इटहरीः ललितपुरको एकान्तकुनामा फागुन २ गतेबाट संचालनमा आएको पानीजहाज कार्यालयमा उपसचिवको नेतृत्वमा बरिष्ठ डिभिजनल इन्जिनियर, मेकानिकल इन्जिनियर, सिँचाई इन्जिनियरदेखि अन्य कर्मचारीहरु रहेकाछन । भारतको गंगा नदीमा बर्षायाममा नेपालका नदीहरुबाट ७२ प्रतिसत र सुख्खा क्षेत्रमा ४० प्रतिसत पानी जाने भन्दै नेपालबाट जलमार्ग संभव भएकाले कार्यालय खोलेको प्रधानमन्त्री ओलीले बताएका थिए । गत पुष २९ गतेको मन्त्रीपरिषद बैठकपछि पानीजहाज कार्यालय संचालनमा आएको हो ।
बिहीबार संघीय राजधानी काठमाण्डौमा पानीजहाज कार्यालय स्थापना भएपछि प्रदेश १ को सप्तकोशीका जेटबोट संचालकहरु उत्साहित भएका छन । रघुवीर महासेठ नेतृत्वको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मातहत रहने गरी कार्यालयको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीे गरेपछि नेपालका नदीहरुको जल यातायातमा सहज हुने व्यवसायीहरुको भनाइ छ ।
नेपालबाट भारत हँुदै समुदसम्म पुग्ने मात्रै नभइ नेपालको आन्तरिक जलमार्गमा पानीजहाज कार्यालय स्थापनापछि सहयोग हुने आशा रहेको कोशी एडभेन्चर प्रा.लि.का संचालक सुरेश बस्नेत बताउँछन । लामो समयसम्म ¥याफ्टिङ गराएको अनुभव संगालेका बस्नेत नेतृत्वको समुहले चाँडै सप्तकोशीमा जेटबोट संचालनको तयारी भएकाले पानीजहाज कार्यालय स्थापनाले सहयोग हुने आशा भएको बताए । उनले भने, ‘हामीले पर्यटन विभागमा दर्ता भएर काम गर्दै थियौँ तर अब जलयात्राकै क्षेत्रमा काम गर्ने आधिकारिक कार्यालय संचालनमा आएको छ । यसबाट आशावादी भएका छौँ ।’
कोशी एडभेन्चर प्रा.लि.बाट जेटबोट चलाउन लागेका बस्नेतको जस्तै भनाइ छ हाल सप्तकोशीमा व्यवसायिक जेटबोट संचालन गरिरहेका व्यवसायी विमलमान श्रेष्ठको । बराहक्षेत्र जलयात्रा तथा पर्यटन प्रा.लि.का प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार हवाइ क्षेत्रमा नागरिक उड्डयन प्राधिकरण, स्थलमार्गको लागि यातायात विभाग बने जस्तै जलयातायात क्षेत्रमा पानीजहाज कार्यालय बनेपछि आशा भएको छ ।
‘नेपालका सप्तकोशी र गण्डकी नदीबाट भारतको गंगा नदीमा मिसिएर समुद्रसम्म पुग्ने जहाजको लागि मात्रै पानीजहाज कार्यालय हो भने हामीलाइ फाइदा छैन’, श्रेष्ठले भने, ‘तर समग्र जलयात्रायात र नेपालका नदीहरु भित्रकै जलयात्राको लागि काम गर्ने हो भने यो धेरै प्रभावकारी हुनेछ ।’
पानीजहाज कार्यालय संचालनबारे हामीसँग छलफल भएनः व्यवसायी
फागुन २ गते स्थापना भएर अत्यन्तै चर्चा पाएको नेपाल पानीजहाज कार्यालय उद्घाटनबाट खुसी भएका जेटबोट व्यवसायीहरु आफुलाइ नसोधिएकोमा भने निराश भएको बताउँछन । बराहक्षेत्र जलयातायात तथा पर्यटन प्रा.लि.का बिमलमान श्रेष्ठले आफूहरुसँग जलयात्रा संचालनको नेपाली अनुभव र विदेशी अवलोकनको अनुभव भए पनि नसोधिएको बताए । उनले भने, ‘हामीसँग छलफल भएको भए थप केही राम्रा कामहरु हुन सक्ने थिए ।’
कोशी एडभेन्चरका संचालक सुरेश बस्नेतले पनि पानीजहाज कार्यालय संचालनमा आउनु अगाडि जलयात्रा गराउने व्यवसायीहरुसँग संवाद हुनुपर्ने तर नभएको बताउँछन । उनी भन्छन, ‘१५–२० किलोमिटर लामो दुरीमा जलयात्रा गराउँदै आएका सप्तकोशीका जेटबोट व्यवसायीहरुलाई सोधेर कार्यालय संचालन गर्नु अगाडि छलफल गरेको भए झनै राम्रो हुन्थ्यो ।’
कार्यालय संचालनमा छलफल नभए पनि पानीजहाज कार्यालयले जलयातायातको लागि आवश्यक नीति निर्माण तथा पूर्वाधार विकासका कुराहरुमा भने छलफल हुनुपर्ने बस्नेत बताउँछन । उनी भन्छन, ‘हामी जेटबोट व्यवसायीहरु यो क्षेत्रको व्यवस्थितिकरण र व्यवसायीकरणको लागि पानीजहाज कार्यालय अन्तर्गत नै दर्ता, नियमन, निगरानी, प्रोत्सान र प्रबद्र्धनको पक्षमा छौँ ।’