इलाम: दुध उत्पादन बढेसँगै इलाममा दुधजन्य पदार्थबाट उत्पादन हुने ललिपप, बम्वइसनको ब्यापार पछिल्लो समय फस्टाउँदो छ । दुध, ध्यु र चिनीको मिश्रणबाट उत्पादन हुने ललिपप र बम्वाइसन कोसेलीका लागि प्रसिद्ध बन्न थालेको इलाम ललिपप उद्योगका सञ्चालक दुर्गाकुमारी राई बताउँछिन । उनले विगत ५ बर्षदेखि इलाम नगरपालिका ६– स्थित चुरेघाँटीमा उद्योग नै सञ्चालन गरेर मासिक ७÷८ क्वीण्टल ललिपप उत्पादन गरिरहेकी छन । ब्यावसायिक रुपमा ललिपपको उद्योग सञ्चालन गरेकी राईले अहिले मासिक रुपमा ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको वताइन् । उनले अन्य १० जनालाई रोजगारी समेत दिएकी छन ।
सानो प्रति प्याकेट ५० रुपैयाँ र ठूलो प्रति प्याकेट १ सय रुपैयाँसम्म विक्री हुने गरेको ललिपप बजारमा बाहिरी जिल्लाबाट इलाम आएका मानिसहरुले र इलाम वाहिर आफन्त भेट््न जानेहरुका लागि कोसेली बन्ने गरेको छ । खाद्य प्रवृति तथा गुण नियन्त्रण कार्यलयमार्फत अनुमति पत्र लिएर सञ्चालनमा रहेको राईको उद्योगबाट उत्पादन भएको परिकारले क्षेत्रीय तथा राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीमा समेत उत्कृष्ट पुरस्कार पाइसकेका छन ।

Mid page add from falgun 1st week 1

अहिले दुधबाट बनिने ललिपपको बजार देशका विभिन्न ठाउँ र विदेशमा समेत विस्तार हुँदै गएपछि नयाँ उद्योग सञ्चालनमा आउने क्रम बढेको हो । गाउँगाउँमा खुलेका ललिपप उद्योगले दूध उत्पादक कृषकलाई दुध वेच्न टाढा लैजानु पर्ने झन्झटबाट समेत मुक्त गरिरिएको छ । इलाम नगरपालिका–७ मा संचालित इलामेली ललिपप उद्योगका संचालक टेकबहादुर राई आफु बाहेक अन्य २४ जनाले रोजगारी दिएका छन । उनको उद्योगमा दैनिक ५० केजीसम्म मिठाइ उत्पादन हुन्छ ।

फिक्कल बजारमा व्यवसाय गर्ने संगीता प्रधान इलाम बाहिरको मानिसहरुको सवैभन्दा मन पर्ने परिकारको रुपमा ललिपप रहेको बताउँछिन । उनले दैनिक रुपमा ३ हजार भन्दा बढीको ललिपप मात्र विक्री गर्ने गरेकी छन । भ्रमणका लागि अन्य जिल्लाबाट आउने सवै जसोले ललिपप खरिद गर्ने गरेको उनले बताइन् । इलाममा संचालनमा आएका धेरै जसो दुग्धजन्य उद्योगमा महिलाले रोजगारी पाएका छन । धेरै जसो उद्योगमा ३ जनादेखि १५ जनासम्म महिलाहरुले रोजगारी पाएका छन । इलामको फिक्कल–पशुपतीनगर सडक छेउमा संचालनमा आएका उद्योगमा अधिकाँस महिलाले काम गर्दै आएका छन । विहानको घरधन्दा सकेर फुर्सदको समयमा ललिपप, छुर्पी उद्योगमा काम गर्ने गरेको सुर्योदय नगरपालिका–२ मा कोसेली ललिपप उद्योगका संचालक शिबलाल प्रधान बताउँछन । ललिपप उद्योगमा काम गर्ने महिलाहरुले मासिक १५ हजारसम्म कमाउने गरेका छन ।

ललिपप र बम्वइसन इलाम घुम्न आउने पर्यटकहरुका लागि प्रसिद्ध मिठाइका रुपमा परिचित छ । दशै तिहार, नयाँबर्ष जस्ता मुख्य चाडपर्व तथा हिउँदको समयमा घुम्न आउने विद्यार्थी तथा पर्यटकहरुले इलामको ललिपप कोसेलीका लागि लैजाने गरेका छन । हाल इलाममा दुई दर्जन बढी ललिपपको उद्योग सञ्चालनमा छन । जिल्लामा वार्षिक १ लाख ५० हजार मेट्रिक टन दुध उत्पादन भइरहेको छ । इलाममा ५५ हजारभन्दा बढी परिवार प्रत्यक्षरुपमा पशुपालन व्यवसायमा संलग्न रहेको छन । सात ‘अ’ ले परिचित इलामलाई त्यही ओलन (दुध) बाटै उत्पादन भएको ललिपप र चीज लगायत दुग्धजन्य पदार्थ बनाउने हो भने रोजगारी खोज्न शहर पस्नु नपर्ने उद्यमीहरु बताउँछन ।