इटहरीः विवेकशील साझा पार्टीले प्रदेश १ को संयोजक चयन गरेको छ । व्यावसायिक पृष्ठभूमि भएका झापाका अनिल भेटवाल प्रदेश १ को संयोजक भएका हुन् ।
सन् १९९५ मा नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष भइसेका भेटवालले कम उमेर (२९ वर्ष) मै अध्यक्ष भएका व्यक्तिको रूपमा रेकर्ड राखेका छन् । पूर्व एमालेका झापा जिल्ला कमिटी सदस्य समेत बनिसकेका उनी लामो समय विदेश बसी परिवारसहित नेपाल फर्किएका हुन् ।
कम्युनिष्ट राजनीतिक चेत भएका उनी वैकल्पिक राजनीतिको मार्गमा किन होमिए ? के सम्भव छ यो राजनीतिबाटै समृद्ध समाज निर्माणको परिकल्पना ? प्रदेश पोर्टल संवादमा उनै भेटवालसँग गरिएको कुराकानी ः
विवेकशील साझा पार्टी नै किन रोज्नुभयो ?
जुन कारणले नेपाल बन्न सकेन भनेर म सोच्थे त्यो सोचाइसँग यो पार्टीको सोचाइ मिलेजस्तो लाग्यो । नेपालाई पुराना दलहरूले जहिल्यै प्रयोगशाला मात्र बनाए । म २०४६ सालको परिवर्तनमा सक्रिय रूपमा आन्दोलनमा होमिएको व्यक्ति हुँ । ०४२ सालमा मालेको सदस्यता लिएर राजनीतिमा लागेको थिएँ । केही होला कि भनेर लागियो । तर, २०५६ सालसम्मको सक्रिय राजनीतिक जीवनको सिकाइले दल राष्ट्रप्रति इमान्दार छैनन् भन्ने शिक्षा मिल्यो ।
हामीले पटकपटक व्यवस्था परिवर्तन गरे पनि मुलुकको अवस्था परिवर्तन गरेनौँ । त्यसैले पुरानामा बसेर गन्तव्यमा पुगिंदैन भन्ने यकिन भएपछि सही बाटो नै हिँड्नुपर्छ भन्ने विचार आएर म यो पार्टीमा आबद्ध भएको हुँ ।
यो पार्टीमा अरुभन्दा अलग भिजन के छ त्यस्तो ?
मुख्य कुरा कल्याणकारी समाज निर्माण गर्ने मुख्य उद्देश्य छ । फेरि उद्देश्य मात्र भएर हुँदैन, उद्देश्य पूरा गर्न लागि परेका अगुवा कस्ता छन् भन्ने कुराले पनि प्रभाव पार्छ । यो पार्टीमा हिजो सार्वजनिक जीवन बिताउँदा कुनै गलत कार्यमा नमुछिएका अनि कलङ्कको दाग नलागेका व्यक्ति हुनुहन्छ । भिजन भएका दिग्गज व्यक्तको उपस्थितिले यो पार्टीले चालेका कदम पूरा हुन्छन भन्नेमा म स्पष्ट छु ।
संयोजक भइसकेपछि तपाईंका योजना के–के छन् ?
पहिलो कुरा हामी सङ्गठनविहीन जस्तै छौं । अहिलेसम्म संयोजक बाहेक प्रदेश कमिटीलाई पूर्णता दिनुपर्ने दायित्व छ । त्यस्तै, १४ जिल्लाका जिल्ला कमिटी र १ सय ३७ स्थानीय तहमा पुगेर कमिटी निर्माण गर्नुपर्ने दायित्व छ । म यी काम पूरा गर्छु । आगामी वर्षको फागुन १९ गते पार्टीको महाधिवेशन हुँदैछ । सो समय सम्ममा म यी काम गर्नेछु र पार्टीको अभियानमा सक्रिय भएर लाग्नेछु ।
सबै आ–आफ्नो रजनीतिक कित्तामा विभक्त छन् । सङ्गठित गर्न कत्तितको चुनौतीपूर्ण होला ?
मैले यो कामलाई सामान्य रूपमा त लिएको छैन । ठूलो पार्टी सत्तामा छ । विपक्षी नेपाली काङ्ग्रेस बलियो पार्टी छ । तर, पनि मलाई यो मिसनमा लाग्न प्रेरित गर्ने हजारौं साथीको साथ मसँग छ र म ढुक्क छु । धेरै जना पुराना पार्टीको उही रवैयाबाट वाक्क हुनुहुन्छ । अब इमान्दारपूर्वक राजनीति गर्ने समय रहेको भन्दै यस्तै पार्टीको पर्खाइमा हुनुहुन्छ ।
हामी पुगेपछि गोलबद्ध बन्नु हुने नै छ । हामी इमान्दारिता बोकेका नागरिकलाई आबद्ध गर्दै पार्टी निर्माणको अभियानमा होमिन्छौं । थोरैे किन नहुन्, सही विचार र भरोसा भएका इमान्दार व्यक्त मात्र यो पार्टीमा अटाउनुहुनेछ ।
यो पार्टी पनि त बलियो नबन्दै फुट्यो । अरु भन्दा के फरक हुने भयो र ?
