इटहरीः नेपाली काङ्ग्रेसको विद्यार्थी भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ अहिले आन्तरिक कलहमा रुमलिएको छ । नेताहरूबीच कसको मान्छेलाई तदर्थ समितिको सभापति बनाउने र नेवि सङ्घ कसको पकडमा राख्ने भन्ने मुख्य विवादको कारण नेवि सङ्घ विवादको भुमरीमा फसेको छ ।
प्रमुख प्रतिपक्षी रहेको नेपाली काङ्ग्रेस सरकारको विरुद्धमा सडकमा हुनुपर्ने बेला नेवि सङ्घको दुई गुटबीच सडकमै कुटाकुट शुरु भएको छ । नेवि सङ्घ पूर्व महामन्त्री तथा काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापाले इटहरीको एक कार्यक्रममा सम्बोधन गर्दै सरकारको विरुद्धमा कार्यकर्तालाई सडकमा आउन आग्रह गर्दै गर्दा नेवि सङ्घका कार्यकर्ताहरू आफूबीचमै ढुङ्गा हानाहान गरिरहेका थिए ।
विधानतः २ वर्षे कार्यकाल पूरा गरेको केन्द्रीय समिति भङ्ग भएको छ । २ वर्षे कार्यकाल पूरा गरेर थप भएको ५ महिनामा पनि अधिवेशन गराउन नसकेको भन्दै केन्द्रीय सभापति नैनसिंह महरले राजीनामा दिए ।
महरको राजीनामासँगै केन्द्रीय समिति भङ्ग भएको छ । हाल नेवि सङ्घ कार्यसमितिविहीन अवस्थामा छ । त्यसैले १२ आंै अधिवेशन गराउने गरी काङ्ग्रेसले तदर्थ समिति बनाउने कसरत शुरु गरेको हो । तदर्थ समिति कुन टिमको बनाउने, त्यसमा कसको मान्छे राख्ने । र मान्छे पनि को राख्ने भन्ने विषयले गर्दा नेवि सङ्घको तदर्थ समिति बन्न नसकेको नेताहरू स्वीकार्छन् ।
गुटगत राजनीतिको प्रभाव बिस्तार भएका कारण समस्या झ्याङ्गिएको तर्क गर्छन् नेवि सङ्घका निवर्तमान उपसभापति तथा प्रदेश १ संयोजक विकास केसी । पहिले काङ्ग्रेसमा दुई समूह हुँदा खासै समस्या नभएको र पछिल्लो समय देखा परेको तेस्रोधारले सम्पूर्ण समस्या सिर्जना गरिरहेको उनको बुझाइ छ ।
नेपाली काङ्ग्रेसको विधानमा समयमै अधिवेशन गराउन नसक्ने भातृसंस्थाको तदर्थ समिति बनाएर अधिवेशन गराउने उल्लेख गरिएको उनले बताए । ‘त्यही समूह जसले तदर्थ समिति बन्नु हुँदैन भन्यो अहिले बन्नुपर्छ भन्छ । पहिला ३२ बर्षे उमेरहद लागू गर्नुहुन्न भन्दै चिच्याउने नै अहिले तदर्थ समिति पनि ३२ वर्ष मुनिकै हुनुपर्ने आश्चर्यलाग्दो तर्क गर्छन्,’ उनले भने, ‘खासमा यो अवस्थामा ३२ मुनिको नेतृत्वले अधिवेशन गराउन सक्दैन । विधानमा पनि अधिवेशनको उमेद्धवारमात्र ३२ वर्ष तोकिएकाले तेस्रो धारको आन्दोलनको तुक छैन ।’
उनकै तर्कमा सहमत छन् निवर्तमान केन्द्रीय सदस्य चन्द्रसुन्दर खेवाङ । तेस्रो धारको नेतृत्व गरेका कृष्ण सिटौला पक्ष र त्यसका नेता कुन्दनराज काफ्ले नेवि सङ्घ भाँड्ने काममा सक्रिय भएको उनको तर्क छ । उनी भन्छन्, ‘कहिले त्यही उमेरहदको विरोध गर्ने अनि कहिले ३२ वर्र्ष नभए सती जान्छाँै झै गर्ने । यो द्वेध चरित्र देखाउनु राम्रो होइन ।’
