इटहरीः पूर्व पश्चिम राजमार्गको भाउन्नेस्थित सिर्जना सामुदायिक वनले आन्तरिक आम्दानी बढाउन वन क्षेत्रमा ‘इको पार्क’ निर्माण गर्ने भएको छ ।
बेलबारी नगरपालिकाको वडा नम्बर १० र आसपासका वडामा २ सय ४ हेक्टरमा फैलिएको वनमा पार्क निर्माणकै लागि हाल धमाधम मूर्ति बनिरहेका छन् । ‘सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला–२०७५’ नाम दिइएको कार्यशालामा नेपालसहित भारत, बङ्गलादेश, जापान, जर्मन र इटालीका मूर्तिकारले मूर्ति बनाइरहेका छन् ।
नेपालका २५ जना तथा जापानका नोरियो ताकाओका, जर्मनीका पिटर हार्गेट, इटालीका माकि माकामुराजस्ता कलाकार मूर्तिनिर्माणमा सक्रिय छन् । भारतबाट अनुपकुमार गुप्ता र बङ्गलादेशबाट अभिजित कान्तिदास पनि मूर्तिकलामा सो सामुदायिक वनको २१ दशमलव ९४ हेक्टर क्षेत्रमा खटिरहेका छन् ।
फाुगन ४ बाट औपचारिक रूपमा शुरु भएको मूर्तिकला कार्यशाला फागुन २२ गते समापन हुने आयोजक सिर्जना सामुदायिक वनको भनाइ छ । वनका अध्यक्ष छत्र लिम्बूका अनुसार मूर्तिकलापछि डिपिआर निर्माण हुनेछ । डिपिआरमा ‘इको पार्क’ बनाउने कामको थालनी हुनेछ ।
हाल सिर्जना सामुदायिक वनसँगै बेलबारीका स्थानीय व्यवसायी, वडा नम्बर १० र ८, प्रदेश सरकार आदिबाट १ करोड ८४ लाखको बजेटमा मूर्तिकलाको काम भइरहेको छ । भाउन्ने क्षेत्रमै जन्मेका ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ तथा मूर्तिकला विभाग प्रमुख धनबहादुर याक्खाको अनुवाइमा विभिन्न ५ देशका मूर्तिकार भाउन्नेमा सक्रिय छन् । याक्खाले यस अगाडि इटहरीको तालतलैया क्षेत्रमा पनि यस्तै मूर्ति कार्याशाला गराएर खुला मूर्ति सङ्ग्रहलय बनाउन भूमिका खेलेका थिए ।
इटहरीमा भएको मूर्तिकलाले तालतलैयाको पर्यटन क्षेत्रको विकास गरेका बताउँदै याक्खाले अब बेलबारीको भाउन्नेमा पनि पर्यटन आवागमन बढ्ने बताए । भन्छन्, ‘प्राकृतिक ढुङ्गामा विश्वका स्तरीय मूर्तिकारले कुँदेका मूर्तिले धेरैलाई आकर्षित गर्नेछ ।
पार्क र मूर्तिकलाले सौन्दर्य, आम्दानी र रोजगारी बढाउने
२०५८ सालमा स्थापना भएको हो बेलबारीको सिर्जना सामुदायिक वन । यो वनको आन्तरिक आम्दानी विगत ४ वर्षदेखि शुरु भएको अध्यक्ष लिम्बू बताउँछन् । लिम्बूका अनुसार वार्षिक ६० लाख हाराहारी आम्दानी वनबाट आइरहेको छ । यसबाट २ जनाले रोजगारी पाएका छन् ।
मूर्तिकला र इको पार्क निर्माणपछि भने सुन्दरतासँगै आम्दानी र रोजगारी बढ्ने लिम्बूको भनाइ छ । ‘यो क्षेत्र राजमार्गमा छुने नेपालको पहिलो मूर्तिहरू भएको इको पार्क हुनेछ’, लिम्बू भन्छन, ‘अहिलेको वनको आम्दानीभन्दा थप आम्दानी हुनेछ ।’ आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सिर्जना सामुदायिक वनको पार्क महत्वपूर्ण हुने उनको भनाइ छ ।
पार्कमा बुट्यानहरु हटाउने तर रुखहरु नमार्ने, प्राकृतिक वातावरणको प्रबन्ध गर्ने र स्थानीय कलासंस्कृति झल्काउने मूर्ति बनाउने लिम्बूले बताए । उनले भने, ‘यहाँका आदिवासी धिमाल, राजवंशी जातिका मौलिकता झल्काउने कुरा पनि थप्ने छौँ ।’
पार्क नबन्दै दैनिक हजारबढी पर्यटक
सिर्जना सामुदायिक वन क्षेत्र पर्यटकीय क्षेत्र थिएन । भाउन्ने बजारमा आउने राजमार्गका यात्रु सामान्य चियानास्ता खान र निगुरो किन्नबाहेक हत्तपत्त ओर्लदैन थिए । तर, पार्क बन्ने क्रममै आगन्तुक बढेका छन् । पार्क बनाएर पर्यटक तान्ने लक्ष्य भए पनि पार्क बन्ने क्रममै आगन्तुक बढेको वनका अध्यक्ष लिम्बूले बताए ।
प्रदेश १ का आन्तरिक मामिला तथा गृहमन्त्री हिक्मत कार्कीसहित विभिन्न विशिष्ट व्यक्ति तथा सर्वसाधारण दैनिक आउन थालेको लिम्बूले बताए । हाल दैनिक १ देखि २ हजार आगन्तुक आउन थालेको बताउँदै उनले भने, ‘राजमार्गमा हिँड्नेहरुले देखेर पस्नुहुन्छ । फोटो खिच्नु हुन्छ । त्यो हेरेर अरु नि आउनुु हुन्छ ।’