हिजोका दिनमा के भयो भन्दा पनि, अब कसरी अघि बढ्ने भन्ने कुराले फरक पार्छ । हिजो पार्टीको फुटबारे म राम्रोसँग बुुझ्दिनँ । अब म आबद्ध भएपछि भने कसरी सबैलाई एकजुट बनाएर लग्ने भन्ने नै मूल उद्देश्य हुन्छ । मेरो लक्ष्य पनि समाज सुधार गर्न अभियान मात्र भएर होइन, राजनीतिक एजेण्डा हुनुपर्छ भन्ने नै हो । अभियानले निश्चित घेराको समाज परिवर्तन होला, तर, राजनीतिक एजेण्डाले समग्र समाज परिवर्तन हुन्छ भन्ने मेरो पनि बुझाइ हो ।
तपाईं संयोजक चुनिएको दिन माटोको टीका लगाउनुभयो नि, यसको अर्थ के हो ?
नेपाल आमाप्रतिको प्रेम हो यो । माटोको टीका लगाइसकेपछि आफ्नो मातृभूमिप्रति इमान्दारपूर्वक दायित्व निर्वाह गर्नेछु भन्ने प्रतिबद्धता पनि हो । म यसैगरी इमान्दारपूर्वक र निष्ठावान रूपमा काम गर्नेछु भन्ने सङ्केत हो ।
तपाईंकी जीवनसाथी (सविता भेटवाल) सक्रिय रूपमा नेकपाको राजनीतिमा हुनुहुन्छ । अहिलेका प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध भएको परिवार हो तपाईंको । यसले तपाईंको पार्टी राजनीतिलाई कुनै प्रभाव पार्दैैन ?
पार्दैन । किनकि यस बारेमा हामीले राम्रोसँग छलफल गरेका छौं । परिवारसँगको छलफलपछि मात्र मैले निर्णय लिएको हुँ । फेरी उनी (श्रीमती) मेरो कारणले राजनीतिमा आएकी होइनन् । उनी आफैं सक्रिय राजनीतिमा होमिएकी हुन् ।
उनी ओली निकटमात्र होइनन्, नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी बहिनी पनि हुन् । त्यसैले हामीमा आ– आप्mनो राजनीतिक स्वतन्त्रता छ । मलाई मेरो राजनीतिक यात्रामा श्रीमतीको राजनीतिक यात्राले कुनै असर पार्दैन ।
६ वर्ष परिवारसहितको अमेरिका बसाइ सकेर नेपाल फर्किनुको उद्देश्य के हो ?
त्यहाँको जीवन पिंजडामा राखेको चराजस्तै भयो । सम्पूर्ण सुविधा सम्पन्न जीवन भएर पनि उकुसमुकुुसपूर्ण भएर बाँच्नुपर्ने । मलाई त्यस्तो जीवन बिताउनुभन्दा आफ्नै मुलुकमा पुगेर देशको सेवा गर्न मन लाग्यो । अनि परिवारसँग सल्लाह गरेर म नेपाल फर्किएको हुँ ।
अहिले तपाईं व्यवसाय सञ्चालन गरिरहनुभएको छ । राजनीतिमा लागेपछि व्यवसायलाई फाइदा पुग्ला कि व्यवसायले राजनीतिलाई टेवा पुर्याउला ?
हाम्रो लाइन नै स्पष्ट छ, हामी इमान्दार र निष्ठापूर्वकको राजनीतिक जीवनलाई अवलम्बन गर्छौ । अहिले मेरो सानो व्यवसाय छ । मेरो पार्टनरलाई पनि मेरो निर्णयबारे पूर्ववत जानकारी भएको हुँदा मलाई व्यावसायिक जीवन र राजनीतिक जीवनले अन्योल सिर्जना गर्दैन ।
न मेरो पेशालाई राजनीतिक जीवनले मलजल गर्छ भन्ने नै सोचेको छु । मुख्य कुरा राजनीतिक उद्देश्य के हो भन्नेले फरक पार्छ । हामी भ्रष्टाचारमुक्त समाजको कल्पना गरेर अघि बढेका छौं । स्वच्छ विचारसहितको अभियानमा हिँडेको व्यक्तिले व्यावसायिक हितका लागि सोच्छ भन्ने कुरै हुँदैन । त्यसै पनि मेरो राजनीतिक जीवन र व्यावसायिक जीवन अलगअलग पाटो हो । यी दुईलाई नमिसाउने प्रतिबद्धता व्यक्त गर्छु ।