केसी र खेवाङको भन्दा फरक भनाइ राख्छन् अर्का नेता सागर प्रसाईं । यो सम्पूर्ण समस्याको जड सभापति देउवा आफै भएको उनको भनाइ छ । नेवि सङ्घले बुझाएको विधानलाई परिवर्तन गरेर पार्टीभित्र पेलेर विधान पारित गरेका कारण समस्या आएको उनको तर्क छ । नेवि सङ्घले केन्द्रीय समितिले बुझाएको ३२ वर्ष उमेरहद लागू नहुने विधान पार्टीले पारित ग¥यो भने समस्या समधान हुने उनी बताउँछन् ।
नेवि सङ्घ झापा सभापति राजेन्द्र उप्रेती पनि प्रसाईंकै भनाइमा सहमति जनाउँछन् । पार्टी सभापति देउवाले आन्तरिक अधिनायकवादको अध्याय शुरु गर्न खोजेको उनको तर्क छ । यो पार्टीको चौधाँै अधिवेशनमा पार्टी नेताहरूले नेवि सङ्घलाई आफ्नो पक्षमा प्रयोग गर्ने रणनीति रहेको उनको बुझाइ छ ।
‘अहिले विद्यार्थी नेताहरूलाई विद्यार्थी माझ जान नै समस्या पर्ने अवस्था सिर्जना भइरहेको छ’, उनी भन्छन्, ‘पार्टी प्रतिपक्षमा भएको बेला सङ्गठन बिस्तार गर्ने सुवर्ण अवसर गुमिरहेको छ ।’
उता, महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सचिव दोर्ची शेर्पा भने सन्तुलित तर्क गर्छन् । पास भएको विधान अनुसार सङ्गठन बिस्तारको अभियानमा लाग्नुपर्ने उनको भनाइ छ । हाल देश र काङ्ग्रेस दुवै सङ्कटमा भएको अवस्थामा आफूआफूमा विभाजित हुने भन्दा केही त्याग गरेर उदारता प्रस्तुत गर्नुपर्ने बेला आएको उनी बताउँछन् । यसरी नै नेताहरू विभाजित हुने र भातृसंस्था पनि किचलोमा मुछिने हो भने लोकतान्त्रिक व्यवस्थाप्रति नै अन्याय हुने उनको बुझाइ छ । जसले गर्दा कार्यकर्तालाई विचलित गराउने र एउटा क्रियाशील उर्जालाई निर्जीवजस्तो बनाइदिने उनको बुझाइ छ । देश सङ्घीयतामा गइसकेको बेला काङ्ग्रेसभित्रको केन्द्रीकृत मानसिकताले यो सब समस्या सिर्जना गरिरहेको शेर्पा बताउँछन् ।
नेवि सङ्घ केन्द्रीय कार्यसमितिमा देखिएको विवादको असर इकाइ समितिसम्म पर्न थालेको छ । हरेक क्याम्पसको इकाई समितिमा कसको मान्छेलाई अगाडि बढाउने भन्नेमा केन्द्रीय स्तरका नेता लागिपर्न थालेका छन् । जसले गर्दा धेरै क्याम्पसमा इकाइ अधिवेशन हुन सकेको छैन भने सुनसरी लगायत धेरै जिल्ला कार्यसमितिविहीन अवस्थामा छन् ।
नेताहरूबीच आआफ्ना तर्कहरू बाझिरहेको अवस्थामा नेवि सङ्घको १२ औं अधिवेशन भने अझै अनिश्चित जस्तै देखिएको छ । तदर्थ समिति बनाउने विषयमै किचलो देखिएकाले आगामी अधिवेशनको पर्खाइमा बसेका नेता कार्यकर्तामा निराशा पैदा भएको छ । सभापतिदेखि अन्य गुटगत नेताहरू आफ्नो पक्षको नेतृत्व नेवि सङ्घमा स्थापित गराउने दाउमा लागेका छन् । जसका कारण नेवि सङ्घ विवादको भुमरीमा फसिरहेको छ ।