमा आउँछन् तर फेला परेको जानकारी प्रहरीलाई गराउँदैनन् यसले गर्दा पनि हराउनेकै संख्या बढी देखिएको हो ।’

काँकरभिट्टा क्षेत्रबाट मानिस हराउने क्रम बढ्दै गएको छ । आफन्त, संघ संस्था र प्रहरीले खोज्दा समेत मानिसहरु कहाँ जान्छन, पत्ता लाग्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका केन्द्रको तथ्याङ्क अनुसार बितेको आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १ सय ४८ जना मानिस बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिलाको संख्या उल्लेख्य छ ।

तिनमा ८५ महिला, ३४ पुरुष, १३ बालक र १६ बालिका छन् । त्यो वर्ष सबैभन्दा बढी ८५ जना महिला हराएको निवेदन परे पनि १९ जना मात्र फेला परेका थिए । हराएका ३४ जना पुरुषमध्ये २७ जनाको अझै टुङ्गो लागेको छैन भने सात जना मात्र फेला परेका छन् । त्यसैगरी १३ बालक र १६ जना बालिका हराएको निवेदन परे पनि २ बालक र ५ बालिका मात्र प्रहरीले फेला पारेर आफन्तको जिम्मा लगाएको छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा ८१, २०७२÷०७३ मा १ सय ४१ र २०७३÷०७४ मा १ सय २५ आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १ सय ४८ तथा २०७५÷०७६ को सात महिनाको अवधिमा ६९ जना मानिस हराएको निवेदन परेको थियो । यसरी हेर्दा चार वर्ष सात महिनाको अवधिमा ५ सय ६४ मानिस काँकरभिट्टा क्षेत्रबाट हराएको उजुरी परेको छ । सो अवधिमा हराएकामध्ये कूल १ सय २४ जनामात्र भेटिएका छन् । बाँकी ४ सय ४० जना अझै बेपत्ता छन् । हराएका मध्ये आर्थिक वर्ष २०७१÷०७२ मा २२, २०७२÷०७३ मा २६, २०७३÷०७४ मा २९ र २०७४÷०७५ मा ३३ जना मात्र फेला परेका थिए ।

नाकामा सरकारी तथा गैर सरकारी संघ संस्थाहरु छन् । उनीहरुको उद्देश्य एउटै छ–मानव बेचविखन रोक्नु र अप्ठयारोमा परेकाको उद्दार गर्नु । हराएपछि खोजी कार्यका लागि संघ संस्था र प्रहरीलाई खबर गर्ने फेला परेपछि त्यसको जानकारी नगराउने गरेकै कारण फेला परेका भन्दा हराएकै मानिसको संख्या उच्च रहेको माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरे बताउँछन् ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ४७ महिला, १२ बालक, ३ बालिका र १९ पुरुषगरी ८१ जना हराएको निवेदन परेको थियो । तर, ११ महिला, १ बालक २ बालिका र ६ पुरुष गरी २२ जना मात्र फेला पारेर प्रहरीले आफ्नो जिम्मा लगाएको थियो । २०७२÷०७३ मा १ सय १ महिला, १० बालक, १२ बालिका १८ पुरुष गरी १ सय ४१ जना हराएको अभिलेख केन्द्रसँग छ । तर ६३ महिला, १४ बालक, ९ बालिका र २९ पुरुष गरी कूल १ सय १५ जनाको अझै टुंगो लाग्न सकेको छैन ।

२०७३÷०७४ मा ७५ महिला, १३ बालक, १५ बालिका २२ पुरुष गरी १ सय २५ जनाको खोजतलासका लागि केन्द्रमा निवेदन परे पनि ११ महिला ७ बालक ८ बालिका ३ पुरुष गरी २९ जनामात्र फेला परे । ६४ महिला ६ बालक, ७ बालिका र १९ पुरुषगरी ९६ जनाको अवस्था अझै थाहा छैन । यी मध्ये धेरै जना परिवारको सम्पर्कमा आएको आशंका प्रहरीको छ । तर, सम्पर्कमा आएपछि प्रहरीलाई खबर नगरेका कारण तथ्याङ्कमा हराउनेको संख्या उच्च देखिएको एक प्रहरी अनुसन्धान अधिकृतले बताए ।