पाँचथरः लामो समयको खोजपछि पाँचथर जिल्लामा चिया उत्पादनको तथ्याङ्क सार्वजनिक गरिएको छ । चिया बिस्तार आयोजनाले जनाएको छ । जिल्लामा १ हजार १ सय किसानले १० हजार ३ सय २३ रोपनी क्षेत्रफलमा चिया खेती लगाएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया बिस्तार योजनाको कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार फिदिम नगरपालिकामा २ सय ५९ किसानले १ हजार ७ सय १२ रोपनी क्षेत्रफलमा चिया खेती गरेका छन् । याङ्वरक गाउँपालिकामा ९३ किसान रहेका छन् । उनीहरूले १ हजार ६ सय ६५ रोपनी क्षेत्रफलमा चिया खेती गरेका छन् ।

त्यस्तै, हिलिहाङ गाउँपालिकामा १ सय २१ किसानले १ हजार ३२ र फाल्गुनन्द गाउँपालिकामा १ सय ९४ किसानले २ हजार ६४ रोपनी क्षेत्रफलमा चिया खेती गरेका छन् । मिक्लाजुङ गाउँपालिकामा १ सय ४१ किसानले २ हजार १५ र फालेलुङ गाउँपालिकामा १ सय ९४ किसानले १ हजार ५ सय ७८ रोपनीमा चिया खेती गरिएको छ ।

सबैभन्दा कम कुम्मायक गाउँपालिकामा ६ जना किसानले ६५ रोपनी क्षेत्रफलमा चिया खेती गर्दा तुम्बेवा गाउँपालिकामा ९२ जना किसानले १ सय ९२ रोपनी क्षेत्रफलमा चिया खेती गरेका छन् ।

श्रमिकको अभाव
जिल्लाका चिया बगानमा श्रमिकहरूको अभाव हुन थालेको छ । २ सय ५० जना श्रमिक हुनुपर्ने जिल्लाकै पहिलो र ठूलो कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर प्रा.लि.मा अहिले करिब २ सयको हाराहारीमा मात्र श्रमिक रहेको प्रा.लि.ले जनाएको छ । जिल्लाका अधिकांश बगानमा चिया श्रमिकको अभाव छ । चिया बिस्तार योजनाको फिदिम ३, लालीखर्कमा पनि श्रमिक अभाव रहेको कार्यालयले जनाएको छ ।

लालीखर्कमै रहेको बगान तथा चिलिङ्दिन र एकतीन उपकेन्द्रमा १ जना चौकीदार र ४ जना मात्र श्रमिक छन् । उनीहरूले नै ३ वटै बगान हेर्नुपर्ने बाध्यता रहेको चिया उत्पादकहरू बताउँछन् । श्रमिकलाई श्रम ऐन अन्तर्गत प्रत्येक दिन ८ घण्टा काम गरेको ज्याला प्रतिव्यक्ति २ सय ५३ रुपैयाँ दिइने गरिएको छ । ज्याला कम भएको हुनाले वैदेशिक रोजगार वा अन्य रोजगारमा स्थानीय आकर्षित हुने गरेको पाइन्छ ।

चियामा श्रमिकको उपस्थिति कम हुनुमा सिजनमा मात्रै काम हुनुलाई पनि मानिन्छ । बाह्रै महिना काम नहुने कारण पनि मजदुर अन्य काममा आकर्षित हुने गरेका छन् ।