धरानः विराटनगर देखी इटहरी हुँदै धरान सम्म पुग्ने ६ लेन सडक अहिले धमाधम बन्दैछ । प्रदेश १ को एक्लो महानगर र दुई उपमहानगर गरेर प्रदेशका तीन मेगा सिटी जोड्ने सडकमा सहर अनुसारका विवाद छन् । विराटनगर र इटहरी क्षेत्रका सडक क्षेत्र मिचेर घर बनाएका स्थानहरूमा ४ लेन बनाउनुपर्ने तर्क आइरहेको छ ।

धरानमा भने तीनकुनेबाट जिरो प्वाइन्ट सम्मको दुई लेनकै सडक हुनुपर्ने र यसको बाइपास सेउती किनारबाट हुनुपर्ने तर्क आइरहेको छ । तीनकुने देखी जिरो प्वाइन्ट सम्मका ३ सय घरहरू सडक ४ लेन वा ६ लेन बनाए भत्किने भन्दै यस्ता विवादहरू आएका छन् ।
सडक क्षेत्रको लागी आवश्यक २५ मिटर क्षेत्रमा बनेका यस्ता घरहरू भत्काएमा धरान बजार सकिने केहिले तर्क गर्दै आएका छन् । र, विकल्पको लागी तीनकुने मुनि सेउतीको दुई किनारबाट बाइपास सडक लान सकिने प्रस्ताव आएको छ । तर, सडक बाइपासले सेउती क्षेत्रमा मुख्य बजार क्षेत्रको भन्दा धेरै क्षति हुने बताउँदै विरोधमा छन् नेकपा नेता तथा सेउति किनार बस्ती संरक्षण संघर्ष समितिका संयोजक अइन्द्र विक्रम बेघा । यसै विषयमा बेघाले प्रदेश पोर्टलसँग बाइपास सडक किन घातक र अनावश्यक छ भनेर लामो कुराकानी गरेका छन् । कुराकानीको सारांश:

Mid page add from falgun 1st week 1

धरानको बजार क्षेत्रका मान्छेहरू बाइपास सडकको पक्षमा छन् । तर, तपाइ किन विपक्षमा?
धरानका सडक क्षेत्रमा घर बनाएकाहरूले मात्रै बाइपास सडकको पक्षमा वकालत गरिआएका हुन । बाँकी बजारवासीहरू भने बाइपास सडक हुनु हुन्न भन्ने पक्षमै छन् । सेउती किनार बस्ती संरक्षण सङ्घर्ष समितिको संयोजक म भएकाले हाम्रो कुरामा बजारमा घर हुनेहरू नै सहमत छन् । सडकको घर भत्किनेहरु विरोधमा र सडकको घर भत्केपछि आफ्नो घर आउने र अन्य धरानवासीहरू सबै बाइपास सडकको विपक्षमा छन् ।
धरानको तीनकुने देखी जिरो प्वाइन्स सम्मका सबैजसो घरहरू भत्काएर बनाउने मुख्य बजारको बाटो भन्दा सेउती किनारको बाइपास नै राम्रो भन्ने कुरा छ नि ।
त्यो गलत कुरा हो । तीनकुने देखी जिरो प्वाइन्ट सम्म सडक क्षेत्रमा पर्ने घरहरू जम्मा ३ सय हाराहारी छन् । तर, सेउती किनारमा बाइपास भएमा १ हजार ५ सय भन्दा धेरै निजी तथा सुकुम्वासीहरू घरबार विहीन हुन्छन् । थुप्रै सार्वजनिक भवन, मन्दिर र चर्चहरू भत्किनेछन । पैसावालाका ३ सय घरहरू भन्दा गरिब गुरुवाका घरहरू भत्किनुपर्छ भन्ने कुरा हो भने त्यो मान्य हुँदैन । जनताले यसको प्रतिरोध र प्रतिवाद गर्छन् ।

मुख्य बजार क्षेत्रका घरहरू त निजी सम्पत्ति हो भन्ने कुरा आएको छ । सबै घरहरू सडकमा छैनन् भन्ने कुरा छ । यस्तो अवस्थामा कसरी बजार हुँदै सडक जान सक्छ?
मैले बुझे अनुसार भानु चोक देखी मुनि तीनकुने सम्मका थुप्रै जग्गामा मुआब्जा दिएको देखिन्छ । सडकले मुआब्जा दिएपनि किन नगरपालिकाले घर बनाउन दियो? किन नक्सा पास भयो ? यो कुरा खोज्नुपर्छ । भानु चोक देखी माथि जिरो प्वाइन्ट सम्मको सडकको जग्गामा किन नगरपालिकाले धमाधम घर बनाउन दियो यो बुझ्नुपर्छ । पहिले सडक सुरु हुँदा काठका घरहरू पछि बनेका हुन ।
राष्ट्रिय योजना आयोगले पनि धरानमा बाइपास सडक बनाउने कुरा चर्चामा छन् । यस्तो अवस्थामा कसरी बाइपास नहोला भन्न सकिन्छ?
मलाइ लाग्छ कुनै पनि राष्ट्रिय गौरवका आयोजनाहरू बाइपास भएका र रुट बदलेका छैनन् । धरानमा पनि यस्तो हुँदैन । अहिले बजारमा घर भएकाहरूले आफ्नो सम्पत्ति जोगाउन लबिङ गरेकै आधारमा गरिबहरूको बस्तीमा सडक र डोजर पसाइन्छ भने त्यो जनताले मान्दैनन् । मलाइ लाग्छ डिजाइन बदलिएको छैन । प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले पनि बाइपास सडक हुनु हुन्न भन्ने धरानमै आएर बोल्नु भएको छ । बाइपास सडक बन्नु हुँदैन । बस्ती मासेर बाइपास हैन, सडक मिच्ने घर भत्काएर बाटो बन्नुपर्छ । तर, यहाँ नगरपालिकाले पनि बाइस भएर भ्रम छरिरहेको छ ।

कस्तो भ्रम?
साउतीको दुई किनारमा दुईतिर सडक बन्छ भन्ने कुरा आएको रैछ । त्यो सरासर भ्रमको खेती हो । दुनियमा खोलाको दुईतिर सडक बनाएर राष्ट्रिय गौरवका परियोजनाहरू बनेका छैनन् । यस्तो बन्दा पाँच गुणा बढी खर्च र झन्झटिलो हुन्छ । यो सम्भव छैन ।
नगरपालिकाले तपाँइहरुसँग कुनै छलफल गरेको छैन?
नगरपालिकाले हामीसँग बसेर कुनै छलफल गरेको छैन । हामी पीडित सुकुम्वासी बन्नु हुँदैन । केही धनीका कुरा सुनेर नगरपालिकाले बाइपास गर्न मिल्दैन । गरिबहरूका कुराहरू पनि सुन्नुर्पयो अनि मात्र काम हुनुपर्याे ।

मानिलिऊँ बाइपास सडक बन्यो । यसले धरानलाई समग्रमा कस्तो असर पर्छ?
बाइपासको अर्थ छैन । यसले धरानलाई खण्डहर बनाउने छ । धरानको भानुचोकको सडकले बिच बजारलाई धान्दैन । सडक बिस्तार राज्यले जुन बेलापनि गर्नैपर्छ । बाइपास नगरपालिकाले कल्पेजस्तो बनाएर हुँदैन । यो बिच बजारबाटै बाटो बिस्तार गर्नैपर्छ ।यसकै पक्षमा छन आम धरानवासीहरु । प्रदेशवासीहरु ।